पानी सुक्न थालेपछि मुहान संरक्षणमा स्थानीय सरकार

प्यूठान – मानव जीवन प्रकृतिको महत्त्वपूर्ण अंग भएकाले प्राकृतिक प्रणलीसँग मानव जीवन आधारित हुन्छ। खाद्य पदार्थ लगायत उर्जाको श्रोत प्रकृति नै हुनेहुँदा यसको सम्मानपूर्वक संरक्षण गर्नु पर्दछ। प्रकृतिको नाश हुने क्रियाकलाप गर्न हुँदैन। वातावरणीय संरक्षणबाट दीर्घकालीन फाइदा भइरहने हुँदा प्राकृतिक प्रकृया र प्रणलीलाई संरक्षण र उपयोग गर्नुपर्दछ।

‘बुकेनी सडक खण्ड निर्माण गर्दा कुशुमकोट खानेपानीको मुहानमा बारम्बार भलले पानीको मुहान नै पुरिदिने भएकाले पिउने पानीमा समस्या हुन्छ । कुशुमकोटका ६ स्थानमा (खलंगा, बिजुली, धरमपानी, स्यालपाखा, गहटेरा र मुनडाँडा) पानी पिउन लगिन्छ तर यहाँ पानीको मुहान भने संरक्षण गर्नेतिर कसैको ध्यान छैन्,’ यूएसएडको आर्थिक सहयोगमा पानी परियोजना अन्तर्गत नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको “पानी” छलफल कार्यक्रममा बोल्दै स्थानीय पानी पीडित राजु नेपालले भने।

झिम्रुक जलाधार अन्तर्गत मल्लरानी गाँउपालिका प्यूठानमा भएको “पानी” छलफल बोल्दै उनले “खानेपानीको मुहान संरक्षण गर्ने जिम्मा कसको हो ? मुहान नजिकै सरसफाई, वृक्षारोपण, तारवार, वनमारा जस्ता मिचाह प्रजाती (झाँरपाट) कसले सफा गर्ने हो ?” लगायतका प्रश्न गरे ।

त्यसैगरी कार्यक्रममा स्थानीय फेकोफनका अध्यक्ष दामोदर शर्माले भने, ‘कुनैपनि काम गर्नुभन्दा पहिले स्थलगत अध्ययन गर्न आवश्यक रहेको हुन्छ तर अध्ययन विना नै काम गर्दा पानीको मुहान सुक्न गएको हो ।’ अहिले करिब २०० घरधुरीका परिवारले धमिलो खानेपानी पिउन बाध्य भएको शर्माको गुनासो छ।

स्थानीय लक्ष्मी श्रेष्ठले वातावरणीय प्रभाव मुल्यांकन नगरी सडक निर्माण गर्दा समस्या निम्तिएको र योजना सम्पन्न भइसके पछि अनुगमन फितलो भएकाले दुःख, कष्टमा स्थानीय जनता मुछिन्ने गरेको गुनासो गरिन् ।

नेपाल रेडक्रस सोसाइटीका सभापति गुमानराज पुलामीले सबै मिलेर खानेपानीको विपद् न्यूनीकरण गर्न सकिन्छ तर स्थानीय सरकारले विपद् व्यवस्थापन सम्बन्धी योजना बनाएको छ कि छैन ?भनि प्रश्न गरे।

अनियन्त्रित सडक उत्खनन्, खुल्ला चरिचरणको कारणले पानीको मुहान सुक्ने गरेको, मुहानको पानी सुकेपछि स्थानीयहरू खलंगाको पानी ६ महिना र बाँकी ६ महिना खोलाको पानी पिउन बाध्य भएको फेडवासनका अध्यक्ष राम बहादुर के.सी.ले गुनासो गरे ।

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष निर्मल कुमार श्रेष्ठले झिम्रुक जलाधार क्षेत्रमा बाँझो जग्गा हुनबाट रोक लगाउने प्रावधान ल्याउनुपर्ने, पुराना र नयाँ पोखरीहरुको तथ्याङ्क संकलन गरी संरक्षणतिर लाग्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूबाट आएको प्रश्न, जिज्ञासा, सल्लाह, सुझावलाई सम्बोधन गर्दै जवाफदेही वक्ता मल्लरानी गाँउपालिकाको वडा नं २ का अध्यक्ष लेख बहादुर थापा, गिरीराज पौडेल, र राम बहादुर थापाले एउटै भनाइ राखे। पानीको मुहान संरक्षणका लागि डिभिजन वन कार्यालय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी खरीपाटा दोभान लिफ्ट खानेपानी योजना, गिरीचौर तल्लो खानेपानी, वडा नं ३ स्थित सावदुला सामुदायिक वन उपभोक्ता समितिको क्षेत्र भित्र पर्ने खुल्ला चरिचरणलाई संरक्षण गरी लप्सी, दालचिनीको बिरुवा वृक्षरोपण गरेको, भू–क्षय न्यूनीकरण र खुल्ला चरिचरण बन्द भएको र अगमी दिनमा संरक्षणका लागी तीन नै वडा कार्यालय मार्फत बजेट विनियोजन भएको उनीहरूले बताए।

मल्लरानी गाँउपालिका प्रशासकीय प्रमुख शोभाराम रिजालले सहभागीतामूलक योजना तर्जुमा गर्दा वडा स्तरबाट नै पहिलो प्राथमिकता निर्धारण गरेर पठाउँदा प्राथमिकतामा पारेर काम गर्ने प्रतिबद्धता गर्दै पानी जीवनको आधार भएको जनाए ।
पानीको मुहान सुक्न थालेपछि संरक्षणका लागि मल्लरानी गाँउपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा ५ वटै वडाहरूमा रिचार्ज पोखरी मर्मत र निर्माण, वृक्षरोपण, खानेपानीको मुल संरक्षण सम्र्वद्धनका लागि विभिन्न शिर्षकमा करिब रु.९ लाख ४५ हजार बजेट विनियोजन गरेको रिजालले बताए ।

त्यस्तै कार्यक्रममा बौल्दै प्यूठान जिल्ला समन्वय समितिका उप प्रमुख पदम थापाले भने, ‘समस्याबाट अवसर लिन खोजौं जब हामीले छिटो छरिटो विकासको काम गर्न खोज्यौं अनि विनास निम्तिएको हो।’ विकास गर्नको लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अति आवश्यक रहेकाले वातावरण संरक्षणका लागि निरन्तरता दिनुपर्ने थापाले अनुरोध गरे । विकास सँगै समन्वय पनि उतिकै आवश्यकता रहेकाले दीगो विकासका लागि स्थानीयहरूले अपनत्त्व लिन आवश्यक रहेको थापाले जनाए ।

प्रमुख जवाफदेही वक्त एवं मल्लरानी गाँउपालिका प्रमुुख अमरध्वज रानाले भने, “हामीले प्रतिबद्धता अनुरुप काम गर्न सकेका छैनाँै, हामीसँग स्रोत र साधन सीमित छ तर खानेपानी सम्बन्धी लुक्काको टाकुरा, स्यानलेक, बुकेनी, गिरीचौर, खलंगामा काम गरेका छाैँ।” ३/४ दिन बिराएर पानी खोल्दा पनि १/२ गाग्री भन्दा धेरै पानी नआउने साराङ्गकोट, दरबाङ्ग, घोरथापा जस्ता ठाँउहरू उदाहारण भएको रानाले बताए।

खानेपानी सरसफाई डिभिजन कार्यालयको सहयोग तथा सहकार्यमा लुक्का, सिन्दुरे, ठुलापानी, सोलालमा पर्याप्त खानेपानी पुर्याउने प्रयास गर्दै स्याललेक, मुलागैरा, कसेरी लगाायतका खानेपानीका लागी काम भैरहेको रानाले जनाए।

आर्थिक मामिला तथा योजना पर्यटन मन्त्रालय मार्फत समपुरक कोषबाट योजना माग गरी प्रदेश सरकार र गाँउपालिका को सहकार्यमा १ करोडको लागतमा झिम्रुक मल्लरानी खानेपानी आयोजना र डमैखोला चौरपानी लिफट् खानेपानी आयोजना बन्ने भएको छ।

प्रदेश सरकारको नीति अनुसार एक गाउँपालिकामा बहुवर्षीय योजना अन्र्तगत सरदर ९ करोड रुपैयाँ बराबरको लागतमा काम गर्नुपर्ने भएकाले २ वटा खानेपानी आयोजना परेको रानाले बताए । विस्तृत अध्ययन गर्दा झिम्रुक मल्लरानी लिफट् खानेपानी र डमैखोला चौरपानी लिफट् खानेपानी यी दुवै आयोजनाको सरदर ८ करोडको लागतमा तत्काल काम शुरु हुने र खैरा दरबाँङ्गे खानेपानी र चुँजा पधेराँ खानेपानीका लागि ८० लाख बराबरको लगानीमा योजना सञ्चालन हुने रानाले जानकारी गराए।

वडा कार्यालयको आर्थिक सहयोगमा टोप्रे, मल्लरानी डाँडा, डिभिजन वन कार्यालय प्यूठानकोे अनुदानमा रु.१ लाख ९० हजारको सहयोगमा उपल्ला पोखरा, भुजेलचौर र लाउरेको पोखरामा रिचार्ज पोखरी निर्माण भएको र आगामी दिनमा वन कार्यालय र मल्लरानी गाउँपालिका को सहकार्यमा हिउँदमा बाटो निर्माण गरे पनि असार र साउन महिनामा वृक्षरोपण गर्ने भनि मौखिक समझदारी भएको अध्यक्षले बताए।

जलीय प्राकृतिक स्रोतहरूको सुधार गर्न, जलीय जैविक विविधतालाई संरक्षण गर्न, जलीय जैविक माथिको खतरालाई घटाउन र जलमा आश्रित र पानीको बहु उपयोगी क्षमता अभिवृद्धिलाई सहयोग गर्ने पानी परियोजनाको मुख्य उद्धेश्य रहेको बताउँदै पानी परियोजनाको झिम्रुक जलाधार क्षेत्र विशेषज्ञ भाष्कर देव चौधरीले भने–“पानी जीवनको आधार हो।”
पानी परियोजनाको सहयोगमा भू–क्षय रोकथाम, पानीका मुहान संरक्षण, क्षमता अभिवृद्धी वातावरण मैत्री ग्रामिण सडकहरू बनाउँदा निर्देशिका निर्माण, माछा संरक्षण समूह निर्माण, जलीय जिव संरक्षण ऐन तयार पारेर गाँउपालिका तथा नगरपालिका मार्फत अनुमोदन गराएर कार्यान्वयको पक्षमा काम गरिरहेको चौधरीले बताए।

कार्यक्रममा मल्लरानी गाँउपालिका प्रमुख कृष्णध्वज राना, प्रशासकिय प्रमुख शोभाराम रिजाल, योजना प्रमुख बन्दना शाक्य, जिल्ला समन्वय समितिका उप प्रमुख पदम थापा, वडा अध्यक्षहरू क्रमश–लेख बहादुर थापा, गिरीराज पौडेल र राम बहादुर थापा, फेकोफन, नेपाल रेडक्रस सोसाइटी, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र, खानेपानी उपभोक्ता महासंघ, पानी परियोजना, स्थानीय पत्रकार लगायतको सहभागिता रहेको थियो।

पानी छलफलमा स्थानीय निकायका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुले आ–आफनो स्थान बाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

उक्त छलफलले अन्र्तगत्व वातावरणीय प्रदूषणका प्रभावको उपज मानवीय क्रियाकलाप नै रहने हुँदा यस्ता क्रियाकलाप विरुद्ध एकजुट भई लड्दै जाने भनि “सुख्खा खडेरी र पानीका मुहान सुक्ने समस्या र समाधानका उपाय”का लागि ८ बुँदे प्रतिबद्धताहरू अनुमोदन गरेको छ।

प्रतिबद्धताहरूः
१. गरिएका सफल प्रतिबद्धताहरूलाई निरन्तरता दिने ।
२. पूरा गर्न नसकिएका प्रतिबद्धताहरू कार्यान्वयनमा जोड दिने ।
क. पानीको मुहान नभत्किने तथा नबिग्रिने गरी विकास निर्माणको कार्य गर्ने ।
ख. जलचर र जलीय जैविक विविधता संरक्षण गर्नका लागि सम्बन्धित नीति बनाई कार्यान्वयन गर्ने ।
३. खेतीयोग्य जमिनलाई बाँझो राख्न नहुने नीति बनाई कार्यान्वयन गर्ने र जनचेतना अभिवृद्धि गर्ने ।
४. मुहान संरक्षणका कार्यहरू एकीकृत रुपमा रिचार्ज पोखरी, रिचार्ज पिट् (खाल्डाहरु) बायो इन्जिनियरिङ्ग (जैविक तट्बन्ध) चरिचरण व्यवस्थापन, भू–संरक्षणका कार्यहरूका साथै गाह्रा सुधारका कार्यक्रमहरू संञ्चालन गर्ने ।
५. जलाधार संरक्षण सम्बन्धी नीति तथा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने ।
६. यहाँका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने ।
७. वृक्षारोपण गर्दा पानी भण्डारण गर्न सक्ने प्रजातीको विरुवा छनोट गरी वृक्षारोपणमा जोड दिने ।
८. समन्वय तथा सहकार्य जस्ता कार्यक्रमहरुमा जनप्रतिनिधीहरुको अनिवार्य रुपमा उपस्थित हुनपर्ने ।

Facebook Comments