नदीमा आश्रित समुदायमा वैकल्पिक पेसाले ल्याएको परिवर्तन

कैलाली–कर्णाली र बबई बर्दियाका मुख्य नदी हुन्। यी नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। नदीमा आधारित भएर जीविका चलाउनेहरू पछिल्लो समय समस्यामा छन्। नदीमा सुन चालेता पनि पर्याप्त पाईदैन। अनि नदीमा पहिले जस्तो माछा पनि पाईदैन। हानिकारक विधिले माछा मार्दा माछाहरू लोप हुँदै गए। जसका कारण नदी तटीय क्षेत्रका स्थानीयको दैनिकी कष्टकर बन्दै गयो।

कष्टकर दैनिकीलाई केही सहज बनाउन पानी परियोजनाले स्थानीयलाई सहयोग गर्ने योजना बनायो। बर्दिया जिल्लाका विभिन्न स्थानमा १५ वटा पानी उपभोक्ता समुुह गठन ग¥यो। स्थानीयले सिपमुलक व्यवसाय र घर बगैँचा व्यवस्थापन सम्बन्धी तालिम पाए । यो तालिमको उद्देश्य नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउनु र प्राकृतिक श्रोत माथिको निर्भरता घटाउनु हो।

यी समूहहरूले अहिले आयआर्जनका थुप्रै कामहरू सुरु गरिसकेका छन्। जसले जीवन चलाउन पनि सहज भएको छ।
बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर १ सैजना गाउँमा बस्ने लक्ष्मी सोनाहा सुन चाल्न नगएको १ वर्ष भयो। उनी अहिले किराना पसल गरेर जीविका चलाउँदै आएकी छिन्। घर धान्नको लागि अब उनलाई नदीमा सुन चाल्न र माछा मार्न जानु पर्र्दैन। उनी हरियाली पानी उपभोक्ता समूहमा आबद्ध भएपछि किराना पसल गरेकी हुन्। उनी समूहकी पनि अध्यक्ष हुन्।

‘पहिले सुन चाल्ने माछा मार्ने गर्थ्यौ। पढ्न पनि पाएनौ बच्चा बोक्ने नदीमै जाने । सुन चाल्ने । बिहानै गयो आउँदा कहिले साँझको ६ बज्थ्यो। रातभरी सुत्यो फेरी बिहान त्यही काम,’ हरियाली पानी उपभोक्ता समूहकी अध्यक्ष सोनाहाले भनिन्,‘अहिले किराना पसल सञ्चालन गरेकी छु। पसलले दैनिकी चलाउन धेरै सजिलो भएको छ।’

समूहकी सचिव कौशिला सोनाहा सिलाई कटाई पेसा गर्छिन्। पैसा नहुँदा उनले उच्च शिक्षा पढ्न पाईनन्। हिजो बुवा आमासँगै नदीमा सुुन चाल्न जाने कौशिला आज आफ्नो व्यवसायमा व्यस्त छिन्। यो पेसाले उनको दैनिकी फेरिएको छ।
‘हिजोको जीवन र आजको जीवनमा फरक छ। अहिले बुवा आमाको मुख ताक्नु पर्दैन। घरमा पनि सहयोग भैराछ,’समूहकी सचिव सोनाहाले भनिन,‘पहिला तिन चार हजार हुन्थ्यो ।अहिले दश पन्ध्र हजार हुन्छ। सन्तुष्ट छु,’

सामूहिक रूपमा जुुटेपछि र जीविकोपार्जनमा सहज हुन्छ भन्ने उदाहरण हो यो। कौशिला र लक्ष्मी प्रतिनिधि पात्र हुन्। उनी जस्तै समूहका अन्य सदस्यहरू पनि आय आर्जनमा जुटेका छन्। आयआर्जनका वैकल्पिक उपायमा लागिसकेका छन्। वैकल्पिक पेसाबाट जीवन चलाउन सजिलो भएपछि उनीहरू उत्साहित बनेका हुन्। यस्तो प्रयासले अन्य स्थानीयहरूलाई पनि उत्प्रेरणा मिल्छ ।

बर्दियाको ठाकुुरबाबा नगरपालिका वडा नम्बर ४ खैलारका रुपा गुरुङले ८ बटा बाख्रा पालेकी छिन्। उनी हरियाली पानी उपभोक्ता समूहकी अध्यक्ष हुन। समूहमा आबद्ध भएपछि रुपाले व्यावसायिक रूपमा बाख्रा पालन गरेकी हुन्।

‘बिस हजार बराबरको बाख्रा खोर पनि संस्थाको पैसाले बनाएका छौँ। समुुहमा महिना महिनामा पैसा बचत गर्छम। ब्याज आउँछ। पहिला माछा पनि मार्थे आजभोलि तालिमपछि माछा मार्दैनम,’समूहकी अध्यक्ष गुरुङले भनिन्।

अध्यक्ष गुरुङ्गंले मात्र होइन समूहका अन्य सदस्यहरूले पनि बाख्रा पालेका छन्। बाख्रा पालनका लागि वनमा घाँस काट्न जानु पर्देन। उनीहरूले बारीमै बकाईनो र डाले घाँसहरू लगाएका छन्। पहिला उनीहरू घाँस लिन वनश्रोतको उपयोग गर्थे। तर, अहिले घरमै बसेर बाख्रापलन गर्न सकेका छन्। उनीहरू एक अर्कालाई सहयोग पनि गर्छन्।

‘बाख्रा पालन गरेर घाँसहरू लगाउँदा वातावरणलाई स्वच्छ बनाउँछ। पानीमा बस्ने जीव जन्तु छन्। तिनलाई जोगायो भने राम्रो हुन्छ। बोटबिरुवा रोप्यो भने पानीमा भएका जीवजन्तुहरू बाच्न सजिलो हुन्छ। बबई नदीको वरिपरि प्रत्येक महिनाको १ गते बचत सङ्कलन गर्छम र सरसफाइ गर्छम,’समूहकी सचिव गिताकुमारी चौधरीले भनिन्।

ठाकुुरबाबा नगरपालिका वडा नम्बर ९ , हात्तीसारमा स्थानीयहरूले सामूहिक तरकारी खेती गरेका छन्। हात्तीसार पानी उपभोक्ता समूह गठन गरेर उनीहरू सामूहिक तरकारी खेतीमा जुटेका हुन्। उनीहरूले साग ,काँक्रा ,बोडी , भिँडी लगायतका तरकारीहरू बेचेर आम्दानी लिईसके। अब फेरी दोस्रो पटक आम्दानी लिन उनीहरू मेहनत गरीरहेका छन्। बाँझो जमिन भाडामा लिएर समूहका सदस्यहरूले तरकारी फलाउन सफल भएका छन्। यसबाट आएको आम्दानी समूहमा लगानी गर्ने गरेका छन्।

तरकारी खेतीलाई व्यावसायिक बनाउन टनेलमा बेर्ना उत्पादन गर्दे आएका छन्। तालिममा पाएको ज्ञानलाई व्यवहारिक बनाउन सफल यो समूहले साग, टमाटर,गोबि लगायतका हिउँदे तरकारी खेतीका लागि बेर्ना तयार गरीसकेको छ। समूहका सदस्यहरू बिच सामूहिक भावनाको विकास हुँदै गएको छ ।

‘सुकुम्वासी बस्ती काम पनि थिएन। मजदुरी पाएपछि गर्ने नत्र बस्ने। अहिले समूहले १० कट्टामा तरकारी खेती सुरु गरेको छ। अब यसलाई बढाउँदै लैजाने सोच छ। करेसाबारीमा माछा पाल्ने सन्तुलित भोजन लगाउने हो,’ हात्तीसार पानी उपभोक्ता समूहकी अध्यक्ष माया विकले भनिन्।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ की वडा सदस्य सुन्तली विकले सुन चालेर र माछा मारेर दैनिकी चलाउनेहरू कृषिमै आबद्ध भएको बताउँछिन्।

‘कोही सिलाई कटाई, कोही बाख्रा पालेर त कोही तरकारी खेती गरिरहेका छन्,’वडा सदस्य विकले भनिन्।

त्यसैगरी बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ पत्थरबोजि स्थित सम्झना पानी उपभोक्ता समूहले बाख्रापालन र कुखुरापालन गरेर आम्दानी गरिरहेको छ। करेसाबारीमा तरकारी फलाएका छन्। तरकारी किनेर खानु पर्देन। तरकारी किन्ने पैसाको बचत भएको छ। यसले घर चलाउन सजिलो भएको छ। मेहनत गर्दा जीवन चलाउन सजिलो हुन्छ भन्ने कुरा समूहका सदस्यहरूले बुझीसकेका छन्। उनीहरूको हिजो र आजको जीवनमा परिवर्तन आएको छ ।

सम्झना पानी उपभोक्ता समूहका सदस्यहरूले गाउँ नजिकै औराही खोलामा जैविक तटबन्धन गरेका छन्। बाढीले बिजुलीको पोल भत्काउन लागेपछि स्थानीय श्रोत साधन जुटाएर तटबन्धन गरेका हुन्। समूहमा बसेपछि जनश्रमदानको काममा पनि उनीहरू एकमत भएका छन्। नदी खोलामा बम, विषादी प्रयोग गरेर माछा मार्ने कामको विरुद्धमा पनि आवाज उठाउँदै आएका छन्।

बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ शरखोल स्थित कर्णाली उपभोक्ता पानी समूहका सदस्यहरू हिजोको दिनमा कर्णाली नदीमा भेटिन्थे। नदी छेउमै अस्थायी घर बनाएर सुन चाल्थे। माछा मार्थे। यही पेसाले जसोतसो जीवन धानेका थिए। आज उनीहरूलाई जीवन धान्नकै लागि नदी खोलामा जानुपर्ने अवस्था छैन। वैकल्पिक पेसामा लागेपछि उनीहरूको दैनिकी नै फेरिएको छ। अब उनीहरू समूहमा क्रृण लगानी गर्ने र व्यवसाय गर्ने भैसकेका छन्।

‘भिँडी करेला काउली लगाएका छौ। धेरै परिवर्तन आएको छ। पहिला भन्दा अलि बुझिराखेका छौँ। कृषि व्यवसाय गर्नुपर्छ भनेर बुझेका छौँ। अहिले खोलामा डेरा बस्दैनम,’ कर्णाली पानी उपभोक्ता समूहकी अध्यक्ष पुष्पादेखि सोनाहाले भनिन्।
प्राकृतिक श्रोतबाट मात्रै जीवन धानेका स्थानीयहरूले फरक पेसाको अनुभव गर्नुका साथै खुसी पनि पाएका छन्। जीवन चलाउन सहज भएको महसुस गरेका छन्।

आफूले थाहा पाएका ज्ञान सिपहरूको प्रयोग नहुने समस्या धेरै ठाउँमा छ। तर, यहाँ देखिएको समुहकको यो सक्रियताले ज्ञान सिपको उपयोगले जीवन सहज गराउँछ भन्ने सन्देश दिएको छ। जसका कारण यी समूहहरूको व्यवसायिक यात्रा अझै फराकिलो बन्दै छ।

बर्दिया जिल्लामा पानी परियोजनाले गठन गरेका पानी उपभोक्ता समूहहरू केही न केही वैकल्पिक पेसामा लागेका छन्। स्थानीय तहसँग व्यावसायिक तालिमका लागि समन्वय गरीरहेका छन्। समूहलाई दिगो रूपमा सञ्चालन गर्न स्थानीय तहमा समूह दर्ता गरिसकेका छन्। पानी उपभोक्ता समूहहरूको यो सक्रियतापछि स्थानीय तहहरूले पनि सहयोग गरीरहेका छन्।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले कृषि तालिम,प्राविधिक सहयोग तथा साना अनुदानका कार्यक्रमहरू सहयोग गरेको बताए।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी तथा मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले पनि अति विपन्न वर्गलाई बाख्रा र सिपमुलक तालिम दिने गरेको बताए।

सानो—सानो प्रयासबाट पनि आर्थिक श्रोत जुटाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् बर्दिया जिल्लाका विभिन्न स्थानमा गठन भएका पानी उपभोक्ता समूहहरू। यहाँका स्थानीयहरू प्राकृतिक श्रोतमा मात्रै भर परेको भए आज जीवन सहज हुने थिएन। आय आर्जनका अन्य वैकल्पिक काममा लागे पछि मात्र उनीहरूको आर्थिक पाटो बलियो बन्दै गएको छ। यो प्रयासले संरक्षणमा पनि सहयोग पुगेको छ। यस्तो अभ्यास अन्य स्थानमा पनि गर्न आवश्यक छ ।

Facebook Comments