परम्परागत पेशाको संरक्षण र आधुनिकीकरणमा चौकुने गाउँपालिका

गुटु सुर्खेत – दुधेबालक सहित ३ जना छोराछोरी छोडेर श्रीमान अर्की केटीसँगै हिडेपछि घर न घाट भएकी सुर्खेतको पश्चिम क्षेत्र चौकुने गाउँपालिका–६ की ३० वर्षीया मातादेवी कामी अहिले आरन चलाएर आफ्ना छोराछोरीलाई हुर्काईरहेकी छिन्। ‘मलाई र छोराछोरीलाई छोडेर लोग्नेले अर्कै लिएर भाग्यो । न हातमा सीप न त पढाई मैले कसरी छोराछोरी पाल्ने यही सोचेर दिनरात रुन्थेँ’ उनले भनिन्,‘सानो छँदा आरनको काम अलिअलि सिकेको थिएँ अहिले त्यही काम लाग्यो। त्यही काम शुरु गरेर छोराछोरी पाल्न सुरु गरेँ।’

चौकुने गाउँपालिकाले परम्परागत आरन पेशालाई संरक्षण गर्दै त्यसलाई आधुनिककीकरण गर्न नयाँ नयाँ औजार बनाउनका लागि दिएको २ महिने तालिममा अन्तिम सम्म सहभागी भएकी एक मात्रै महिला हुन्,मातादेवी कामी । उनले उक्त तालिमले आफूलाई अत्यन्तै साथ दिएको बताइन। छोराछोरी पाल्नकै लागि आरन पेशा अंगालेकी कामीले अहिले तालिम पाएपछि आफ्ना छोराछोरीहरुलाई शिक्षा पनि दिइरहेकी छिन् ।

‘गाउँपालिकाले दिएको तालिमले मलाई नयाँ नयाँ औजारहरू आँसी, कोदाला, खुकुरी, खुँडा, चुलेसी, चक्कु बनाउन सिकायो,’ नेपाल वातावरण पत्रकार समूह नेफेजले चौकुने गाउँपालिका –८ गुटुमा अघिल्लो पटक गरेको पानी छलफलको फलोअप कार्यक्रममा बोल्दै उनले भनिन्,‘जसले गर्दा मलाई पहिलेको भन्दा अहिले बढी आम्दानी भइरहेको छ । यो बढी परिश्रम पर्ने काम भएकाले धार लगाउने र फलाम काट्ने मेसिन कसैले सहयोग गर्न सके मलाई मेरा तीन जना छोराछोरीलाई पढाउन सहज हुने थियो।’

८ वर्ष अघि श्रीमानले छोडेपछि अरुको घरमा भाडामा बस्दै आएकी उनको न घर छ न जमिन नै । त्यही आरन पेशाबाटै उनले ३ जना छोराछोरीहरूलाई हुर्काउँदै स्थानीय विद्यालयमा पढाइरहेकी छिन् । विशेष गरी दलित समुदायले अंगाल्दै आइरहेको परम्परागत पेशा हराउन थालेपछि गाउँपालिकाले यसको संरक्षण र आधुनिकीकरण गर्ने प्रतिबद्धता नेफेजले २०७५ कात्तिक ८ गतेको पानी छलफलमा गरेको थियो । प्रतिबद्धताको अनुसारको काम आफूहरूले गरिरहेको चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताए। गाउँपालिकामा आरन पेशालाई संरक्षित सँगसँगै यसको आधुनिकिरण गर्न सके मात्रै व्यवसायिक हुने र आम्दानी गर्न सक्ने भएपछि आफूहरूले आरन पेशा गर्नेहरूलाई २ महिनाको तालिम दिएको बताए।

आरन तालिम पाएपछि मातादेवी कामीसँगसँगै गाउँपालिकाका आरन पेशा गर्ने अन्य व्यक्तिहरू पनि नयाँ औजार बनाउन सिकेर आम्दानी बढेपछि हर्षित देखिन्छन् ।

‘पहिले पहिले त त्यही हसियाँ, कोदालो, हलो जस्ता स–साना सामग्रीहरू बनाइन्थ्यो,’ चौकुने गाउँपालिका–८ गुटुका ५५ वर्षीय लक्षिराम कामीले भने, ‘अहिले त्यो तालिम पछि हामीले ठूला खुकुरी खुँडा बनाएर बेचिरहेका छौं । यस्ता खुकुरी त मैले ४ वटा भन्दा बढी बेचिसकँे।’ मिहिनेत अनुसारको पैसा पनि आउने भएपछि अरु काम गर्न नपरेको उनको भनाई छ।

परम्परागत पेशा छोडेर अन्य साथीहरू छिमेकी मुलुक भारत तिर गइरहेका बेला गाउँपालिकाले यस्तो तालिम दिँदा पुनः पेशामै फर्किनेहरू बढेको चौकुने–८ हाम्लेका ६३ वर्षीय खड्क बहादुर विकले बताए। ‘अहिले हामीलाई काम भ्याई नभ्याई हुन्छ, फलाम हान्न उमेरको अवस्थाले नसक्ने भएकाले हामीलाई एकै ठाउँमा संगठित भएर व्यवसाय गर्ने वातावरण मिलाइदिए अझ बढी आम्दानी गर्न सकिन्छ,’ पानी छलफलमा बोल्दै उनले यसरी परम्परागत सीपहरू नयाँ पुस्ताहरूले बिर्सदै गइरहेको अवस्थामा बेला बेलामा गाउँपालिकाले यस्ता तालिमहरू प्रदान गरिरहनुपर्ने बताए ।

‘दलित तथा लोपोउन्मुख समुदायको परम्परागत सीप र जिविकोपार्जन’का विषयमा अघिल्लो पटक भएको पानी छलफलमा आठ ओटा बुँदामा प्रतिबद्धताहरू गरिएको थियो। सोही प्रतिबद्धतामा रहेर नेफेजले पानी छलफल सञ्चालन गरेको थियो। कार्यक्रममा बोल्दै चौकुनेका अध्यक्ष धिर बहादुर शाहीले प्रतिबद्धता अनुसार आफूहरूले चौकुने गाउँपालिका भित्र पर्ने जलाधार क्षेत्रका जंगल भित्र अव्यवस्थित रुपमा खोलिने बाटो निर्माण कार्य पूर्ण रुपमा रोकिएको, लोपोउन्मुख, जनजाती अल्पसंख्यक जनजातीलाई क्षमता विकासका लागि विभिन्न सीपमूलक तालिम, व्यवसायिक तरकारी खेती, सिलाईकटाई, हाते बुनाई जस्ता तालिम प्रदान गरिएको बताए । उनले आफ्नो गाउँपालिकामा भएका राजी समुदायहरूको परम्परागत माछा मार्ने कार्यमा कमी आएपछि त्यस क्षेत्रका युवाहरूलाई र्‍याफ्टिङ तालिम दिइएको, वडा नम्बर ९ राजी बस्तीमा परम्परागत राजी नमूना बस्ती निर्माणको काम सुरु गरिएको बताए।

गाउँकार्यपालिका सदस्य नैनसिह राजीको संयोजकत्वमा त्यहाँ राजी संग्रालयका लागि भवन निर्माण कार्य सम्पन्न भएको र अबको केही समयमा त्यसको सबै काम सकिने उनले बताए।

अव्यवस्थित रुपमा बगिरहेको पानीलाई, खानेपानी, सिचाईका लागि बहुपरियोजना निर्माण गरिनुका साथै सुख्खा क्षेत्रमा रिचार्ज पोखरी निर्माण गर्न यसपटकको नीति तथा कार्यक्रम राखिएको बताए। सम्भाव्यता अध्ययन गरेर यस आर्थिक वर्षमै रिचार्ज पोखरी निर्माण गरिने उल्लेख समेत गरे।

पानी छलफलमा गाउँपालिकाले तालिम प्रदान गरेका दलित, आदिबासी, लोपोउन्मुख जाती तथा समुदायहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा थप ४ बुँदे प्रतिबद्धताहरू गरिएको छ ।

Facebook Comments