बर्दिया – गेरुवा नदीमा पानीको सतह घट्दै जाँदा त्यहाँ पाइने जलचर सङ्कटमा पर्दै गएका छन्। कर्णाली नदीको भङ्गालो फुटेर बनेका दुई नदीमध्ये पश्चिमतर्फको नदीमा बढी पानी बग्नु र पूर्वतर्फको गेरुवामा कम पानी बग्नाले त्यहाँ पाइने जलचर सङ्कटमा परेका हुन्।
कर्णाली नदीको भङ्गालो फुटेर छुट्टिने गेरुवा नदी बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्छ। पछिल्लो समय नदी पश्चिममा बढी बग्न थालेपछि गेरुवाका जलचरहरू सङ्कटमा परेको स्थानीयको भनाइ छ। टिकापुर सत्ती हुँदै बग्ने कर्णाली नदीमा नदीजन्य पदार्थ अत्याधिक मात्रामा उत्खनन् हुँदै जानु र गेरुवा नदीमा बर्दिया राष्ट्रिय निकुञ्जका कारण नदीजन्य पदार्थ थुप्रिँदै जानुले कर्णाली नदीको बहाव गेरुवामा घट्दै गएको विगत १५ वर्षदेखि ओखरिया बुढीकुलो सिचाईको चौकीदारी गर्दै आएका अयोध्या थारू बताउँछन्। उनी भन्छन्, ‘पहिले टिकापुरतिरको कर्णाली नदीमा पानी कम थियो, उता गेरुवामा पानी बढी थियो। विगत ७ वर्षदेखि हो, गेरुवामा पानी कम हुन थालेको ।’ कैलाली क्षेत्रमा हुने अत्याधिक उत्खनन् र निकुञ्ज क्षेत्रमा पर्ने गेरुवामा थुप्रिएका नदीजन्य पर्दाथ नउठ्दा नदीले आफूलाई सजिलो हुने बाटो बनाएको उनको भनाई छ।
विगतमा गेरुवा नदीतर्फ पानीको बहाव ठूलो हुँदा पाइने जलचरहरू अहिले देख्न नपाइएको उनले बताए । ‘गेरुवामा पहिले हामीलाई पस्न डरलाग्यो । गोही हुन्थे, डल्फिन हुन्थे, ठेड, बामलगायतका ठूल्ठूला माछा हुन्थे तर आजकल पानी निकै कम छ,गोही पनि छैनन्, डल्फिन पनि छैनन्, ठूला माछा पनि छैनन् । बासै भुटिएपछि कहाँ पाइनु जलचर ?’
पानी कम भएपछि गेरुवा गाउँपालिकाका अधिकांश वडा बासीहरू निकुञ्जका हात्तीदेखि खरायोसम्मका जनावरबाट पीडित भएको थारूको गुनासो छ ।
गेरुवा नदीमा पानी सुक्दै जाँदा विगतमा जस्तो डल्फिन देख्न नपाएको वर्षौँदेखि गेरुवा पुलमा बसोबास र व्यापार गर्दै आएका वीरबल शाही बताउँछन् । ‘पुल नबन्दा पहिले यहाँ बर्खायामा स्ट्रिमर र हिउँमा पल्टुन पुल हुन्थ्यो । अहिले हेर्नुस् त बर्खायाममा पनि कति थोरै पानी छ । यस्तो पानीमा कसरी हुनु गोही, डल्फिन …?’
उनले भने, ‘अहिले गफ लगाए जस्तो लाग्ला तपाईँलाई आजभन्दा ८, ९ वर्षअघि आर्मीहरू र्याफ्टिङ्ग गर्दै गस्ती गर्थे। विदेशी पर्यटक डल्फिन हेर्नकै लागि ¥याफ्टिङ्ग गर्दै यहाँ आउँथे। कोठियाघाट बजार भनेर चिनिएको यो ठाउँ अहिले सुनसान छ ।’ यस्तै हो भने केही वर्षमा गेरुवामा पानी नै नहुने उनको दाबी छ।
२०४० सालमा कर्णाली नदीमा आएको बाढीका कारण आफ्नो ७ बिगाहा जमीन गुमाएका गेरुवा गाउँपालिका वडा नम्बर ४ शान्तिपुरका कृष्णप्रसाद देवकोटाले गेरुवामा पानी सुक्दै जाँदा जलचर, वन्यजन्तु र मानव सबैलाई समस्या भएको बताउँछन्।
उनी भन्छन्, ‘पहिले म टिकापुर जाँदा साइकलसहित कर्णाली तर्थे तर गेरुवातिर बग्ने पानी सुके पछि कर्णालीमा खुट्टा हाल्न सकिन्न ।’ बगिरहको गेरुवातिर औँला देखाउँदै उनले भने, ‘यो गेरुवामा अहिले बर्खा भएर मात्रै यत्तिको पानी छ, हिउँदमा हेर्नुहोला यहाँ कमिला हिड्छ । पानीमा बस्ने जलचरको त के कुरा गर्नु ?’
गेरुवामा पानी घटेपछि बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावरहरू सहजै गाउँमा आउने र जनधनको क्षति गर्ने गरेको सोही वडाकी कैलाशी थारूले बताइन् ।
केही दिनअघि मात्रै गाउँमा बाघको आक्रमणबाट गेरुवा गाउपालिका वडा नम्बर ४,दङ्गापुरकी ५६ वर्षिया रामकली शाहीको ज्यान गएको उनले बताए ।
गेरुवामा पानी घट्दा जंगली जनावर आएर बालीनाली खाइदिने गरेको गेरुवाका मंगल चौधरीले बताए । उनले भने, ‘हामी त हजुर ६,७ वर्षदेखि अझै बढी पीडित छौँ । पानीको सहत निकै कम भएर होला पहिले त ठूला जनावरले मात्रै नोक्सानी गर्थे अहिले खरायोदेखि जरायोसम्मले लगाएको बाली सखाप पार्छन् खान पाइँन, हैरान छौैँ । ’
पानी कम हुँदा जंगली जनावरहरूको आवागमन सहज हुनु र जलचर नासिँदै जाँदा माछा मारेरै जीविकोपार्जन गर्ने सोनाहा जातिको पेसासमेत सङ्कटमा परेको छ । खोलामै सुन चाल्ने र माछा मारेर आएको अमदानीबाट हातमुख जोर्ने सोनाहा जातिको पेसा सङ्कटमा पर्न थालेको गेरुवा गाउँपालिका वडा नम्बर ६ का कल्लु सोनाहाले बताए ।
गेरुवामा पानी घट्न थालेपछि जति स्थानीयलाई चिन्ता छ, त्यो चिन्ता सरोकारवाला निकायलाई नभएको उनी बताउँछन् । केही व्यक्ति विगतमा वर्षेनी आउने बाढीबाट छुटकारा आएको भन्दै हाइसन्चो मानिरहेका छन् भने केही निकुञ्जको ऐनले थुप्रिएको नदीजन्य पर्दाथ निकाल्न नमिल्ने बताइरहेका छन् । यसै विषयमा नेपाल वातावरण पत्रकार समूह नेफेजले बर्दियाको ठाकुरद्वारामा स्थानीय, जनप्रतिनिनधि र निकुञ्जलगायत सरोकारवाला निकायलाई सहभागी गराइ पानी छलफल गरेको छ ।
पानी छलफलमा बोल्दै मध्यवर्ति व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले आफ्नातर्फबाट आफूले सके जति पहल गरिरहेको बताए । उनले गेरुवातर्फ नदीजन्य पदार्थ थुप्रिँदै जाँदा पानीको सतह घट्दै गइरहेको भन्ने विषयमा २०७४ साल फागुनमा आफ्नै अगुवाइमा निकुञ्जसहितको बैठक बसेको बताए । उक्त बैठकमा कतिसम्म नदीजन्य पदार्थ निकाल्दा पानीको बहाव पहिलेकै गतिमा आउन सक्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘५ सय ७० मिटर लम्बाई र ५० मिटर चौडाईमा ६७ घनमिटर नदीजन्य पदार्थ निकालेमा पानीको बहाव पहिलेकै अवस्थामा ल्याउन सकिन्छ भन्ने प्राविधिकहरूले भनेका थिए । सोहीअनुसार आफूहरूले मन्त्रालयमा फाइल पेस गरेपछि काम किन बढेन त्यो थाहा छैन ।’
तत्कालीन बर्दिया निकुञ्जका वार्डेन मनोज शाह हुँदा गएको फाइलले अझै गति लिन नसकेको आचार्यको भनाइ छ ।
पानी छलफलमा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजेश लम्सालले पानीको बहाव कम हुँदा निकुञ्जलाई समेत असर परेको बताए ।
‘हामीलाई पानीको अभाव महसुस भएपछि हामीले लालमट्टी क्षेत्रबाट भित्रभित्रै अलिअलि पानी ल्याइरहेका छौँ । यस्तै हुँदै जाने हो भने गेरुवा क्षेत्र बगरमा परिणत हुने र वन्यजन्तुको उपस्थिति पश्चिममै हुने देखिन्छ ।’ उनले भने, ‘यहि समस्यालाई टिप्पणी उठाएर मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको सहयोगमा निकुञ्जले विभागमा पठाएका हौँ ।’
निकुञ्जको क्षेत्रफल मात्रै पर्ने भए निकुञ्जलाई नदीजन्य पदार्थ व्यवस्थापन गर्न सहज हुने बताउँदै उनले उक्त नदीजन्य पदार्थ निकाल्का लागि स्थानीय तहहरू सबै एकमत भएमा गेरुवामा पुरानै बहावले पानी फर्काउन विभागलाई आग्रह गर्न सकिने उनको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका उपाध्यक्ष हिमा कुमारी थारूले बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा गाउँपालिकाको सीमाना नछुटिदा नदी उत्खनन्मा समस्या भएको बताइन् । स्पष्ट रूपमा निकुञ्जको एरिया नछुटिदा स्थानीयको जमिन पनि निकुञ्जले प्रयोग गरिरहेको बताइन् । निकुञ्ज र गाउँपालिकाको सीमा छुटिएपछि थुप्रिएको नदीजन्य पदार्थ उखनन्मा सहज हुने उनको भनाइ छ ।
गेरुवा नदीका जलचर संरक्षण र मानव वन्यजन्तु द्वन्द्वका विषयमा भएको पानी छलफलमा बोल्दै ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठले वन्यजन्तुबाट आफ्नो नगर बढी पीडित भएको उल्लेख गरेका थिए । वन्यजन्तु तथा बाढी पीडित झण्डै साडे सात सय जना नागरिकहरूलाई १५ लाख बराबरको राहत वितरण गरिएको बताए ।
उनले जंगली जनावरले घर भत्काइदिनेहरूका लागि र विपन्न वर्गहरूका लागि सुरक्षित विपन्न आवास बनाउने कार्य सुरु गरिसकेको बताए । ठाकुरबाबा नगरपालिका जंगली जनावरको आक्रमणका कारण पीडित भएको बताउँदै उनले जंगली जनावरको आवागमन रोक्न सवा २ करोड रुपैयाँ खर्च गरेर झण्डै २ किलोमिटर विपिसि सहितको पक्की पर्खाल निर्माण गरेको जानकारी दिए ।
नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष सविन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गेरुवा गाउँपालिका, मद्युवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाका वन्यजन्तु पीडित, स्थानीय जनप्रतिनिधि, निकुञ्ज र मध्यवर्ति क्षेत्रका कर्मचारी, पत्रकार लगायत ५० बढीको सहभागीता रहेको थियो । पानी छलफलमा जलचर संरक्षणका लागि गेरुवामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न पहल गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ । ती प्रतिबद्धताहरू निम्नानुसार छन् :
१.आवश्यक कानूनी प्रक्रिया पुरा गरी गेरुवा कर्णालीतर्फ पानीको बहाव पुनस्थापना गर्ने । त्यहाँको जलीय जैविक विविधता फर्काउनतर्फ प्रयास गरिनेछ । साथै यसबाट उत्पन्न मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न पहल गरिनेछ ।
२.सोनाहा तथा अन्नु मछुवारा समुदायलाई माछा मार्ने अनुमति पत्र लाइसेन्स दिन पहल गरिनेछ ।
३. वन्यजन्तुबाट पीडितले पाउनुपर्ने राहत तथा क्षतिपूर्ति प्रकृयालाई सहज बनाउन सबैले पहल गर्ने । पीडित बारे नगरपालिका, वडा तथा निकुञ्ज चेकपोष्टमा स्पष्टसँग राखिनेछ ।
४.जैविक विविधता संरक्षणमा स्थानीयहरूको भूमिकालाई अनिवार्य बनाउँदै जनसहभागीता मूलक संरक्षणमा जोड दिइनेछ।
५.ऐलानीमा बसोबास गर्ने वन्यजन्तु पीडितहरूलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गरिनेछ ।