बजार अनुगमनलाई तीव्र बनाऊ

सम्पादकीय
काठमाडौँ
– चाडपर्वको समयमा खाद्यान्न र पेय पदार्थमा मिसावटको सम्भावना अधिक हुन्छ। चाडपर्वको समयमा शहरमा भन्दा ग्रामीण भेगमा नक्कली खाद्य पदार्थ समेत पुग्ने गरेका छन्।

विशेषगरी हल्का पेय पदार्थ, खाने तेल, घ्यू लगायतका खाद्य पदार्थमा कि त मिसावट हुने गरेको छ कि त सक्कली ब्रान्डको नाम दुरूपयोग गरेर कम गुणस्तरका खाद्यान्न र अन्य सामाग्री उत्पादन भइरहेका छन्।

कतिपय व्यापारीले मापदण्ड नै पुरा नगरी सामाग्रीहरू प्याकेज गरेर सर्वसाधारण बेच्ने काम भइरहेको छ। सामान्य उपभोक्ताले के सही हो, के गलत भन्ने छुट्याउन सक्दैनन्, त्यसको फाइदा व्यापारीले लिइरहेका छन्। यति मात्र होइन्, विशेषगरी ग्रामिण भेगमा पसलेहरुले नापतौलमा समेत गडबड गर्ने गरेका छन्, त्यसमा पनि अनुगमनको आवश्यकता रहेको छ। उपभोक्ता जताबाट पनि ठगिएका छन्, तर त्यसतर्फ सरकारी निकायको कुनै ध्यान पुगेको छैन्।

अझ चाडपर्वको समयमा काठमाडौँ उपत्यका होस् वा बाहिर, पसलहरूमा भीडभाड हुने गर्दछ। व्यापारीका लागि यो भिडभाड नै मिसावटयुक्त खाद्य पदार्थ बेच्ने सुनौलो अवसर बन्ने गर्दछ। पछिल्लोपटक नक्कली ब्रान्डका सामान र मिसावट युक्त सामग्रीहरू ग्रामीण भेगमा सरेका छन्।

कहिल्यै नाम नसुनेका ब्रान्डका खाद्य पदार्थहरू ग्रामीण भेगमा पाइन्छ। त्यसैले वास्तविक अनुगमन हुनुपर्ने ग्रामीण भेगमा हो तर हामी देखाउनकै लागि शहरी भेगमा मात्र अनुगमन गर्छौँ। अहिले तीन तहको सरकार भएका कारण पनि यस्ता कार्यमा केही दुविधा र अलमल उत्पन्न भएको हुनसक्छ तर वास्तवमा जननिर्वाचित स्थानीय सरकारको गठनसँगै यसमा केही सहज अवस्थाको सिर्जना भएको छ । ग्रामीण भेगमा धेरथोर मानवीय स्रोत र साधनको उपलक्धतासमेत रहेको छ।

त्यसैले उनीहरूले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रमा अनुगमनलाई तिव्रता दिनुपर्छ। कसैले उजुरी गरेपछि मात्र अनुगमन गर्ने हाम्रो शैली छ, त्यसमा परिवर्तन ल्याउनु पर्दछ। कुन मिसावट हो र कुन होइन ? भन्ने विषयमा जानकारी नभएका उपभोक्ताले यस बारेमा उजुरी दिँदैनन्।

त्यसैले सरकारी निकायले आफ्नो पहलमा नै अनुगमन अगाडि बढाउनुपर्छ। फेरि मिसावट मात्र होइन, मूल्यवृद्धिको विषयमा समेत सरकारी निकायले अनुगमन अगाडि बढाउन आवश्यक छ। धेरै पहिलादेखि पसलमा मूल्यसूची राख्नुपर्ने नियम सरकारले बनाए पनि त्यो कार्यान्वयन भएको छैन। दशैँमा एकैचोटि धेरै सामाना खरिद गर्दा पसलेहरूले जथाभावी मूल्य लिने गरेका छन्।

चाडपर्वको समयमा सक्रिय हुनुपर्ने हाम्रा सरकारी निकायहरू निष्क्रिय हुँदा उपभोक्ता मारमा परेका छन्। पछिल्लो समयमा काठमाडौँ उपत्यकामा अनुगमनका लागि छापा मार्ने काम भएपनि उपत्यका वाहिर खासै अनुगमन हुने गरेको छैन्। जनताको स्वास्थ्य कुनै पनि सरकारको सबैभन्दा महत्त्वको विषय हुनुपर्छ तर हामीकहाँ यसलाई गम्भीरताका साथ लिइको पाइदैन्। दशैँको समयमा सरकारी कर्मचारीहरू पनि बिदामा बस्ने मौका छोपेर मिसावट र अन्य ठगी धेरै हुने गरेका छन्। त्यसैले यसलाई दृष्टिगत गरेर अनुगमन गर्नु संघ, प्रदेश र स्थानीय सरकारको साझा दायित्व हाे।

Facebook Comments