सगरमाथा संवादमा सहभागी हुन राष्ट्रसंघ महासचिवलाई नेपालको निम्तो

काठमाडौँ– जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा सिर्जित समस्याको बारेमा विश्वको ध्यान आकृष्ट गर्ने उदेश्यले सरकारले आगामी वर्षको अप्रिल महिनामा गर्न लागेको सगरमाथा संवादको पहिलो कार्यक्रममा सहभागी हुन सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई निम्तो दिएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनको लागि हाल न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गुटेरेसलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा हस्तान्तरण गरेका हुन्। नेपालले जलवायु परिवर्तनको विषयमा लिन लागेको कदमको राष्ट्रसंघका महासचिवले खुलेर प्रशंसा गरेका थिए। उनले जलवायु परिवर्तनको असरको बारेमा नेपालले गरिरहेका कामको बारेमा आफू जानकार रहेको बताए।

विश्वका जल्दावल्दा विषयहरूमा हरेक वर्ष संवाद गर्ने उदेश्यले हरेक वर्ष आयोजना गर्न लागिएको सो संवादको विषय जलवायु परिवर्तन हुनेछ। विशेषत तापमानमा भएको बृद्धिका कारण हिमालका हिउँ पग्लन थालेको भन्दै नेपालले चिन्ता व्यक्त गरिरहेको छ।

Facebook Comments