दशैँमा प्रकृति जोगाउने प्रण र पहल गरौं

सम्पादकीय
काठमाडौँ
– तपाईहरूमध्ये धेरै दशैँका लागि गाउँ पुगिसक्नु भएको छ । कति बाटोमा नै हुनुहुन्छ । आजभोलि जाने तयारी गरिरहनु भएका पनि धेरै हुनुहुन्छ । अफिसको छुट्टी नमिलेर अथवा अन्य कतिपय कारणले घर जान नपाउनेहरू पनि हुनुहुन्छ । जो काठमाडौँ र अन्य शहरबाट दशै मनाउन गाउँ पुगिसक्नु भएको छ, निकै राहतको महसुस गरिरहनु भएको छ होला । पक्कै पनि काठमाडौँको धुलो, धुँवा र ट्राफिक जामबाट मुक्त भएर स्वच्छ वातावरणमा रमाउनु भएको छ।गाउँमा जाँदा मात्र होइन, काठमाडौँ तथा अन्य शहरमा रहँदा पनि तपाईले पाउनुपर्ने यस्तै वातावरण हो ।

तर, हामी आफैँ र विशेषगरी नीति निर्माणमा रहेकाले दीर्घकालीन सोच नराख्दा शहरमा प्रदूषण बढ्दो छ, धुँवा अनि जताततै ट्राफिक जाम पनि । हामीले विगतमा गरेको गल्ती सच्याउन ढिलो भइसकेको छ तर धेरै ढिलो भने भइसकेको छैन। त्यसैले भावी पुस्ताका लागि सोचेर वातावरण र प्रकृति जोगाउन तपाईँ हामीले तत्काल केही गरिहाल्नु आवश्यकता छ। केही गर्ने प्रण यसपालीको दशैमा नै किन नगर्ने ?

सरकार र राजनीतिक दलको मात्र भर पर्ने होइन कि तपाईँ हामी आफैँले केही पहल गर्न आवश्यक छ । एक व्यक्तिले गरेको पहल पनि कति शक्तिशाली हुन्छ भन्ने कुरा केही समय अगाडि १६ वर्षीया बालिका ग्रेटा थनवर्गले आफ्नो विद्यायबाट थालेको अभियान विश्वव्यापी बनेबाट पनि पुष्टि भइसकेको छ । वातावरण जोगाउनका लागि हरेक शुक्रबार विद्यालय बहिष्कार गरेर प्रर्दशन गर्ने उनको कदमले अहिले विश्वव्यापि स्वरूप लिएको छ । उनको यो अभियानमा लाखौँ जोडिएका छन्।

तपाई हामीले पनि वातावरण जोगाउनको लागि केही गर्नुपर्ने भइसकेको छ र यसको शुरुवात अबको दशैँबाट गर्न सकिन्छ। गाउँघरमा वातावरणलाई गम्भीर असर गर्ने काम भइरहेका छन् तर त्यसमा कसैको पनि ध्यान गएको छैन। उदाहरणको लागि विकासका नाममा गाउँमा जथभावी डोजर चलाउने काम भइरहेको छ । यसले कतै पानीका मुहान सुेकेका छन् त कतै पानीका मुहान पुहिरिएका छन्। अझ त्योभन्दा बढी बाढी र पहिरोको जोखिम बढाएको छ, कति जैविक विविधतामा असर परेको छ। यस्ता काम कतिपय ठाउँमा जानाजानी भइरहेका छन् भने कतिपय ठाउँमा पर्याप्त ज्ञानको अभावमा भइरहेका छन्। यस विषयमा तपाईँ हामीले गाउँमा छलफल गर्नुपर्छ र आगामी दिनमा यस्ता कार्य रोक्नको लागि गाउँमा एक प्रकारको सहमति नै कायम गर्नुपर्छ। हामीले दशैँको विदाको सदुपयोग गरेर यस विषयमा गाउँका दाजुभाई दिदीबहिनीहरूसँग कुराकानी गर्नुपर्छ। अर्काे विषय शहरमा रहेका हाम्रा पवित्र नदीको अवस्था के छ ? त्यसलाई देखेर भोगेर गाउँ जानु भएको छ।

गाउँमै रहेका कतिपय नदी त प्रदूषित भइसकेका छन् तर अझै पनि कतिपय नदीहरू स्वच्छ र पवित्र छन्। तपाईँ हाम्रो सानु प्रयासले ग्रामीण भेगका नदीको स्वच्छतालाई जोगाउन सकिन्छ । त्यसैले नदीमा ढल मिसाउने र विभिन्न विध्वंसात्मक ढङ्गले माछा मार्ने तरिका रोक्न तपाईँ हाम्रो ठूलो भूमिका हुन सक्छ । नदीमा रहेका धेरै जलचर लोप भइसकेका छन्। यही तरिकाले माछा मार्दै जाने हो भने धेरै नदीमा अबको निकट भविष्यमै माछाको अस्तित्व नै समाप्त हुने छ। नदीमा ढल मिसाउँदा पर्ने असरका सम्बन्धमा तपाईँले गाउँका सर्वसाधारणलाई बुझाउन सक्नुहुन्छ । ग्रामीण भेगमा रहनु भएकाहरूलाई यस विषयमा जानकारी र ज्ञान छ, खाली सामूहिक पहलको आवश्यकता छ, जसका लागि तपाईँले नेतृत्व लिनसक्नु हुन्छ। उदाहरणको लागि पानीको मुहान सुकेर खानेपानीका लागि घन्टौँसम्म हिडनुपर्ने वाध्यता छ भने कतिपय ठाउँमा मेसिन र लिफ्टद्धारा पानी तानिएको छ । कतिपय ठाउँमा त आर्थिक स्रोत हुँदाहुँदै पनि पानीको व्यवस्थापन गर्न सकिएको छैन् ।

त्यसैले गाउँघरका यी समस्याका बारेमा तपाईँ हामीभन्दा स्थानीयलाई नै थाहा छ, किनकि यसबाट उनीहरू बढी प्रभावित छन् । तर दुर्भाग्य हाम्रा सरकारी निकायले यस विषयलाई गम्भीररूपमा लिएका छैनन् । राजनीतिक दलले प्राकृतिक स्रोत र साधनलाई पैसा कमाउने माध्यम बनाएका छन् । त्यसैले वातावरण जोगाउनको लागि हामी आफैँ तात्ने बेला आएको छ ।
अब सानोतिनो र सरकारी पहललले मात्र वातावरण जोगिने अवस्था पटक्कै छैन । वर्षको एक पटक विरुवा रोप्ने अभियान चलाएर त्यसको प्रचार प्रसार गर्ने तर अर्काे ३६४ दिन वातावरण विनाश हुने काम गर्ने शैलीले वातावरण जोगिँदैन । देशभर शहरीकरण बढ्दो छ, मानिसहरू गाउँबाट सुविधाजनक स्थानमा आइरहेका छन् । हामी जथाभावी ढङ्गले बस्ती बसालिरहेका छौँ । अव्यवस्थित बस्ती बिस्तारले वातावरणमा कति असर गरेको छ ? हामीले ख्याल नै गरेका छैनौँ । अब बन्ने शहरहरूको हविगत पनि अहिलेका शहरहरूकै जस्तो हुनेछ ।

हाम्रा पुर्खाले हामीलाई सुन्दर प्रकृति छोडेर गएका छन् । उनीहरूले हामीलाई गाउँमा सफा पानी भएका पोखरी छोडेर गएका थिए, त्यसलाई हामीले मासिसकेका छौँ, कतिपय स्थानमा पुर्नस्थापना भइरहेको छ जुन सकारात्मक हो । हाम्रा पुर्खाले पर्याप्त खुला सार्वजनिक स्थान र बस्नै चौतारी छोडेर गएका थिए, हामीले त्यसलाई बिस्तारै अतिक्रमण गदै गएका छौँ । पुर्खाले छोडेर गएका सफा पानीका कुवा र पँधेरा हामीले जोगाउन सकेनौँ र अहिले पानीको पीडा भोगिरहेका छौँ ।
किन जोगिएनन् पानीका स्रोत ? किनकि हामीले पानीका स्रोत नजिक रहेका रुखा विरुवा काटयौँ, पँधेरोमाथि डोजर लगाएर बाटो बनायौँ त्यसैले पानीको स्रोत प्रभावित भयो, अनि पानीलाई रिजार्थ गर्ने पोखरी सुक्न थाले । हामीले अहिले ती पोखरी पुर्नस्थापित गर्नुपर्ने आवश्यकता रहेको छ ।

गाउँमा मात्र होइन्, शहरमा बस्नु हुनेहरुले पनि यस पटकको दशैमा केही प्रण नै गर्नुपर्ने देखिन्छ। विशेषगरी दशैको समयमा तपाई हामी सडकमा जथाभावी फोहर फाल्ने गर्दछौ, त्यसलाई हामीले जसरी पनि रोक्न आवश्यक छ । दोस्रो, शहरमा वातावरण जोगाउनको लागि तत्काल गर्नुपर्ने थुप्रै काम छ । पहिलो त सार्वजनिक ठाउँको रक्षा र त्यहाँ वृक्षा रोपण। अब यस पटकको दशैमा तपाईहरुले काठमाडौमा रहेका खाली ठाउँ कतै अक्रिमण त भएका छैनन्, त्यसको पहिचान गरेर संरक्षणको लागि पहल गर्ने । दोस्रो काठमाडौंमा उपत्यकामा रहेका पोखरी र ढुंगे धारा फोहर भएका छन्, समुदायमा छलफल गरेर त्यसलाई वचाउन केही तत्काल गर्न सकिन्छ ।

अनि काठमाडौंमा पानीको स्रोत सुक्दै गएको खण्डमा कति ठाउँमा पोखरी निर्माण गर्न सकिन्छ, तत्काल सोच्न आवश्यक देखिन्छ । यही गतिमा हामीले विनाश गैर्दै जाने हो भने भावी पुस्तालाई के दिने ? भावी पुस्तालाई कस्तो कठिनाइ पर्ला ? यस विषयमा हामीले अहिले नै सोच्ने बेला भइसकेको छ । त्यसैले यस पटकको दशैँमा हामी यस विषयमा गम्भीर छलफल गरौँ । प्रकृतिलाई जोगाउने प्रण गरौँ .

Facebook Comments