सद्भावको शहर नेपालगञ्जमा ध्वनि प्रदूषण बढ्दाे

बाँके–नेपालगन्जलाई धार्मिक सद्भावको सहर भनेर चिनिन्छ। हिन्दु, मुस्लिम, शिख र बुद्धिस्ट सबै धर्मावलम्वीहरूले एक अर्काको धर्मको सम्मान गर्दै आ आफ्नो चाडपर्वमा एक अर्कालाई सहभागी गराई चाडपर्वहरू मनाउने गर्दछन्। हिन्दुहरूको महान पर्व वडा दशैं र तिहार होस् वा मुस्लिम समुदायको मोहरम्म, ईदुल फिद्र नै किन नहोस् एक आपसमा भाइचाराको व्यवहार गर्दै आपसी स्नेह र प्रेम साट्दै रमाउने गर्दछन्।

हिन्दुले मुस्लिम समुदायको चाडपर्वमा कुर्ता पाईजामा लगाएर सेतो बुट्टेदार टोपी लगाई इदमा अंकमाल गर्दै ईद मुबारक दिन्छन् भने उनीहरूको घरमा गएर मिष्ठान्न भोजन खाने गर्दछन्। धार्मिक सद्भावको सहरका रुपमा परिचित नेपालगन्जमा माता बागेश्वरीको मन्दिर छ। नेपालमै पहिलो जुंगे महादेवको रहेको नेपालगन्जमा विभिन्न स्थानहरूमा ठूलठूला मस्जित छन्। गुम्बा र चर्चहरू समेत छन्।

यता हिन्दुहरूको चाडपर्वमा मुस्लिमहरू पनि शुभकामना आदान प्रदान गर्ने, हिन्दु दिदीबहिनीको हातबाट तिहारमा टिका लगाउने, बर्सेनि नेपालगन्जमा लाग्ने रामलिलामा सहभागी हुने, ठाउँठाउँमा राखिने दुर्गाको मुक्तिमा डिजेहरू उपलब्ध गराउने लगायतका कार्यहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी हुन्छन् । हिन्दु र मुस्लिम समुदायको बढी बाहुल्यता रहेको नेपालगञ्ज प्रत्येक वर्ष सबै धर्मावलम्बीहरूले होलीमा एक आपसमा रंग खेलेर होली खेल्ने शहर हो।

प्रदेश नम्बर ५ मा पर्ने बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज अहिले उपमहानगरपालिका बनेको छ। नेपालका सहरहरू मध्येको पुरानो सहर नेपालगञ्ज छिमेकी मुलुक भारतको बहराईज जिल्लासँग जोडिएको छ । नेपालगन्ज भन्सार नाकासँग जोडिएको नेपालगन्जमा बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक र बहु रितिरिवाजका मानिसहरूको बसोबास छ । यहाँ आउने आन्तरिक होस् वा बाह्य पर्यटक होस् यहाँको आपसी मेलमिलाप र भाईचारा देखेर दंग हुन्छन् । तर विडम्बना नेपालगन्जमा एक रात बिताउन पनि उनीहरूलाई बडो मुस्कील पर्छ , कारण हो ध्वनी प्रदूषण।

मलाई अझै याद छ, आज भन्दा ५ वर्ष अगाडि काठमाडौँमा म एक तालिममा सहभागी हुँदा मैले नेपालगञ्जको धार्मिक सद्भावको वर्णन गरिरहेकी थिए । बीचमै तालिमका अर्का सहभागीले प्वाक्कै भनेका थिए,‘तपाईको नेपालगञ्जमा ध्वनी प्रदूषण अत्याधिक छ, एक हप्ता बस्ने भनेर गएको म भोली पल्टै फर्किए।’

उनको बोली नसकिदै एक अर्की सहभागीले भनिन् ,‘अत्याधिक गर्मी हुन्छ, लामखुट्टे अत्याधिक लाग्छ भन्ने त मैले पहिले पनि सुनेको थिए तर एकाविहानै देखिको भजन र नवाजले निद्रा बिग्रेर सुत्नै नसकिने….’ नेपालगञ्जको प्रशंसा गरिरहेकी म एकाएक नाजवाफ भएँ । नेपालगन्जमा विभिन्न कारणले ध्वनी प्रदूषण भइरहेका छन्। जसलाई यसरी दर्शाउन सकिन्छ :
धार्मिक कारण
अहिले हिन्दुधर्मावलम्बीहरूको महानपर्व वडा दशैं चलिरहेको छ । घटस्थापनाका दिनमा टोलपिच्छे दुर्गाको मूर्ति प्रतिस्थापन गरी अस्थायी मन्दिर निर्माण गरीएको छ। सयौंको संख्यामा स्थापना गरिएका दुर्गा भवानीको मुक्ति सहितको मन्दिरमा ठूलठूला डिजेहरू राखिएका छन्,जहाँ विहानै देखि भजन लगाइन्छ। र मध्य रात सम्म पनि बजिरहन्छ । तिहारमा होस् वा होलीमा होस् । गल्ली र नगरका चोकचोकमा बजाइने डिजेले कानको जाली समेत फुटेका उदाहरण छन्।

कुरा दशैं, तिहारको मात्रै होइन, एकाबिहानैबाट शुरु हुने मुस्लिम समुदायको नवाजका कारण पनि ध्वनी प्रदूषण बढिरहेको छ। दजनौंको संख्यामा रहेका मस्जीतहरूमा राखिएको लाउडस्पीकरबाट प्रत्येक दिन विहान प्राय एकै समयमा पढिने नवाजले मस्त निन्द्रामा रहेका व्यक्तिलाई बिउझाइदिन्छ। अनि ताजिया बिर्सजन नगर्ने दिन सम्म बज्ने डिजेका कारण पनि कयौं रात धेरैका निद हराम हुन्छन्।

यो कुरा हामी सबै नेपालगञ्जबासीलाई थाहा छ। तर, हामी एकअर्काको धर्मको सम्मान गर्दै चुपचाप ध्वनी प्रदूषण सहिरहन्छौँ। हामीले यसलाई धार्मिक सहिष्णुता भनेर वा धार्मिक संवेदनशीलता भनेर व्याख्या गरिरहेका छौं तर हामीले एक अर्काका कारण भोग्नु परेको ध्वनी प्रदूषण नियन्त्रण गर्न कहिल्यै एकआपसमा छलफल गर्यौं ? कि गरेनौंं ? भनेर समीक्षा गर्न जरुरी छ ।

सवारी साधन
बढ्दो सवारी साधन र अव्यवस्थित सडक व्यवस्थापनका कारण नेपालगञ्जमा ध्वनी प्रदूषण बढ्दो छ । ध्वनी प्रदूषण न्यूनीकरण गर्न नेपालगन्ज उपमहानगरपालिकाले नगरलाई हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा गरेको झण्डै वर्षदिन पुग्ने बेला भएको छ तर ध्वनी प्रदूषण भने ज्यूका त्यू छ । ‘दो दिनकी चाँदनी रात फिर अन्धेरी.. ’ भनेझै शुरु शुरुमा हर्न बजाउनेहरूलाई समाउँदै जरिवाना असुल गरेकोे ट्राफिक प्रहरी अहिले बाटो छेउमा पनि देख्न मुस्किल पर्छ।

नागरिकहरूमा सचेतना फैलाउन नसक्नुु, सडकहरूमा ट्राफिक संकेतहरूको प्रयोग नगरिनु, पैदलयात्रुका लागि स्पष्ट रुपमा देखिने गरी जेब्राक्रसिङ नहुनु, ठूला सवारी साधनहरूले ट्राफिक नियमको पालना नगर्नु, सवारी चालक तथा यातायात व्यवसायीहरूलाई आवश्यक नो हर्नका बारेमा आवश्यक तालिम प्रदान नगर्नु, यसका फाइदाका बारेमा सबैलाई जानकारी दिन नसक्नु जस्ता कमिकमजोरीका ध्वनी प्रदूषण नियन्त्रण हुन सकिरहेको छैन। नगरले राम्रो कामको सुरुवात गरे पनि यसको कार्यान्वयनको पाटो सम्हाल्न नसक्नु र घोषणापूर्वको तयारी नगर्दा नामको मात्रै हर्न निषेधित क्षेत्र (नो हर्न) नेपालगन्ज उपमहानगरपालिका भएको छ ।

उत्सव
नेपालगन्ज त्यस्तो शहर हो जहाँ हरेक उत्सव धुमधामका साथ मनाइन्छ । विवाह, ब्रतबन्ध, मुण्डन, पुजा आदि उत्सवमा अनिवार्य प्रयोग हुने भनेको डिजे नै हो । कस्ले कस्तो डिजे प्रयोग गर्यो भन्ने प्रतिश्पर्धाका हुन्छ । यिनै उत्सवका कारण कहिले काँही नेपालगञ्जका सहायक बाटोहरू बन्द गरिन्छन् र बाटो जाम हुन्छन् । जसका कारण डिजेसँगसँगै गाडीका हर्नले पनि ध्वनी प्रदूषणलाई अझ व्यापक बनाइदिन्छ। छिमेकमा कुनै उत्सव छ भने परीक्षा आइरहेका विद्यार्थीहरू शान्त वातावरण भएका साथीहरूको घर खोज्दै दौडिन बाध्य हुन्छन् । कारण त्यही हो, ध्वनी प्रदूषण ।
छिमेकीमा विवाह छ भने सोच्नुस् तपाई विवाह नसकिदा सम्म सुत्न पाउनुहुन्न । त्यो तपाई छिमेकी हुनुको सजाय हो ।

केहि समय अगाडि फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसे नामका व्यक्तिको भाले सवेरै बासेर ‘डिस्टर्भ’ गरेको भन्दै अदालमा मुद्दा हालेकी थिइन् । अदालतले मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले ४ हजार युरो करिब ५ लाख रुपैयाँ बुसेलाई जरिवाना तोकेको थियो तर हामी कहाँ कानको जाली फुट्दा समेत हामी चुपचाप सहन्छौं । यसबारेमा न प्रशासन बोल्छ ? न त नागरिक समाज नै ? आधा राती सम्म बजाइने यस्ता बाजा, डिजेका कारण छिमेकी मात्रै होइन टाढा टाढा सम्मका मानिसहरू पनि हैरानी भोग्न बाध्यछन् ।

सभा तथा सम्मेलन
राजनीतिक होस् वा गैरराजनीतिक सभा, सम्मेलन, विरोध वा खुसीयाली । यस्तोमा प्रयोग गर्ने भनेकै माइक र साउडसिस्टम हुन्। आफूसँग सम्बन्धित नै नभएको भाषण पनि सुन्न बाध्य हुन्छन् नेपालगञ्जबासी । अझ त्यसमा पनि बढी ध्वनी प्रदूषणको मार खेपिरहेका छन्, त्रिभुवन चोक, बिपी चोक र धम्बोजीचोकका नागरिकहरू । चर्को नाराबाजी र भाषणका कारण पनि नेपालगन्जमा ध्वनी प्रदूषण बढिरहेको छ ।

त्रिभूवन चोकमा लामो समयदेखि व्यापार गर्दै आइरहेका एक व्यापारीले त्यसरी हुने ध्वनी प्रदूषणका कारण आफ्ना छोराछोरी राम्रोसँग पढ्न नसक्ने, बिरामी आमा सुत्न नसक्ने र आफ्नो व्यापारलाई पनि नोक्सानी हुने गरेको बताए। ‘ कहिले काँही त दिनभरी नै हुन्छन् त्यस्ता कार्यक्रम जस्ले पसल नै बन्द गर्नुपर्ने अवस्था आउँछ। ’ उनले भने, ‘असर पर्यो भनेर कसलाई भन्ने हो ? प्रशासनले हाम्रो कुरा कहाँ सुन्छ ? बरु उनीहरूकै सुरक्षा दिन्छ ।’

उनले भने जस्तै र्याली, सभा, आमसभा वा सम्बोधन हुने स्थानहरूमा हुने ध्वनी प्रदूषणका बारेमा न समाचार बन्छन् न स्थानीय प्रशासनले नियन्त्रणको प्रयास गरेको नै देखिन्छ । यस्ता कार्यक्रम गर्नेहरूले ध्वनी प्रदूषण नियन्त्रणका उपाय अपनाइ कार्यक्रमको रुपरेखा बदल्न किन नसक्ने ?

हामीले कहिले धर्मका नाममा, कहिले रितिरिवाज र संस्कारका नाममा, कहिले विवाह तथा उत्सव समारोहका नाममा, कहिले राजनीतिक दल लगायतका नाममा भोगिरहेको ध्वनी प्रदूषणले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पुर्याईरहेको छ ।

नेपालगन्ज मेडिकल कलेज नर्सिङहोमकी नाक,कान घाँटी रोग विशेषज्ञ डाक्टर अन्जु शर्मा ध्वनी प्रदूषणले कानको नसालाई खुम्चाएर सुनाइमा असर गर्ने बताउँछिन् । यसले मानसिक रुपमा पनि बढी असर गर्ने उनको भनाइ । ध्वनी प्रदूषणले मानसिक रोगी, मुटुका रोगी, कानका रोगीहरूलाई बढी असर गर्ने उनको भनाई छ ।

ध्वनी प्रदूषणकै कारण बहिरा हुनेको संख्यामा वृद्धि भइरहेको उने बताइन् । आज भन्दा ३ वर्ष अगाडि मुटुको अपरेशन गरेका नेपालगन्ज उपमहानरपालिका वडा नम्बर १० का सुनिल गुरुङले यसरी ठूल्ठूलो आवाजमा बज्ने डिजेले आफूलाई अत्यन्तै अप्ठ्यारो बनाएको अनुभव सुनाए । ‘शुरु शुरुमा त कहाँ भागौं के गरौं भनेर निकै छटपटी हुन्थ्यो । अत्यन्तै पीडा हुन्थ्यो पछि पछि कानमा रुई हालेर ध्यान गर्ने बानी बसालेपछि केही सहज भएको छ ।’

ध्वनी प्रदूषणबाट स्वस्थ व्यक्तिसँगसँगै विरामी, बालक, वृद्धवृद्धा,विद्यार्थीहरू बढी मात्रामा शिकार भएका छन्। ध्वनि नाप्ने एकाईलाई डेसिवल भनिन्छ । हामीले ६० डेसिवल सम्मको आवाज सजिलै ग्रहण गर्न सक्दछौ जुन, साधारण कुराकानी गर्दाको आवाज हो। मोटरसाइकलबाट ९५ डेसिबल, व्यस्त ट्राफिक हुने ठाउँबाट ८५ डेसिबल, कारको हर्नबाट १ सय डेसिबल, चर्को आवाज सहितको कन्सर्टबाट १ सय १५ डेसिबल आवाज निस्कन्छ, जुन सुन्नसक्ने श्रवण शक्तिका लागि हानिकारक हुन्छ। अहिले बजाईने डिजे, लाउडस्पीकर र गाडीका आवाजले हाम्रो स्वास्थ्यलाई असर गरिरहेको छ ।

स्वस्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो । नेपालको संविधान २०७२ को भाग ३ को धारा ३० मा स्वस्छ वातावरणको हकको व्यवस्था गरिएको छ ।

धारा ३०. स्वच्छ वातावरणको हक : (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिवापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । भनी व्यवस्था गरेको छ ।

त्यस्तै वातावरण संरक्षण ऐन, २०५३ को दफा ७(१) मा “ कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जन जीवन र जन स्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला निष्काशन गर्न, गराउन हुँदैन।” भन्ने व्यवस्था छ। तर, संविधान र कानून कार्यान्वयनको पाटो भने हात्तिले देखाउने दाँत मात्रै भएका छन्।

ध्वनी प्रदूषण नियन्त्रणका विषयमा कानून व्यवसायीहरू सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, बल बहादुर चन्द, विश्वजीत तिवारी लगायतले तत्कालीन पुनरावेदन अदालत नेपालगन्जमा रिट हालेका थिए। सो रिटमा पुनरावेदन अदालत नेपालगञ्जले विपक्षीहरूको नाममा बाँके निर्देशनात्मक आदेश जारी गरेको थियो । तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जको संयुक्त इजलासले माननीय मुख्य न्यायाधीश श्री बम कुमार श्रेष्ठ र माननीय न्यायाधीश श्री वीरबहादुर डाँगीले विपक्षीहरूको नाममा लिखित जवाफ प्रस्तुत गर्दा व्यक्त गरिएको प्रतिबद्धता पुरा गर्ने तर्फ समन्वय र सदभाव कायम गर्दै ध्वनि प्रदूषणलाई कसरी नियन्त्रण गर्न सकिन्छ समयानुकुलको जनचेतना फैलाउने विज्ञापन गर्ने, सन्देशमुलक कार्यक्रमहरू प्रकाशन गर्ने, प्रचार गर्ने तर्फ जनसहभागिता समेत जुटाई परिणाममूखि र प्रभावकारी कार्य अगाडि बढाउनु होला भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी भएको थियो ।

तर, उक्त आदेशको कार्यान्वयन भएको आम नागरिकले महसुस गर्न सकिरहेका छैनन् । स्वच्छ वातावरणमा बाँच्न पाउनु हरेक नागरिकको हक हो भने स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व हो । राज्यको दायित्वलाई पुरा गर्नका लागि नागरिकहरूले सघाउन जरुरी छ । त्यसका लागि राज्यका हरेक संयन्त्र स्वयम् जिम्मेवार हुने र हरेक नागरिकलाई जिम्मेवार बनाउ सके मात्र ध्वनी प्रदूषण नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ ।

स्थानीय प्रशासन, स्थानीय सरकार र राज्यका निकायले धार्मिक गुरुहरूसँग सहकार्य, समन्वय र सामुहिकतामा छलफल चलाई मानव स्वास्थ्यलाई असर नगर्ने गरी निश्चित डेसिबल सम्मको ध्वनी मात्रै निकाल्न पाउने व्यवस्था गर्ने, निश्चित समयावधि सम्म मात्रै डिजे वा साउण्ड सिस्टम बजाउन दिने, अव्यवस्थित सडकहरू व्यवस्थित गरी ठाउँठाउँमा जेब्रा क्रसिङ राख्ने, ट्राफिक संकतहरू राख्ने, निश्चित स्थानमा मात्रै सभा वा सम्मेलन गर्न पाउने व्यवस्था गर्ने, बढी भन्दा बढी वातावरण प्रदूषणका विषयमा जनचेतना मुलक कार्यक्रम, छलफल, गोष्ठी र अन्तरक्रिया गर्दै जाने हो भने सद्भावको सहर नेपालगन्जमा ध्वनी प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।

Facebook Comments