सगरमाथामा ट्राफिक जामको दीगो समाधान खोजौँ

काठमाडौँ – नेपालका उच्च हिमश्रृङ्खलाले शताब्दीयौँदेखि मानव जातिलाई आकर्षित गरिरहेका छन्। त्यसमा पनि विश्वमा रहेका १३ उच्च हिउँ चुचुरामध्ये ८ वटा त नेपालमै भएकाले यस मुलुकलाई पर्वातारोहण (माउण्टेनरिङ) को स्वर्ग नै भनिन्छ। नेपालका अलौकिक पर्वतमालाको सौन्दर्यमा आकर्षित भइ विदेशीहरू दशकौँदेखि ज्यान जोखिममा राखेर भएपनि यहाँका हिमश्रृङ्खला चुम्न लालायित रहन्छन् ।

लेखक : पूर्णहरि अमात्य

सन् १९५३ मे २९ अघि नेपालका उच्च पर्वतमालाका सम्बन्धमा विदेशीलाई त्यति ज्ञान थिएन । तर सन् १९५३ मे २९ का दिन तेञ्जङ शेर्पा र एडमण्ड हिलारीले प्रथम पटक संसारको सर्वोच शिखर सगरमाथामा (८८४८ मि.) पाइला टेके पछि सर्वत्र नेपाल एउटा हिमाली अधिराज्य रहेछ भन्ने चर्चामा आयो ।

सगरमाथा र अन्य उच्च हिउँ चुचुरा नेपालको आइकन (प्रतीक) हुन् जसको संसारभरि प्रसिद्धि छ। तेञ्जिङ र हिलारी अघि पनि सगरमाथामा पाइला टेक्ने प्रयास नभएका होइनन्। सन् १९२४ मा बेलायती शिक्षक जर्ज म्यालोरीको टोलीले सगरमाथा आरोहणको प्रयास गरेको थियो । म्यालोरीको टोली सगरमाथाको चुचुरो चुम्न सफल भए। तर उनको सगरमाथा सफल आरोहण पछि फर्कने क्रममा मृत्यु भयो भने उनका साथी एण्ड इरभिनको सगरमाथामै दुःखद निधन भयो (हेर्नुहोस्, फ्रण्टलाइन जुन १८,१९९९) म्यालोरीको लाश अहिले पनि सगरमाथाको फेदीमा हिउँमा पुरिएर रहेको छ भन्दै बेलाबखत चर्चामा आउने गर्दछ । रोयल ज्योग्राफिकल सोसाइटी (बेलायती संस्था) ले सन् १९२१ जनबरीमा प्रथम सगरमाथा आरोहणको घोषणा ग¥यो र सगरमाथा चुचुरोको वरिपरि सर्वेक्षण गरी उत्तरी मोहडाबाट आरोहणका लागि उचित मार्गसमेत पहिल्यायो । सन् १९२२ मा सगरमाथा आरोहण गर्ने टोलिले पहिलो पटक अक्सिजनको प्रयोग अल्टिच्युड सिकनेस (ब्रेक लाग्ने) बाट जोगिन प्रयोग ग¥यो । अक्सिजनको प्रयोग नगर्नाले म्यालोरीको निधन भयो भने उनीसँगै नर्थकोलमा हिउँ पहिरोमा परी ७ शेर्पाले पनि ज्यान गुमाए ।

सगरमाथा अप्ठ्यारो ठाउँमा अवस्थित छ । तर एकताका कैयौँ मुलुकलाई उपनिवेश बनाइ कहिले पनि सूर्य नअस्ताउने मुलुकका रूपमा ख्याति कमाएको बेलायत साम्राज्यवादी साँस्कृतिक श्रेष्ठता प्रमाणित गर्न लालायित थियो । पर्वतारोहणका सम्बन्धमा दखल राख्ने स्व. हर्क गुरुङ यसो भन्छन्, ‘हाम्रो साधारण दृष्टिकोणमा कठ्याङ्ग्रिने हिमाल चढेर जिउ जोखिममा हाल्नु मुर्खता हो। तर समृद्धशाली समाजको दाँजोमा यो हाम्रो परिभाषा सीमित सिद्ध हुन जान्छ । हामी बाँच्न सङ्घर्ष गरिरहेका छौँ, तर विकशित देशका मानिस आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्छन् । भौतिक साधनले परिपूर्ण भएपछि तिनीहरू असन्तुष्ट रहन्छन्। आफैँले रचेको आधुनिकताको साङ्लोबाट उम्कन तिनीहरू पर्यटक (टुरिष्ट) भइ विश्व चहार्छन्, अगुवा (एक्सप्लोर्र) भइ बिराना ठाउँ पुग्छन्, अनि पर्वतारोही (माउण्टेनर) भइ शरीरलाई प्रकृतिसँग दाँज्न खोज्छन् ।’

उनी भन्छन्, ‘पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषको साँस्कृतिक रुप हो । पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जित पाउँछ र सृष्टिकर्ताको महानतामा विश्वास गर्न मानिस बाध्य हुन्छ । उहिलेका ऋषिहरूले हिमालमा ज्ञान पाएझैँ रुसो, रस्किन, गोर्थे, नित्से, वर्डस्वर्थ, किट्स आदिले पर्वतको शान्तिबाट प्रेरणा पाए । दार्शनिकताको स्रोतको साथै पर्वत सुन्दरताको मुहार हो । गुराँसे वन, बुगेनी लेक र हिमशिलाले सिँगारिइएको पर्वतको दुनियाँ चाहार्नु एउटा स्वच्छन्द वातावरणको भोग गर्नु हो ।’

गुरुङले भने जस्तै विश्वको एउटा अति विकशित मुलुकमध्येको फ्रान्सका एक पर्वतारोही मोरिस हर्जोग सन् १९५० मा अजेय अन्नपूर्ण चुचुराको आरोहण गर्न नेपाल आएर सफल आरोहण पछि उनले प्रेञ्च भाषामा पर्वतारोहण सम्बन्धमा लेखिएको पुस्तक (बेजट सेलरमा दरियो) प्रकासित गरे । त्यसमा उनले नेपाल र हिमाली सौन्दर्यताको वर्णन गरेका छन् । त्यस बेलाका फ्रान्सका द्वाङ नेता चाल्र्स डेगोलले उनको पर्वतारोहणप्रतिको प्रेमलाई कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समेत सुम्पे । किनकि दुरुह अन्नपूर्ण शिखर हर्जोगले चुमेको सफलताले विशेष गरी फ्रान्सका युवा पिढीमा नयाँ जोस, जाँगर तथा उत्साहको भावना जागृत भयो । केही वर्ष अघि काठमाडौँमा नेपाल पर्यटन बोर्डले नेपालका पर्वतहरूको सफल आरोहण गर्नेहरूको सम्मान कार्यक्रममा यो पङ्क्तिकारसित कुरा गर्दै, ‘देख्नु भयो मेरा यी हातका औँला हिउँले खाएको हो । त्यसबेला आज जस्तो स्नोलाइटबाट बच्चे विशेष खाले पञ्जा तथा उपकरणहरू थिएनन् । तर पनि हिमाल चढ्ने उत्कृठ इच्छा र अठोटले अन्नपूर्णको सफल आरोहण गर्न सफल भएँ ।’ स्मरण रहोस् हर्जोगको फ्रेञ्च भाषामा लेखिएको पस्तककले गर्दा नै (नेपाल र विशेष गरी पोखरा, मुस्ताङ) भ्रमण गर्नेहरूको संख्यामा बढोत्तरी भएको हो ।

पर्वतीय पर्यटन मुलुकको आर्थिक विकासका लागि निकै महत्वपूर्ण छ, जसले हिमाली समुदायका लागि अनेकौँ रोजगारी सृजना गरेको छ । विशेष गरेर सगरमाथा राष्ट्रिय निकुञ्ज (आधार क्षेत्रसमेत) तथा अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी र विदेशी पर्यटक माझको एउटा लोकप्रिय गन्तव्य हो । सगरमाथामा आरोहण तथा पदयात्रा जस्ता दुवै कृयाकलाप हुन्छन् भने अन्नपूर्ण संरक्षित क्षेत्रमा पदयात्रा मात्र (ट्रेकिङ) गरिन्छ । आ.व. ०७५/०७६ मा सगरमाथा आरोहण गर्नेहरूबाट वसन्त ऋतुमा ५० करोड र हालको शरद ऋतुमा ३ करोड सलामी (सरकारले रोयल्टी) उठाएको छ । यसमा पर्वतारोहीहरूले गर्ने अन्य खर्च जस्तै एरोप्लेन, हेलिकप्टर, शेर्पा गाइड, होटल/लज, भरिया, कुक र अन्य सेवा वापतको खर्च सम्मिलित छैन । पर्वतहरूको आरोहण आफैँमा जोखिमका साथै निकै खर्चिलो गतिविधि हो । नेपालको एउटा हिमाल आरोहण गराउने कम्पनी सेभेन समिति ट्रेनसले यस्तो विज्ञापन (पर्वतारोहणका लागि) गर्दछ, यदि तपाईँ ग्रहको उच्चतम बिन्दुको अनुभव सँगाल्न चाहनु हुन्छ भने बलियो आर्थिक अवस्था हुनुपर्छ जसले तपाईँको बुढो उमेरको जोखिमलाई क्षतिपूर्तिबाट जोगाउँदै भी.भी.आई.पी. एक्सपेडिसन (आरोहण) का लागि सम्पर्क गर्न सक्नु हुन्छ। तपाईसित बलियो आर्थिक अवस्था हुनुपर्छ त्यसको मूल्य १ लाख ३० हजार डलर हुनेछ (पिटर सिङ्र हवाई क्लाइम माउण्ट एभरेष्ट ? र काठमाडौँ पोष्ट सेप्टेम्बर ८,२०१९)। स्मरण रहोस् नेपाल सरकारले सगरमाथा आरोहण गर्ने व्यक्तिसँग ११ हजार डलर रोयल्टी (दस्तुर) उठाउने गरेको छ।

नेपाल भ्रमणमा आउने प्रमुख आकर्षण नै यहाँका अग्ला हिउँ चुचुराको आरोहण गर्नु हो । विदेशीले हाम्रा अग्ला हिउँ टाकुराहरूको सफल आरोहण गरेर नाम र दाम दुबै कमाए र आज उनीहरू त्यही सफलताले राजसी जिन्दगी बिताइरहेका छन् । तर हाम्रा तेञ्जिङ शेर्पाले सगरमाथा शिखर चुमेर मुलुकको प्रतिष्ठा बढाउँदा पनि गुजारका लागि भारत (दार्जिलिङ) भासिन पुगे । त्यस्तै हिउँ चितुवा भनि ख्याति कमाएका आङरिता शेर्पा पनि सुखमय जीवनका लागि अमेरिका प्रवासमा छन्।

तर पर्यटनको एउटा महत्वपूर्ण सेगमेण्ट माउण्टेनियरिङ (पर्वतरोहण) का सम्बन्धमा उद्गम मुलुकहरूमा फेक रेस्क्यू (झुटो उद्धार) र सगरमाथामा ट्राफिक जाम जस्ता चर्चाले मुलुकको छवि (इमेज) धमिलिएको छ । सगरमाथा आरोहण अुनमतिको बेथितिका सम्बन्धमा इभान जि सोमलाई (क्यानडा) जो नेपाल पर्वतारोहण संघ ९ल्ःब्० का प्रशिक्षिक तथा हिमालयन रेस्क्यूसित पनि सम्बद्ध छन्, यसो भन्छन्, ‘त्यतिका धेरै आरोहण दललाई एकै समयमा अनुमति दिएर सरकारले सम्पूर्ण पर्वतारोहणलाई जोखिममा पारेको छ प्रकृतिको आधारभूत विषयलाई बेवास्ता गरिएको छ । बढी भिडभाडयुक्त कृयाकलाप पर्वतीय क्षेत्रमा हुनाले त्यहाँको पर्यावरण खल्बलिएको छ ।

उनी सन् ७० को दशकमा निर्माण गरिएको पर्वतारोहण सम्बन्धी कानुनको गम्भीरतापूर्वक पुनर्विचार तथा विष्लेषणका साथै सबै नियमावलीको अपग्रेड र अपडेट गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । विशेष गरी सगरमाथाको डेथजोन भन्ने गरिएको पर्वतारोहीहरूलाई ज्यान जोखिमबाट जोगाउन शुल्कमा वृद्धि तथा सीमित संख्या तोकिनु पर्छ (हेर्नुहोस् नेपाली टाइम्स ३१ मे, – ६ जन २०१९) ।

पर्वतारोहणको दिगोपनका लागि नेपाल सरकारले तत्सम्बन्धी सबै सरोकारवालाहरूसित गम्भीरतापूर्वक छलफल गरेर विद्यमान समस्याको समाधानका लागि अग्रसर हुनु पर्छ। उच्च हिउँ चुचुराहरू नेपालमा छँदैछन्, तिनीहरू यहाँ नआइ कहाँ जालान् भन्ने मानसिकता त्याग्नु आवश्यक छ। नेपाल सरकारले पर्वतारोहणबाट जति सकिन्छ त्यति बढी रोयल्टी उठाउने मानसिकता त्यागेर यसको दिगोपनका लागि विशेष पहल गर्नु मुनासिब हुनेछ।

नेपालमा पर्यटीकय उत्पादका अनेकौँ सम्भावनाहरू छन्। तर सन् २०१५ को कम्पिटिनेम्स इन्डेक्स (प्रतिस्पर्धात्मक सूचकाङ्क) का हिसाबले १४१ मुलुकमध्ये १०२ स्थानमा नेपाल रहेको छ । (वल्र्ड ट्राभेल एण्ड टुरिजम काउन्सिल, लण्डन) यस्तो सूचकाङ्क पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार होटल/रिसोर्टमा उपलब्ध सुविधा, स्वच्छ वायु, खानेपानी र दक्ष जनशक्ति आदिको आधारमा मूल्याङ्कन गरिन्छ

Facebook Comments