मनसुन कमजोर बन्दै, पुरै निष्क्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ– जुन १० बाट शुरु भएर सेप्टेम्बर २३ मा बाहिरनु पर्ने मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुनी गतिविधि कमजोर बन्दै गएपनि पुरै निष्क्रिय हुन अझै चार/पाँच दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले हाकाहाकीलाई जानकारी दिइन् ।

मनसुन कमजोर भएका कारण जमिन सुख्खा भपनि तर हावामा थोरै सक्रिय रहेको उनको भनाइ छ । ‘अब ४/५ दिन मा पुरै हटेर जान्छ,’ उनले भनिन् । अबको केही दिन मनसुन सक्रिय रहेता पनि भारी वर्षाको सम्भावना नरहेको उनले बताइन् ।

नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी जुन २० मा मनसुन भित्रिएको थियो । गत वर्ष जुन ८ मा मनसुन भित्रिएर अक्टोबर ५ मा बाहिरिएको थियो । सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको संख्या बढिरहेको छ ।

यस वर्षको मनसुनमा पूर्वी र मध्यका केही स्थानहरूमा औसत भन्दा धेरै वर्षा भएको भएतापनि देशका अन्य भागमा समान्य नै रहेको मानन्धरको भनाई छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेश तथा आसपासका क्षेत्रमा मनसुनी न्यून चापिय प्रणाली सक्रिय रहेको छ ।

त्यस्तै हाल देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । मौसम बुलेटिन जारी गर्दै आगामस तीन दिन (शुक्रबार, शनिबार र आइतबार) देशको पहाडी भू–भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको हो ।

मनसुनको प्रभाव कम परे पनि महाशाखाले मनसुन सकिएको घोषणा भने गरेको छैन । केही वर्षयता मनसुन ढिलो शुरु भएर ढिलै सकिने गरेको मौसमविद् मानन्धरले जानकारी दिइन् । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । नेपालमा वार्षिक वर्षाको करीब ८०.५ प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ ।

Facebook Comments