सरसफाइलाई निरन्तरता दिइयोस्

सम्पादकीय काठमाडौँ– चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौँ उपत्यकालाई चिटिक्क बनाइएको छ। उच्च विदेशी पाहुनाको स्वागतका लागि सरसफाइ हुनु स्वभाविक हो र यो आवश्यक पनि छ।

यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा पनि उनले आवातजावत गर्ने रुटमा यसैगरी सरसफाइ गरिएको थियो। यी दुइटा भ्रमणले के देखाउँछ भने सरकारले चाहने हो भने काठमाडौँ उपत्यकाको धुलो र फोहोरलाई केही हदसम्म भए पनि व्यवस्थापन गर्न सकिन्छ।

तर, भ्रमणपछि भने सरसफाइले निरन्तरता पाउँदैन र पुनः सडकमा फोहोर र धुलोको थुप्रो देखिन्छ। यसको स्पष्ट अर्थ हो, हामीसँग त्यसका लागि आवश्यक पर्ने जनशक्ति र अन्य स्रोतहरू छन् तर त्यसलाई परिचालन गर्न सकेका छैनाँै किनकी हामीकहाँ सुशासनको पाटो एकदमै कमजोर छ।

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक र संवैधानिक हक हो। २०७२ मा जारी भएको संविधानले यसलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको छ। सो मौलिक हकको कार्यान्वयनका लागि जो कोही पनि न्यायालयको ढोका ढकढक्याउन सक्छन्।

तर, यो विषयलाई सरकारले गम्भीर रुपमा लिएको छैन। काठमाडौँको फोहोर र धुलोको व्यवस्थापनका लागि अहिले विदेशी पाहुना आउँदा पनि खासै ठूलो मिहिनेत गर्नु परेको छैन। जस्तो, सडकलाई राम्रोसँग सफा गर्ने काम भएको छ, अघिपछि जस्तो दिनभर सडकमा फोहोर छरपष्ट छैन।

सडकको कुना काप्चामा रहेका धुलोलाई राम्रोसँग निकालिएको छ, अथवा सफा गरिएको छ। कुनै निर्माणको काम भइरहेको ठाउँबाट आउने धुलो उड्न नदिन छोपिएको छ। सडक किनारमा रहेका बोटबिरुवा काँटछाँट गरिएको छ, पानी हालिएको छ। भ्mार उखेलिएको छ, नयाँ बोटविरुवा रोपिएको छ। यी काम अन्य समयमा नियमित रुपमा गर्न नसकिने होइन। खाली हाम्रा सरकारी कार्यालयको इच्छाशक्ति छैन, अथवा अनुशासनको चरम अभाव रहेको छ। भनौँ, आमनागरिकको स्वास्थ्यको विषय अझै प्राथमिकतामा परेको छैन।

यति हुँदाहुँदै पनि सरसफाइ खाली पाहुना आवातजावत गर्ने रुटमा मात्र गरिएको छ। उदाहरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको दायाँबायाँ सडक किनारमा यतिबेला चिरिच्याट पारिएको छ, फोहोर देखिँदैन। तर, त्यस बाहेक अन्य सडकको हालत विरक्त लाग्दो छ। सडकमा यत्रतत्र फालिएका फोहोर टिपिएको छैन। यतिबेला यो भावना सामाजिक सञ्जालमा समेत देखिन्छ। विदेशी पाहुना आउँदा मात्र सरसफाइ भएको भनी सरकारको आलोचना भइरहेको छ। काठमाडौँमा रहेका सबै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा सरसफाइसँगै सहरी वातावरणलाई चुस्त राख्ने काम गरेमा प्रदूषण नियन्त्रणमा पनि मद्दत पुग्नेछ।

काठमाडौँ र ललितपुर महानगरपालिका संघीय राजधानीमै छन् । ती सरकारहरुसँग स्रोतसाधन नभएको होइन तर तदारुकता देखिँदैन। उपत्यकामा कुनै घर निर्माण हुँदा सडकमा नै निर्माण सामग्री खुला ठाउँमा छोडिएको हुन्छ, जसले केही हदसम्म प्रदूषण बढाउने भूमिका खेलिरहेको छ। तर घर निर्माण गर्ने व्यक्तिलाई हामीले यो सामग्री छोप्न भनिरहेका छै्रनौँ । अन्य ठाउँमा निर्माण गर्दा पनि धुलोलाई नियन्त्रण गरेर निर्माण गर्न हामीले भन्न सकिरहेका छैनौँ ।

कालोपत्रे भएकै सडकमा खाल्डाखुल्डी देखिन्छन् तर त्यसलाई पुर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन र त्यसका लागि पनि कुनै उच्चस्तरीय भ्रमणको साइत नै कुर्नुपर्छ कि ? त्यसैले यतिबेला सर्वसाधारणको अपेक्षा भ्रमणपछि पनि सरसफाइको कामले निरन्तरता पाओस् भन्ने नै रहेको छ । अत्यन्त सामान्य दैनिक रुपमा गर्नुपर्ने यी सरसफाइका काम किन भइरहेका छैनन ? यसलाई सम्बन्धीत निकायले गम्भीर रुपमा लिनु आवश्यक छ। भ्रमणको समयमा मात्र होइन, अन्य समयमा पनि उपत्यकाको प्रदूषण कम गर्न कदम चाल्न आवश्यक छ।

Facebook Comments