संरक्षित क्षेत्रभित्र संरचना निर्माणको तयारीमा सरकार

काठमाडौँ – आगामी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले विभिन्न तयारी गरेसँगै राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र भौतिक संरचना निर्माण हुने भएको छ।

वन तथा वातावरण मन्त्रालयले तयार गरिरहेको ‘संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्नेसम्बन्धी कार्यविधि २०७५’ले संरक्षण क्षेत्रभित्र होटेल, रिसोर्ट तथा लजलगायत भौतिक संरचना निर्माण गर्न स्वीकृति दिने भएको हो।

नेपाल भ्रमण वर्षमा भित्रने विदेशी पर्यटकलाई खान, बस्न, घुम्न, दृश्यावलोन गर्नका लागि होटेल, रिसोर्ट, टेन्डेड, क्याम्प साइड, केबुलकार, रोप–वे र चियापसल निर्माण गर्न दिने गरी कार्यविधि बनाउन लागेको वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाले बताए।

हाकाहाकीसँग कुरा गर्दै उनले पर्यापर्यटनको अवधारणालाई लक्षित गर्दै उक्त कार्यविधि तयार पारिएको बताए। नेपालमा आउने ७० प्रतिशत पर्यटक संरक्षित क्षेत्र तथा निकुञ्ज घुम्न जाने भएकाले त्यस क्षेत्रमा उनीहरूलाई खान, बस्न तथा घुम्न सहज हुने गरी भौतिक संरचना बनाउने कार्यविधि तयार भइरहेको उनी बताउँछन्।

उक्त कार्यविधिले निकुञ्ज, संरक्षित क्षेत्र तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्र हाल सञ्चालन भइरहेको होटल, रिसोर्ट, तथा नयाँ बन्ने भौतिक संरचनाको नियमन गर्ने उनको भनाइ छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३ ‘ख’अनुसार उक्त कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि वातावरण तथा वन्यजन्तुलगायत समग्र पर्यावरणलाई असर पर्ने गरी निर्माण भइरहेको संरचनाको नियमन हुने तथा विकास निर्माण र पर्यटन पर्वद्धन गर्ने नाममा निर्माण भएका जथाभावी भौतिक संरचना बन्द हुने उनको तर्क छ।
याे पनि पढ्नुहाेस
जंगलमा पूर्वाधार : सुनको गजुर मासेर गहना निर्माण

Facebook Comments