सगरमाथाको उचाइ सम्बन्धी चीनसँग भएको सहमतिबारे नापी विभाग बेखबर

काठमाडौँ – सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्ने नेपाल र चीनबीच भएको सहमतिबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको नापी विभागले जनाएको छ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा सगरमाथाको उचाइ दुबै देशले संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो। सो सहमति किन भयो भन्ने विषयमा सरकारी अधिकारीहरूले केही बताएका छैनन्।

भ्रमणपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ,‘उनीहरू(नेपाल र चीन)ले सगरमाथाको उचाईबारे संयुक्त घोषणा गर्ने छन् र यस विषयमा वैज्ञानिक अध्ययन गर्ने छन्।’ सगरमाथाको उचाइ मापन गर्ने नेपालको सार्वभौम अधिकार हो तर यो भ्रमणमा किन संयुक्त रुपमा उचाई घोषणा गर्ने विषय उल्लेख गरियो भन्ने विषयले यतिबेला राजनीतिक तथा कुटनीतिक वृतमा चर्चा पाएको छ।

नेपाल र चीनबीच सगरमाथाकाे उचाइ संयुक्त रूपमा घाेषणा गर्ने सहमति भएपनि सगरमाथाकाे उचाइ मापन गरिरहेकाे नापी विभाग भने यस विषयमा बेखबर छ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार चीन र नेपालबीच सगरमाथाको विषयमा भएको सहमति बारे विभागले अहिलेसम्म आधिकारिक जानकारी पाएको छैन्।

‘चीनसँग भएको कुरा सहमति हो या सम्झौता हो त्यो हामीलाई जानकारी आएको छैन्, कुटनीतिक तहमा कुरा भएको हो,’ उनले भने, ‘सगरमाथाको उचाइ मापन गर्न हामी सक्षम छाैँ, र त्यसको काम पनि भइरहेको छ। अरु विषयमा केही जानकारी आएको छैन्।’

चीन र नेपालबीच संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएपनि यसरी गर्न मिल्ने या नमिल्ने भन्ने विषयमा सरकारी अघिकारी नै अनविज्ञ देखिन्छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले यो प्राविधिक विषय भएकाले नापी विभागसँग कुरा गर्न सुझाए। ‘पहिला संयुक्त रुपमा घोषणा भए नभएको विषयमा मलाई केही जानकारी छैन्। किनकी यो प्राविधिक विषय पर्‍यो,’ उनले भने।

२०७२ को भूकम्प तथा जलवायु परिवर्तनका कारण सगरमाथाको उचाइमा हेरफेर भएको हुनसक्ने विज्ञहरूले बताएपछि नापी विभागले मापन गरिरहेको छ । यसअघि सन् १९५४ मा तत्कालीन सर्भे अफ इण्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर बताएको थियो भने सन् २००५ मा चीनले गरेको सर्भे अनुसार सगरमाथाको उचाइ समुद्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको थियो।

हाल सगरमाथाको प्रमाणित उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ। सन् १८५६ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले समतलन नापी विधिबाट सगरमाथाको उचाइ मापन गरेका थिए। सोही अनुसार मापन गरिएको तथ्यांक हो।

Facebook Comments