सुदूरपश्चिमका धानमा अझै बाला लागेन, बिउ नै नक्कली भएको दाबी

महेन्द्रनगर – कैलाली र कञ्चनपुरका खेतमा अहिले धानबाली लहलहाउँदो छ। किसान धान काट्न र भित्र्याउनमा व्यस्त छन् । तर, गरिमा जातको धान लगाउने किसान भने चिन्तित छन्।

अन्य जातको धान काट्ने समय हुँदा समेत गरिमा धान पसाउने छाँट नदेखिएपछि गरिमा धान लगाएका किसान आत्तिएका छन्। भीमदत्त नगरपालिका–२ उल्टाखामका किसान मिना भण्डारीले १ बिघा खेतमा गरिमा धान रोपेकी छिन्। तर अहिलेसम्म रोपिएको धानमा बाला लगेको छैन्। ‘गरिमा धान राम्रो फल्छ भन्थे त्यही भनेर बीउ किनेर ल्याएर रोपेको धानमा त एक बाला पनि लागेको छैन्,’ भण्डारीले भनिन्,‘यस पटक धान नभइ पराल भित्र्याउने अवस्था आयो।’

शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका किसान हिक्मत चौधरी खेतमा लगाएको गरिमा जातको धानमा अहिलेसम्म बाला नलागेपछि अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उनले गरिमा जातको धान असार दोस्रो साता १५ कट्ठामा रोपेका थिए । ‘गरिमा धान दोब्बर फल्छ भनेर रोपियो तर, अन्य धान पाक्दा समेत यो धानमा बाला नै लागेन्,’ उनले भने,‘यस्तो बाला नलाग्ने समस्या अहिलेसम्म भएको थिएन ।’ शुक्लाफाँटा नगरपालिका–११ दिपनगरका प्रित विष्टले पनि गरिमा जातको धान ११ कट्ठामा लगाएका छन् । उनले लगाएको गरिमा धान करिब ३ प्रतिशत पाकेको छ भने अन्यमा बाला लगेको छैन्।

‘गरिमा धानमा अन्य जातको धान मिलाएको रहेछ,’ उनले भने, ‘११ कट्ठामा लगाएको धान मध्ये केही धान मात्र पाकेको छ।’ कैलालीको गौरीगङ्गा नगरपालिकामा लगाएको गरिमा र सिन्दुरी जातको धानमा समस्या नदेखिएको किसान बताउँछन् । गौरीगङ्गा नगरपालिकाका किसान चौधिदार चौधरीले खेतमा लगाएको गरिमा र सिन्दुरी जातको धानमा अहिलेसम्म बाला नलागेको बताए । उनले २ बिघामा सिन्दुरी र गरिमा जातको धान लगाएका छन् । ‘सिन्दुरी र गरिमा जातको धान राम्रो फल्छ भनेर पुरै खेतमा लगाए अहिलेसम्म बाला लागेको छैन्,’ उनले भने,‘ यस वर्ष बजारबाट चामल किनेर परिवार पाल्नु पर्ने अवस्था आयो।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्यांक अनुसार कैलाली र कञ्चनपुरमा ९ सय ६८ जनाले २ सय ७२ हेक्टरमा गरिमा जातको धान रोपेका थिए। कञ्चनपुरका १ सय ५४ किसानले ७ सय ७ कट्ठामा लगाएको गरिमा जातको धानमा बाला नलागेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए। उनका अनुसार कृष्णपुरमा ४ किसानले २५ कट्ठा, पुर्नवासमा १६ किसानले ८९ कट्ठा, बेदकोटमा २ किसानले ९कट्ठा, बेलौरीमा २७ किसानले १ सय ९०कट्ठा, भीमदत्तमा २७ किसानले १ सय १ कट्ठा, माहाकालीमा १ किसानले २ कट्ठा र शुक्लाफाँटा नगरपालिकामा ६५ किसानले ४ सय२१ कट्ठामा लगाएको गरिमा धानमा बाला लागेको छैन्।

यसैगरी बेलडाँडी गाउँपालिकामा ६ किसानले ३६ कट्ठा र लालझाडी गाउँपालिकामा ६ किसानले ३४ कट्ठामा लगाएको गरिमा धानमा बाला लागेको छैन्। कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिकले केही दिन अघि बाला नलागेको गरिमा धानको निरीक्षण गरेको थियो। ‘कैलाली र कञ्चनपुरमा किसानले लगाएको गरिमा धान बाली निरीक्षण गरेका थियौं,’ उनले भने,‘बाला नलागेको विषयमा प्रतिवेदन तयार गरी सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेश गरेका छौं ।’ वास्तविक गरिमा धानको बिउ भन्दा गरिमाको नाम दिएर नक्कली गरिमा धानको बिउ किसानलाई बिक्री गरिएकोले बाला लाग्न नसकेको उनी बताउँछन्।

सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङले गरिमा जातको धानको बिउ कैलाली र कञ्चनपुरमा पठाएको थियो । गरिमा जातको धान दोब्बर फल्ने भन्दै कैलाली र कञ्चनपुरका किसानले लगाएका थिए । धान उत्पादनका लागि सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा उर्वर भूमि मानिन्छ । कैलाली र कञ्चनपुरमा फलेको धान सुदूरपश्चिमका ९ वटै जिल्लामा बिक्री वितरण हुन्छ।

Facebook Comments