मायाको चिनो बन्दै विजयसाल, संरक्षणमा सामुदायिक वन

महेन्द्रनगर – कञ्चनपुरमा एक दशकअघि विजयसाल लोप हुने अवस्थामा पुगेको थियो । २०६४ सालमा सामुदायिक वन समन्वय समिति कञ्चनपुरले विजयसाल संरक्षण अभियान चलाएपछि अहिले २ दर्जन बढी सामुदायिक वनमा विजयसाल पाइन्छ।

जिल्लाका सामुदायिक वनहरूले विजयसाल संरक्षणमा जोड दिएको सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले बताए। उनका अनुसार जिल्लाका १२ सामुदायिक वनले संरक्षण सञ्जाल बनाएर विजयसाल संरक्षण गरिरहेका छन्। ‘उपभोक्ताहरूले लोपन्मुख तथा दूर्लभ विजयसाल संरक्षणलाई प्राथमिकता दिएका छन्,’उनले भने,‘विजयसालको संरक्षणमा डिभिजन वन कार्यालय कञ्चनपुरलगायत विभिन्न संघसस्थाले पनि सहयोग गरेको छ ।’ पछिल्लो समय सामुदायिक वनले विजयसाल संरक्षण, पुनः उत्पादन, प्रचारप्रसार र विस्तारलाई प्राथमिकतामा राखेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष पन्त बताउँछन्।

कृष्णपुर नगरपालिका–२ वाणीको ग्वालाबारी सामुदायिक वनले उत्पादन गरेका विजयसालका बिरुवा तस्बिर : हाेम याेगी

उनका अनुसार विजयसाल पाइने सामुदायिक वनमा खुल्ला चरिचरन निषेधित क्षेत्र घोषण गरिएको छ । ‘विजयसाल पाइने वनका उपभोक्ता संरक्षणमा क्रियाशील छन्,’ उनले भने,‘वन उपभोक्ताहरूले प्रत्येक वर्ष बिउ संकलन, बिरुवा उत्पादन, वृक्षरोपणलाई प्राथमिकता दिएका छन् ।’ सामुदायिक वनले विजयसाल संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम गर्ने गरेको उनी बताउँछन् । ‘उपभोक्तालाई विजयसालको महत्त्व बुझाउनका लागि जनचेतनामुलक कार्यक्रम गर्छौ,’ अध्यक्ष पन्तले भने,‘अहिले उपभोक्ता विजयसालको महत्त्व बुझेर संरक्षणमा लागेका छन्।’

ग्वालावारी र जनहित महाकाली सामुदायिक वनले विजयसालका बिरुवा उत्पादन समेत गर्ने गरेको छ । ‘नर्सरी निर्माण गरेर प्रत्येक वर्ष विजयससालको विरुवा उत्पादन गर्छौं,’ ग्वालावारी सामुदायिक वनका अध्यक्ष शेरबहादुर सिंहले भने,‘प्रत्येक वर्ष ५/६ हजार विरुवा उत्पादन गरेर वितरण गर्छौं ।’ ग्वालावारी सामुदायिक वनले विजयसालको बिरुवा बिक्री गरेर उपभोक्ताको आयआर्जन समेत बढाएको उनको भनाई छ । ‘यहाँ उत्पादन गरिएको बिरुवा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङसम्म पुग्छ,’ उनले भने,‘विजयसाल संरक्षणले वनको आम्दानी पनि बढेको छ ।’ विजयसाल संरक्षणले विज्ञानका अध्ययनकर्ता, पर्यटक र विजयसाल व्यवसायीलाई वनतर्फ आकर्षित गरेको अध्यक्ष सिंह बताउँछन्।

‘विजयसालले आन्तिरिक पर्यटकलाई आकर्षित गरेको छ,’ उनले भने,‘वन विज्ञान विषय पढ्ने विद्यार्थी पनि यसको अध्ययन तथा अवलोकन गर्न पुग्छन् ।’ पुर्नवास नगरपालिकाको भीम सामुदायिक वनमा एक पटक विजयसाल लोप हुने अवस्थामा पुगेको थियो । सामुदायिक वन दर्ता हुनुअघि ७÷८ वटा बुढा रुख भएपनि स्थानीयले दाउरा र घाँसका रुपमा प्रयोग गरेपछि लोप हुने अवस्थामा पुगेको थियो । अहिले वन उपभोक्ताले संरक्षणमा जोड दिएपछि साढे ३ सय बिरुवा हुर्किरहेका छन्।

वन संरक्षणपछि पुनः उत्पादन भएको भीम सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर थापा बताउँछन् । ‘स्याउला काट्नेबाट विजयसाल जोगाउन निकै समस्या छ,’ उनले भने,‘गाउँलले चोरेर स्याउलाका लागि काट्ने गर्छन् ।’ नयाँ बिरुवा उत्पादन हुने क्रम बढेकाले विजयसालको छुट्ट बनाउने तयारी भइरहेको उनको भनाई छ । लापोन्मुख प्रजातिमा पर्ने विजयसालको स्याउला गाईभैंसी र बाख्राले निकै मन पराउँछन् । शुक्लाफाँटा नगरपालिकाको बैजनाथ सामुदायिक वनले विजयसालका ३ हजार ५ सय बिरुवा संरक्षण गरिरहेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। उनले विजयसाल संरक्षणसँगै विस्तार गरिने बताए । ‘अगामी दिनमा नर्सरी बनाएर विजयसालका बिरुवा उत्पादन गछौं,’उनले भने,‘पछिल्लो समय यसको विषयमा जनचेतनामुलक कार्यक्रम गर्दा उपभोक्ता पनि संरक्षणमा लागेका छन् ।’

डिभिजन वन कार्यालय कञ्चनपुरले पनि विजयसाल संरक्षणलाई प्राथमिकतामा राखेको छ । विजयसाल कटानी र ओसारपोसार प्रतिबन्ध गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए । उनका अनुसार विजयसालका लागि कञ्चनपुर उपयुक्त भौगोलिक धरातल हो । ‘वन कार्यालयले विजयसाल संरक्षणमा सहयोग गर्ने गरेको छ,’ उनले भने,‘नर्सरी व्यवस्थापन लगायतमा सहयोग गर्ने गरेका छौं।’ विजयसाललाई प्राकृतिक र कृत्रिम रूपमा पुनःउत्पादन गर्न सकिने सूचना अधिकारी अवस्थी बताउँछन् । ‘विजयसाललाई आयआर्जनसँग जोड्न सकिन्छ,’ उनले भने,‘विजयसालका भाडा वैज्ञानिक महत्वका आधारमा स्वास्थ्यका लागि समेत लाभदायक भएकाले यसको संरक्षणले समुदायलाई बढी फाइदा हुन्छ ।’

‘मायाको चिनो’ विजयसाल
कञ्चनपुर जिल्लामा हुने प्रायः हरेक सभा समारोह तथा कार्यक्रममा विजयसालका भाडा ‘मायाको चिनो’का रुपमा उपहार दिने प्रचलन स्थापित भएको छ । पछिल्लो समय विजयसालका भाँडा उपहारको पहिलो रोजाई बन्न थालेको छ।

जिल्लामा दुर्लभ विजयसालबाट निर्मित अम्खरा, गिलास लगायतका भाडा उपहार दिने प्रचलन रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी बताउँछन्। ‘मायोको चिनोका रुपमा विजयसालका भाडा आदान प्रदान हुन थालेपछि यसको महत्त्व बढेको छ,’ उनले भने,‘अचेल बाहिरबाट यहाँ हुने कार्यक्रममा आउने बढीजसो पाहुनालाई चिनोका रुपमा विजयसालका भाडा दिइन्छ ।’ विशेष गरी पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु लगायतका जिल्लामा विजयसाल पाइन्छ। समुद्र सहतदेखि १ हजार मिटरको उचाईमा चुरे श्रृंखलाको फेदमा भावर क्षेत्रमा विजयसालका रुख पाइन्छन्।

Facebook Comments