आम्दानीको स्रोत बन्दै सत्ती कर्णाली सामुदायिक वन

कैलाली– टीकापुर नगरपालिका–७ मा रहेको सत्ती कर्णाली सामुदायिक वन रहेको ठाउँ तीस बर्ष अघिसम्म बगर सरह थियो । त्यही बगर अहिले हराबरा भएको छ।

स्थानीयले वि.स.२०४९ सालदेखि बगरलाई संरक्षण गरी वन हुर्काउने अभियान सुरु गरेका हुन्। सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनसिंह साउदका अनुसार सत्ती कर्णाली सामुदायिक वन पहिला बालुवाको ढिस्को थियो।

२ सय ५८ दशमलव ६३ हेक्टर क्षेत्रफलमा फैलिएको सत्ती कर्णाली वन स्थानीयका लागि ठुलो सहारा बनेको छ जहाँ १ हजार १ सय २५ उपभोक्ता छन्। उनीहरूलाई चाहिने घाँस, दाउरा परिपूर्ति गर्ने मुख्य स्रोत बनेको छ, सत्ती कर्णाली सामुदायिक वन। ‘फाइदा त धेरै छ जस्तो दाउरा पाइएको छ। घरमा कसैको मृत्यु भयो भने निःशुल्क काठ पाइन्छ,’टीकापुर नगरपालिका–७ का अर्जुन चौधरीले भने।

कर्णाली नदीको किनारमा अवस्थित सत्ती कर्णाली सामुदायिक वनका लागि बेत बाँस आम्दानीको मुख्य स्रोत हो। यही वनमा हुर्किने बेत बाँसले यहाँका स्थानीयको जीविकोपार्जनलाई पनि सहज बनाएको छ।

सत्ती कर्णाली सामुदायिक वन बेत बाँसको भण्डारका रूपमा चर्चित छ। यहाँ १ सय ६८ हेक्टर क्षेत्रफलमा बेत बास उत्पादन हुन्छ । बेत वासले वन समूहको आम्दानी धानेको छ । वार्षिक करिब ३ हजार क्विन्टल काँचो बेत उत्पादन हुन्छ। बेत बाँस ठेक्का प्रणाली मार्फत बिक्री हुन्छ। उत्पादनको झन्डै ७५ प्रतिशत बेत बाँस भारतमा निर्यात हुन्छ । बेतको ठुलो उद्योग नभएकोले नेपालमा भने थोरै मात्र खपत हुन्छ।

‘अधिकांश बेत नेपालमा खपत नभई भारतमा नै खपत हुन्छ,’वन उपभोक्ता समूहका अध्यक्ष साउदले भने ।

वन क्षेत्रका चार वटा प्लटमा बेत बाँस उत्पादन हुन्छ। बेत बाँस चार वर्षसम्म हुर्काएपछि मात्र प्रयोग योग्य हुन्छ। वन समूहले हरेक वर्ष एउटा प्लटबाट हरेक चार वर्षको अन्तरमा बेत बाँस कटान गर्छ । यसरी बेत झिक्दा स्रोत मासिने खतरा हुँदैन। वेतबाँस झिक्ने जिम्मा वन समूहका उपभोक्तालाई नै दिइन्छ । उपभोक्ताबाट प्रति किलो नौ रुपैयाँका दरले वन समूहले बेत खरिद गर्छ । बेत सुकेपछि भण्डारण गरिन्छ । खरिद गरिएको सम्पूर्ण बेतको व्यवस्थापन पनि वन समूहले नै गर्छ।

वेतबाँसबाट विभिन्न किसिमका सामाग्रीहरू तयार गर्न सकिन्छ। फुलदानी, मुढा, र्याक लगायतका सामाग्री बेतबाट तयार हुन्छन् । जुन सामाग्री टिकाउ पनि हुन्छन्। सामुदायिक वनले वेतबाँसका तालिम पनि सञ्चालन गर्दै आएको छ । वन समूहले सञ्चालन गर्ने तालिमबाट स्थानीयले आत्मनिर्भर बन्ने अवसर पाएका छन्।

‘अब यो सामाग्री बनाउने काम त थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ। हजार रुपैयाँ भए पुग्छ । यसबाट त पछि राम्रै आम्दानी गर्न सकिन्छ,’टिकापुर नगरपालिका –९ का अर्जुन परियारले भने। घरमै बसी बसी बेत वासबाट विभिन्न सामान बनाउन सकिने र आम्दानी पनि राम्रो हुने नगरपालिका –७ कै देवी चौधरीले बताइन्।

‘फाइदा नै छ । यसको लगानी खासै महँगो छैन। एक फुलादनी डेढ सय रुपैयाँ यसको लागत खर्च हुन्छ। ऋणी यसलाई तीन सयमा बेच्यो भने डेढ सय आउँछ । अनि साढे तीन सयमा बेच्यो भने चार सयसम्म आउँछ । दुई ढाई सयसम्म फाइदा हुन्छ,’टीकापुर नगरपालिका–७ सत्तीका हरिराम चौधरीले भने।

वेतबास उद्योग सानो लगानीमा पनि सञ्चालन गर्न सकिन्छ। बर्दियाको राजापुरका ओमप्रकाश बसौलाले विगत १ वर्षदेखि सत्तीमा बेत बाँस उद्योग सञ्चालन गरीरहेका छन्। तर, घरेलु उद्योग माथि लगाइने चर्को करले उद्योग सञ्चालन गर्न कठिनाइ भएको अनुभव सुनाउँछन्। उत्पादित सामाग्रीको बजारीकरण गर्न सके आम्दानी पनि राम्रै हुन्छ। हाल बसौलाको वेतबाँस उद्योगमा चार जनाले रोजगारी पनि पाएका छन्।

‘चितवनमा दाइको पसल छ। त्यहाँ मैले देखे अनि हाम्रो तिरको कच्चापदार्थ देखेर उहाँले तिमी काम सुरु गरन भन्दाखेरी मैले यो काम सुरु गरेको हो,’उनले भने।

पहिला रोजगारीका लागि भारत जाने बर्दिया राजापुर नगरपालिका–४ का राधेश्याम थारु अहिले अहिले नेपालमै रोजगारी पाउँदा खुसी भएको बताउँछन्।

सत्ती कर्णाली सामुदायिक वनको आफ्नै नर्सरी पनि छ। नर्सरीमा विभिन्न प्रजातिका बिरुवा हुर्काइन्छ। नर्सरीमा तयार भएका बिरुवा वन क्षेत्रमा रोप्ने गरिन्छ। जसले जैविक विविधता संरक्षणमा पनि टेवा पुग्छ वन क्षेत्रमा विभिन्न प्रजातिका वन्जजन्तु र चराचुरुंगीले आश्रय पाएका छन्। अर्कोतर्फ जलाधार व्यवस्थापनमा पनि सहयोग पुगेको छ।

‘हामीले प्रत्येक वर्ष नर्सरीबाट बिरुवा लगेर वृक्षारोपण पनि गर्छौ। यहाँ नदी कटान पनि तीव्र रूपमा भइरहेको छ। यही वनले नदी छेकबार र तटबन्ध निर्माण पनि गरेको छ,’सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष साउँदले भने।

वनले पाएको सफलताका पछाडि स्थानीयको मिहनेत महत्त्वपूर्ण छ। उनीहरू वन स्रोतको दिगो उपयोगबारे सचेत छन्। वन समूहले सुशासनका अभ्यासको पालना गरेको छ। वन क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न वन समूहका पदाधिकारी पनि सक्रिय हुन्छन्। वन समूहको नियमित बैठक बस्छ। प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ, सत्ती कर्णाली सामुदायिक वन। त्यसैले वन समूहले पर्या पर्यटनलाई पनि प्रवर्द्धन गर्ने योजना बनाएको छ।

हाम्रा वरिपरि विभिन्न प्राकृतिक सम्पदाहरू छन् । यस्ता सम्पदाको दिगो संरक्षण गर्न सके यसको लाभ पनि स्थानीयले नै लिन पाउँछन्। अर्कोतर्फ भएका स्रोतको उचित सदुपयोग पनि हुन्छ।

Facebook Comments