सामुदायिक कुकुर व्यवस्थापन कसरी ?

बढ्दो शहरीकरणसँगै सडकमा देखिने कुकुरहरूको संख्या औधि बढेको महसुस भइरहेको छ। कुकुरको संख्या बढेसँगै तिनको टोकाइको शिकार हुने क्रम पनि बढेको छ । गाउँमा भन्दा शहरका कुकुरहरूले मानिसलाई टोक्ने गरेको र टोकाइका घटना पनि शहरी क्षेत्रमा बढी हुने गरेको तथ्यांक छ । यद्यपि गाउँले कुकुर धेरै शिकारी भइकन बाख्रा पाठा मारेका खबरहरू पनि सुनिने गरिएको छ।

एक आधिकारिक सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष ०७१/०७२ मा १७ हजार ३२० जना मानिस कुकुर टोकाइको शिकार भएका थिए। ०७३/०७४ मा आउँदा ३७ हजार २२६ जना शिकार हुन पुगे। कुकुरको टोकाइबाट हुने रेबिज रोगका कारण विश्वमा ५९ हजार मानिस सालिन्दा मर्ने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको एक प्रतिवेदनले रेबिजका कारण ३२ जना मानिस मरेको जनाएको छ। जति मानिस रेबिज लागेर मर्छन् सोको ९९ प्रतिशत कुकुरकै टोकाइबाट हुने गरेको छ। संसारमा १५० देशहरू रेबिजबाट पीडित बनिरहेका छन्। रेबिज सीधा देखिने कुकुरद्वारा प्रसारित रोग भयो तर प्रत्यक्ष नदेखिने कुकुरका जीउमा बस्ने परजीवीबाट मानिसमा आउने रोगको संख्या दर्जनभन्दा पनि बढी छ।

लेखक : रामचन्द्र अधिकारी

अर्कातिर सामुदायिक कुकुरको दिसाबाट हुने प्रदूषण, कोलाहल तथा यौनक्रियाकलापबाट मानव समुदायमा हुने बेइज्जति पनि मानिसले सहनु परेको छ।

प्राकृतिक खान्कीमा रहेको कुकुरको दिसामा अलि कम हानिकारक वस्तु हुन्छन् तर शहरमा बस्ने कुकुरको खान्की (मानव समानको भोजनमा बाँचेकाहरूको) दिसा मानवको भन्दा खास भिन्न पनि हुन्न। अझै कतिपय परजीवीको लागि त कुकुरको दिसा सारै रुचाइएको खाना र सुरक्षित बासस्थान हो। कोरनेल विश्वविद्यालय,भेटेरिनरी मेडिसिन कलेजको अध्ययन टोलीको विवरणअनुसार अंकुशे जुकाको खानी कुकुरको जीउ र दिसा हो । अर्को तथ्यांक छ – एक ग्राम दिसामा दुई करोड ३० लाख वटा कोलिफर्म व्याक्टेरियाहरू हुन्छन् जसले मानवजगतमा झाडापखाला,आन्द्रामा समस्या,मृगौलाको रोग निम्त्याउँछन्। इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी(ईपीए)का अनुसार उत्तरी भर्जिनियामा ११ हजार चार सय कुकुर छन् उनीहरूले दैनिक पाँच हजार पौण्ड दिसा गर्छन् । सो दिसा ले स्थानीय नदीलाई ब्याक्टेरियामय बनाएको छ।

कुकुरको दिसाबाट जार्डिया, गालोजुका, सालमोनेला,ई.कोली,कोरोना भाइरस, कोम्पीलोब्याक्टर, क्रिप्टोसोरिडियम, स्ट्राफाइलोकोकोसलगायत औषधीप्रतिरोधी अनेकन सूक्ष्मजीवाणु र अन्य रोगका कारक जीवहरू फैलिन्छन् । मानिस र कुकुरमा आलोपालो गर्दै सरी सरी जीवन चक्र पूरा गर्ने थुप्रै दोजीवआश्रित(डाइजेनेटिक) जुका र कीरा वर्गका परजीवीहरू छन्। खासमा एउटा कुकुरले गरेको दिसा एउटा मानिसले गरेको भन्दा धेरै हानिकारक हुन्छ, कम घिन भएर मात्र मानिसले सहँदै आएको छ।

काठमाण्डौमा मात्र करिब २२ हजार पाँच सय सामुदायिक कुकुर रहेको काठमाण्डौ एनिमल ट्रिटमेन्ट सेन्टर भन्ने संस्थाले उल्लेख गरेको छ । सोही संस्थाका अनुसार प्रत्येक वर्ष कुकुरको टोकाइबाट दुई सय जना मानिसको रेबिज रोग लागी मृत्यु हुने गरेको छ र ३५ हजार मानिस कुकुरको टोकाइको शिकार बन्छन्। मोहन आचार्यलगायतका अनुसन्धाताले गरेको अनुसन्धानअनुसार सन् २०१५ मा पोखरामा एक हजार सात सय ६७ वटा सामुदायिक कुकुर थिए। शहरी फोहोरको बढ्दो मात्रा र वैज्ञानिक वधशालाको अभावसँगै यस किसिमका कुकुरहरूको संख्या वृद्धि भइरहेको छ। यति धेरै कुकुरले उत्सर्जन गर्ने दिसाले वास्तवमै नजानिदो किसिमले मानव जीवनलाई जोखिममै राखेको छ। एक प्रारम्भिक अध्ययनअनुसार विराटनगरमा करिब चार हजार सामुदायिक कुकुर रहेको जानकारी छ। अन्य ठूला शहरहरूमा के अवस्था छ सबैतिर अध्ययन भइसकेको छैन। तथापि सामुदायिक कुकुरबाट भएको अक्रान्त स्थिति निकै सोचनीय छ। अनि, यीनको व्यवस्थापन आज चुनौति बन्दै आइरहेको छ।

विश्व स्वास्थ्य संगठनका प्रकाशनहरूमा लेखिएअनुसार विश्वमा दुई अर्ब वटा सामुदायिक कुकुरहरू छन्। सबैभन्दा बढी अमेरिकामा सात करोड ८० लाख वटा छन्। छिमेकी र नेपालसँग खुल्ला सीमाना भएको देश भारत पनि कुकुरको धनी देश हो जहाँ एक करोड २० लाख सामुदायिक कुकुर छन् चीनमा दुई करोड ७० लाख। यसआधारमा के भन्न सकिन्छ भने शहरीया र सामुदायिक कुकुर नेपालको मात्र होइन विश्वसंसारकै समस्या हुन्।

कुकुर र मानिसको सम्बन्ध आजभन्दा नौ हजार वर्ष पहिलेदेखि स्थापित भएको हो। बायोलोजी लेटर्स भन्ने विज्ञान पत्रिकाका अनुसार जंगली ब्वाँसोको परिवारबाट कुकुर मानवको परिवारसँग आएको हो भन्ने कुरा डिएनए परीक्षणबाट थाहा भएको हो । नौ हजार वर्ष पहिले मानिसहरू युरोपबाट एशियातिर फैलिन थाले, पशुपालनसहित बसाईँ सराइको चक्करमा हिँड्न थाले सोही क्रममा कुकुर खान पाइन्छ भनेर मानिसका पछि लागेको शास्त्रहरूमा उल्लेख छ। यसअघि भेडा,गाई र सँुगुरलाई घरपालुवा जनावर बनाइसकेका थिए । यिनैको गोठालो गर्न प्रयोग गरिँदै आउँदा कुकुर घरपालुवा जनावर बन्यो । आजकाल त कतिपय मानिसको अभिन्न मित्रसमेत भएको पाइन्छ अनि अपराध अनुसन्धानमा राज्यको सारथी पनि । तथापि आज आएर कुकुर वेवारिसे भएर सडकमा जे पाइन्छ त्यही खाने र जहाँ पायो त्यही सुत्ने स्थितिमा पुगेको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेबिजमुक्त धरतीको लक्ष्य लिएको छ। सोहीअनुसार संसारभर अभियान चलाइएको छ । नेपाल सरकार पनि जोडतोडले सो लक्ष्य हासिल गर्न लागी परेको छ।

पहिला पहिला शहरीया सडकमा डुली हिँड्ने कुुकुरलाई मारेर नियन्त्रण गर्ने उपाय अपनाइएको थियो। पछि पशुअधिकारको कुरा व्यापक रुपमा उठेपछि यो अभियान रोकिएको छ। अब कसरी कुकुर व्यवस्थापन गर्ने भनेर सरोकारवालाहरूले मन्थन गरिरहेका छन्। संसारमा चलेको चलन चाहिँ प्रथमतः मार्ने नै थियो र हो पनि। यसलाई निरन्तरता दिन नसक्दा अर्को प्रयास गर्न खोजियो। त्यो हो समातेर एउटा ठूलो क्षेत्रफलमा तारबार गरी थुनेर राख्ने । यो पनि स्थायी समाधान होइन। सानो खर्चले चल्न पनि सक्दैन।

विभिन्न अनुसन्धानहरू भएर अब मूलतः कुकुर व्यवस्थापन गर्न केही उपाय लगाउन सकिन्छ । पहिलो कुरा कुकुरको गहिरो अध्ययन जरुरी छ। सम्बन्धित शहरमा कति कुकुर छन्, कुन उमेरका कति, भाले पोथी कति,छाउरा छाउरी कति, शहरको कुन ठाउँमा जनघनत्व बढी र किन,कुकुरको आयु कति छ, रोगबिराम छ छैन, उनीहरूले मानव जगतमा ल्याउने रोगहरूको स्थिति के छ, कतिको आक्रमक छन्,खास खान्की के हो,सन्तान उत्पादन दर र जनसंख्या वृद्धिदर कस्तो छ भन्ने कुराको अध्ययन गर्नुपर्यो । साथै कुकुर कसरी सडकमा आए कारण पत्ता लगाउनु पर्यो । कतातिरबाट कुकुर शहर पसे भन्ने कुराको गौँडो पत्ता लगाउनु पर्छ र शहर आउने कारण पनि खोज्नुपर्छ। यति अध्ययनको प्रतिवेदन हेरेपछि अनि व्यवस्थापनको उपाय लिने हो।

सबैभन्दा उत्तम तरिका बन्ध्याकरण हो। लट्याएर बन्ध्याकरण गरिदिए पछि उत्पादन घट्दै जान्छ । मानिसका क्रियाकलापले कुकुर सडकमा उत्रिएका भने अवश्य हुन्। तसर्थ त्यस्ता कारण पत्ता लगाई समाधान गर्नुपर्छ । कुकुरबाट मानवजगतमा र वातावरणमा हुने हानीका बारेमा जनचेतना जगाउन आवश्यक छ। गाउँबाट शहरहरू दैनिक जसो छिरेका छन् भन्ने अनुमान गरिएको छ तसर्थ उद्गम गाउँमा नै नियन्त्रणको प्रयास थाल्नुपर्छ। दोष कुकुरलाई मात्र होइन कतै हामीले नै नजादिँदो तालले सामुदायिक कुकुर बनाइरहेका छैनौ ? सबैले सोच्न नसकिएला तर विज्ञहरूले पत्ता लगाइदिऔँ अवश्य मानिस यसको कारक हो।

याद गरौँ सामुदायिक कुकुरको नराम्रो पक्ष मात्र छैन। यिनले पर्यावरण सन्तुलन राख्न र खाद्य जाललाई नियमित राख्न के भूमिका खेलेका छन् थाहा पाउन जरुरी छ। यो पनि विज्ञहरूकै काँधमा छ। आज शहरमा यी कुकुर थिएनन् भने के हुन्थ्यो भन्ने विषय पनि मननीय छ। यसैले कति कुकुर हाम्रो पारिस्थितिक प्रणालीका लागि चाहिन्छन् भन्ने हेक्का बलियो हुनुपर्यो । अनि पूरै नियन्त्रण होइन व्यवस्थापन गर्न तिर लाग्ने हो। यो फेरि एउटा शहरमा १५ दिन काम गरेका भरमा पूरा हुन्न । छ महिना एक वर्ष कति लाग्ने ठूलो क्षेत्रफलमा एकैसाथ अभियान चलाउनुपर्छ । तब, सामुदायिक कुकुर व्यवस्थित हुनेछन्।

Facebook Comments