जथाभावी पार्किङले महेन्द्रनगर अस्तव्यस्त (फोटोफिचर)

महेन्द्रनगर – व्यवस्थित बजारका रुपमा चिनिने महेन्द्रनगर बजार पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ । पार्किङस्थल नहुँदा महेन्द्रनगर बजार अस्तव्यस्त हुन थालेको हो । खासगरी महेन्द्रनगर बजारका क्याम्पस रोड र फ्री लाइन बढी अस्तव्यस्त बनेका छन् ।
यहाँ मनोमानी ढंगले जताततै सानादेखि ठूला सवारी साधन पार्किङ गरिदा पैदलयात्रुलाई हिडडुलमा समेत कठिनाइ भएको छ । महेन्द्रनगर बजारको क्याम्पस रोडमा रहेका बैंक, वित्तीय संस्था र व्यापारिक पसल अगाडि सवारी साधनको अनियन्त्रित भीडले पैदल हिड्न सकस भएको स्थानीय महेन्द्र विष्टले बताए।

सडक छेउमा राखिने साना सवारी साधनले सडक जाम हुने गरेको उनी बताउँछन्। ‘यहाँ ठूला सवारी साधन चल्दा जाम हुन्छ,’ उनले भने, ‘सरोकारवाला निकायले पार्किङ स्थलको व्यवस्था नर्गदा सर्वसधारणले समस्या भोग्नु परेको छ।’ बजारका साँघुरा गल्लीहरूमा दुवैतर्फ जथाभावी सवारी साधन रोक्दा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसी बताउँछन्।

सवारी साधनको उचित व्यवस्थापनका लागि बजार क्षेत्रमा पार्किङ स्थल नहुँदा जथाभावी पार्किङ हुने गरेको उनको भनाई छ । ‘महेन्द्रनगर बजारको फ्रि लाइन र क्याम्पस रोडमा पार्किङको बढी समस्या छ,’ उनले भने,‘यहाँ वित्तीय तथा बैंकिङ संघ संस्थासमेत रहेकाले पनि जथाभावी पार्किङ हुने गर्दछ ।’ पछिल्लो समय भीमदत्त नगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक केसीले बताए । बजार क्षेत्रमा रहेका बैंकहरूलाई आफ्ना ग्राहकका सवारी साधानका लागि पार्किङ स्थल बनाउन आग्रह गरेकोले सो व्यवस्था नगरेमा कडाइका साथ अगाडि बढ्ने उनले जनाए । बजारछेउमै पार्किङ स्थल निर्माणसँगै ठूला सवारी साधनलाई निश्चित समयावधि तोकेर मात्रै बजार प्रवेश गर्ने व्यवस्था हुनुपर्ने प्रहरी निरीक्षक केसी बताउँछन्।

‘बजार क्षेत्र आसपास पार्किङ स्थल निर्माणका लागि भीमदत्त नगरपालिकासँग आग्रह गरेका छौं,’उनले भने,‘सवारी साधनको उचित व्यवस्थापनका लागि चाँडै पार्किङ स्थल बनाउने नगरपालिकाले जनाएको छ ।’

भीमदत्त नगरपालिकाले भने तत्काल पार्किङ स्थल निर्माणभन्दा पनि भित्री गल्लीहरूलाई ढलसँगै पार्किङस्थलका रूपमा व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ । ‘तत्काल पार्किङस्थल निर्माणको कुनै योजना छैन,’ भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘मुख्य गल्लीलाई चौडा बनाएर किनमेलसँगै भित्री गल्ली व्यवस्थापन गरेर पार्किङ गर्न सक्ने गरी काम अघि बढेको छ ।’ भित्री गल्लीहरू व्यवस्थापन भए पार्किङको समस्या समाधान हुने नगरपालिकाले जनाएको छ। महेन्द्रनगर बजारमा ५ वटा मुख्य गल्ली छन् । यसैगरी पूर्वपश्चिम राजमार्गसँग जोडिएका महेन्द्रनगर, दैजी, झलारी, बाणी, गुलरिया लगायतका बजार समेत जथाभावी पार्किङले अस्तव्यस्त बनेका छन्।

सडक अतिक्रमण हटाउन शुरु
भीमदत्त नगरपालिका–४ र ६ स्थित बसपार्क छेउको पूर्वपश्चिम राजमार्ग सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरिएको छ । सडक चौडा र नाला निर्माणका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले आइतबारदेखि सडक अतिक्रमण गरेर बनेका संरचना हटाउन शुरु गरेको हो।
सडक मिचेर बनेका खोकाछाप्रा, जथाभावी रुपमा राखिएका निर्माण समाग्री हटाउन थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बलमे बताए । उनले सकडको केन्द्र भागबाट २५/२५ मिटर दायाँबायाँ सडकमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।

Facebook Comments