वातावरणीय सन्तुलनमा भूमिराजकाे प्रयास , निजी वनदेखि कृषिमा लगानी

बर्दिया–मधुवन नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन भूमिराज शर्मा। उमेरले ६२ वसन्त काटीसकेका उनको जाँगर भने अझै जवान छ। दश कट्टा जमिनमा भुमिराजको निजी वन फैलिएको छ। उनले यहाँ सगुन र लिप्टीस हुर्काएका छन्। भुमिराजको यो प्रयासले पर्यावरणीय सन्तुलनमा पनि सघाएको छ। अर्कोतर्फ भविष्यका लागि राम्रो आम्दानीको स्रोत हुने छ।

‘बोट बिरुवाहरूले सबैलाई स्वच्छ हावा दिन्छ । जलवायु परिवर्तन हुँदैछ । त्यसबाट सुरक्षित पनि हुने, आफूलाई र छिमेकीलाई पनि स्वच्छ हावा हुने र पन्ध्र बिस वर्षमा आफूलाई पनि फाइदा हुने भएकाले मैले निजी वन तयार गरेको हु,’उनले भने।

पछिल्लो तीन वर्षदेखि भुमिराज माछापालनमा पनि कस्सिएका छन्। माछा पाल्न तीन वटा पोखरी बनाएका छन्। उनको माछा पोखरीमा रहु, नैनी, कमन कार्प, ग्रास कार्प र सिल्भर गरी पाँच प्रजातिका माछा हुर्किँदै छन्। आम्दानी राम्रो हुने सोचले उनी माछा पालनमा जुटेका हुन्।

‘अहिले नभए अर्को साल होला । तर, माछामा धान खेती, गहुँ खेती जस्तो दुःख भएन। माछामा त एक पटक पोखरी खनाउनुपर्‍यो । वर्षको दुई पटक माछाका भुराहरू ल्याएर हाल्नु पर्‍यो। माछाका भुरा पनि कृषि शाखाले अनुदानमा दिएको छ। खेती भन्दा माछा व्यवसायबाट फाइदा हुने भएकाले मैले माछा व्यवसाय सुरु गरेको हो,’ शर्माले भने।

भुमिराजको व्यावसायिक कर्म माछा पालनमा मात्र सिमित छैन। घर छेउमै केरा बारी पनि हुर्काएका छन्। यसले उनको आर्थिक उपार्जनमा सहयोग पुगेको छ । भूमिराजले सुरु गरेको केरा खेतीको कथा चाख लाग्दो छ। विगतमा उनी यही जमिनमा प्रशस्त अन्नबाली फलाउँथे। समय बद्लिँदै गयो । उत्पादन पनि सोचेजस्तो हुन सकेन । अर्को तर्फ खेतीबाली लगाउन चाहिने खेतालाहरू पाउनै मुस्किल हुन थाल्यो । परिणाम जमिन बाँझै छोड्नु पर्ने अवस्था आयो। उनले विकल्प रोजे । अनि केरा खेतीलाई बढवा दिए।

‘मेरो प्लान अब जग्गा त बाँझै राख्नु भएन केही न केही त गर्नु पर्‍यो । लौ त अब केरा खेती गरौँ भनेर मैले यस प्रति ध्यान दिएको छु,’शर्माले भने।

भुमिराजको व्यावसायिक कर्म नै केरा खेतीबाट सुरु भएको हो । उनले ६ कट्टा जमिनबाट केरा खेती सुरु गरे । उनी विगत १४ वर्षदेखि केरा खेती गर्दै आएका छन्। भुमिराजले केरा फलाउन कहिल्यै रासायनिक विषादी प्रयोग गरेनन्। बरु जैविक मल प्रयोग गर्छन् । रासायनिक विषादीले पार्ने असरबारे चिन्तित छन्। त्यसैले उनी अर्गानिक उत्पादनलाई नै महत्त्व दिन्छन्।

‘मैले विषादी र एउटा केमिकल युरिया, डिएपी, पोटास त्यस्तो केही प्रयोग गर्दैन । अर्गानिक खेती गर्छु। अर्गानिक खेती गर्दाखेरी मान्छेहरू चिल्लो केरा मात्र मन पराउने जुन अर्गानिक केरालाई मन नपराउने हुन्छन् । मैले पाकेको ६० रुपैयाँ र काँचो ४० रुपैयाँमा स्थानीय व्यापारीहरूलाई दिन्छु,’शर्माले भने।

भुमिराज शर्मा भुलवा भटेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। शर्माले वडा स्तरीय पशुपालन समितिमा सचिवको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। त्यसै गरी नगर कृषि समन्वय समितिका उपाध्यक्ष समेत हुन। त्यसैले उनी संरक्षणबारे सचेत छन्। उनले केरा लगायतका बिरुवा हुर्काउन गोठे मल नै प्रयोग गर्छन्। मलका लागि पशु चौपाया पालेका छन्। पशुचौपायालाई चाहिने घाँसपात पनि घर वरिपरि नै तयार पारेका छन्।

‘मैले डाले घाँसहरू रोपेको छु । घाँस प्रशस्त छ । दश बाह्र वटा बाख्रालाई मलाई जङ्गल जान परेन । एउटा साइडमा काट्दा काट्दै अर्को ठाउँमा पलाइ हाल्छ । मलाई जनावर पाल्न जङ्गल जानु पर्दैन,’उनले भने।

सुर्यपटुवाका स्थानीयले वर्षेनी जंगली जनावरको त्रास भोग्दै आएका छन्। यो गाउँको वरिपरि जङ्गल छ । बर्दिया राष्ट्रिय निकुञ्ज पनि नजिकै पर्छ । निकुञ्जका वन्यजन्तु गाउँमा सहजै आवतजावत गर्छन्। वन्यजन्तुले स्थानीयको खेतीबाली प्राय हरेक वर्ष नष्ट गर्छन् । त्यसैले भूमिराजले वन्यजन्तुले असर गर्न नसक्ने जडीबुटी खेती गरेका छन्। उनले कुरिलो खेती गरेका छन्। कुरिलो खेतीलाई जंगली जनावरले असर गर्दैन । कुरिलो खेती आम्दानीका हिसाबले पनि राम्रो छ ।

‘राष्ट्रिय निकुञ्ज नजिक भएको हुनाले यहाँ जंगली जनावरहरू थुप्रै खेतीबालीमा प्रवेश गर्छन् । त्यसको लागि पनि हो । अनि नर्सरी भित्र टाढा टाढा बोट लगाए पनि बिचमा खाली भएको हुनाले कुरिलो लगाए पछि कुरिलोको जराहरू औषधीमा प्रयोग हुन्छ । मैले यसको परिणाम चार वर्ष पछि प्राप्त गर्न सक्छु,’उनले भने ।

घर परिवारको सुख र खुसी खोज्न परदेश भासिने युवाको कमी छैन। तर, गर्न सके देशकै माटोमा पनि पैसा छ भन्ने तथ्य भुमिराजको कर्मले देखाएको छ। मनमा जोस जाँगर भए, काम गर्नलाई उमेरले छेक्दैन भन्ने उदाहरण हुन् शर्मा।

Facebook Comments