चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते

काठमाडौँ– चालू आर्थिक वर्ष (२०७६/७७) को तीन महिनामा वन्यजन्तुको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट एक गरी तीन जनाको मृत्यु भएको हो।

यसैगरी वन्यजन्तुको आक्रमणबाट सात जना सख्त घाइते, तीन जना सामान्य घाइते र तीन सय ३३ पशुधनको क्षति भएको तथ्याङ्क छ।

वन्यजन्तुको आक्रमण तथा क्षतिका लागि चालू आवमा विभागले हालसम्म जम्मा एक करोड, पाँच लाख ३७ हजार ५ सय ३० राहत वितरण गरिसकेको विभागले जनाएको छ। बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जङ्गली ब्वाँसो, जङ्गली कुुकुर, भालु, हिउँ चितुवालगायत वन्यजन्तुबाट संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो।

त्यस्तै गत आव २०७५/६६ मा मुलुकभर वन्यजन्तुको आक्रमणबाट ३० जनाको मुत्यु भएको थियो। जसमध्ये हात्तीबाट १५, गैँडाबाट दुई, बाघबाट चार, चितुवाबाट छ, जङ्गली कुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक/एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ।

उक्त अवधिमा वन्यजन्तुबाट १ सय १८ जना सख्त घाइते र १९ जना सामान्य घाइते भएका थिए भने एक हजार ५ सय ९३ पशुधनको क्षति भएको थियो। सो अवधिमा विभागले वन्यजन्तुबाट भएको क्षतिमा कूल आठ करोड ९० लाख ८४ हजार राहत वितरण गरेको विभागले जनाएको छ।

आव २०७३/७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जना मानिसको मृत्यु भएको थियो भने आव २०७४/७५ मा करीब एक दर्जन व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ।

वन्यजन्तुको आक्रमणबाट मुत्यु भएका व्यक्तिका परिवारलाई १० लाख, सामान्य घाइते भएकालाई बढीमा २० हजार र सख्त घाइते भएका व्यक्तिलाई दुई लाखसम्म राहत दिनुपर्ने कानूनी प्रावधान छ।

सख्त घाइतेको हकमा दुई लाखले अपुग भएमा उपचारको सम्पूर्ण खर्च विभागले व्यहोर्ने तर उपचार भने सरकारी अस्पतालमा हुनुपर्ने व्यवस्था छ।

यसैगरी क्षतिको कृषि बाली क्षतिका सम्बन्धमा बढीमा १० हजार (एक मौसममा दुई पटकसम्म), पशुधनको क्षतिमा प्रति ठूला जनावर (गाई, गोरु, भैँसी) को मृत्यु भएमा ३० हजार र अन्य साना जनावरको हकमा १० राहतस्वरुप दिने गरिएको छ। अन्न भण्डारण क्षति भएमा र घरगोठ क्षति भएमा बढीमा १० हजार राहत दिने व्यवस्था रहेको छ।

Facebook Comments