चितुवा नियन्त्रणका लागि ३० लाख बजेट विनियोजन

तनहुँ– तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले  ३० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ । चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रम लगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँले जानकारी दिएको छ ।

बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई नियन्त्रणमा लिन ‘विशेष सुरक्षा दस्ता’ उक्त क्षेत्रमा परिचालन भएको छ । डिभिजन वन प्रमुख बरालका अनुसार कार्यालयबाट चार, नेपाल प्रहरीबाट चार र सशस्त्र प्रहरीबाट ११ जनाको विशेष सुरक्षा दस्ता चितुवा नियन्त्रणका लागि खटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्ने समेतको अधिकार प्रदान गरेको छ । विशेष सुरक्षा गस्तीका अलवा चितुवा नियन्त्रणका लागि भानुका सामुदायिक वनमा नौ वटा काठका खोर राखिएको छ । उक्त खोरमा परेर दुई वटा चितुवा नियन्त्रणमा आए पनि त्यस क्षेत्रमा थुप्रै चितुवा रहेको अनुमान गरिएको छ ।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

Facebook Comments