काकाकूल कोइलावास

दाङ– मध्य वर्षा। बल्लतल्ल केही कुवामा पानी रसाएको छ। तीन महिना यो कुवाको पानीले प्यास मेटाउन पुग्छ। तर, बाँकी ९ महिना उही भारतीय एसएसबीको क्याम्पमा रहेको धारामा पुग्नु पर्ने बाध्यता। यसरी पानीको लागी कोइलावासका नागरिकले दुःख भोग्नु परेको एक दशक हुनै लाग्यो । त्यो भन्दा अगाडी कोइलावासमा पानीको दुःख थिएन।

एक समय थियो, बजारभरि इनार थिए, आँगनमै खोलाको ‘कलकल’ आवाजले बजारको रौनक अझैँ बढ्थ्यो। कोइलावासमा खोला छ तर, पानी छैन। कोइलावास खोला चार मिटर गहिरिइसकेको छ, हेर्दा खोलाको पिँध नै भेटाउन मुश्किल हुन्छ।

कारण हो, खोलाको अनियन्त्रित उत्खनन्। यो उत्खनन् आज भन्दा झण्डै १६ वर्ष अघि गरिएको हो।

तत्कालीन जिल्ला विकास समितिले लगाएको ठेक्का मार्फत कोइलावास खोलामा भएका ढुङ्गा र बालुवा भारत निकासी गरे। यहाँबाट निकालिएको ढुंगा र बालुवा कानपुर सम्मको रेवले स्टेसन निर्माण गर्नको लागी प्रयोग गर्न लगिन्थ्यो। अनियन्त्रीत रुपले ढुंगा उत्खनन हुदा नियन्त्रण गर्ने कोही भएन।

कोइलावास ‘विस्थापित’ भइसकेको थियो। नाका खुल्ला थियो। त्यो अनियन्त्रित उत्खनन्ले खोला गहिँरिदै गयो। खोलामा पानी सुक्यो। जमीन खुख्खा भए। भएका इनारहरु पनि सुक्दै गए। इनारमात्रै रहे, भित्रको पानी सुक्यो। अहिले ती इनारभरि झारमात्रै छन्, पानी छैन।

कोइलावास ‘विस्थापित’ भएपछि पनि केही कोइलावासवासीहरुमा झिनो आशा थियो ‘कोइलावास फेरि बन्नेछ।’ त्यही आशा राख्नेहरु त्यहाँ बसे।

तर, जीवन बाँच्न पानी त चाहियो नि ?

दशगजामै क्याम्प बाँधेको भारतीय एसएसबीले आठ बर्ष अघी चार सय फिट गहिरो बोरिङ धस्यो। त्यही समयमा नेपाल सरकारले कोइलावासमा खानेपानीको लागी भूमिगत पानी निकाल्न बजेट बिनियोजन नगर्दा बोरिङ्ग धस्न सकिएन।

तर, भारतीय भूमिमा बिजुली छैन, कोइलावासमा छ। अनि सुरु भयो ‘एक्सेचेन्ज’ अफर, ‘एसएसबीले कोइलावासबाट बिजुली लैजाने र, कोइलावासवासीलाई भारतीय भूमिको बोरिङबाट पानी दिने।’

कोइलावासमा रहेको भारतीय सिमा सुरक्षा वल एसएसबीका प्रहरी निरिक्षक एलएस मिनाले पानीले नेपाल र भारत बिचमा सम्वन्ध राम्रो बनाएको बातए। ‘पानी दिदा खुसी प्राप्त हुन्छ’ उनले भने–‘हाम्रो तर्फ चार सय फिट गहिरो बोरिंगको पानी छ । यहाँको पानी नेपाल जान्छ । अनि नेपालको बिजुली हामीलाई प्राप्त भएको छ।’

मासिक एक हजार भन्दा बढीको विल उठ्ने गरेको छ। एसएसवीले धेरै जसो जेनेरेटर चलाउने हुदा विजुलीको विल कम उठ्छ। विजुलीको विल भन्दा धेरै पानी नेपालीले उपभोग गर्ने गरेको वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए।

कोइलावासमा खानेपानीको संकट निम्तिएछी हरेक बर्ष झैं गाविस र जिल्ला विकास समितिबाट बजेट आएपनी त्यसको सदुपयोग नहुदा पानीको समस्या जस्ताको त्यस्तै रहन पुग्यो। ‘कुवामा पानी सुकेपछी धारा मार्फत पानी ल्याउने योजना भयो। बोक्सरेबाट पानी त आयो तर, धेरै समय टिकेन’गढवा गाउँपालिका वडा नं. ८ कोइलावासका वडा अध्यक्ष सद्धाम सिद्धिकीले भने–‘हरेक बर्ष १०/१५ लाख बजेट खानेपानीका लागी भनेर आथ्यो। त्यो बजेट धाराको लागी पाईप खन्दै र पुर्दैमा सकियो।’

स्थानिय सरकार गठन भएपछी कोइलावासमा नेपाली भूमिबाटै निस्किएको पानी खुवाउने योजनाका साथ काम अघी बढाइएको छ। एक सय ७५ मिटर गहिराईबाट निस्किएको पानी वितरणको योजना छ। कोइलावास बजारमै खानेपानीको लागी डिप बोरिङ्ग धसिएको हो। प्रदेश सरकार अन्तरगत खानेपानी डिभिजन कार्यालयको बजेट बाट खानेपानीको काम भैरहेको हो।

पानी दुःख
दाङको गढवा गाउँपालिका वडा नं. ८ कोईलावासमा बर्षौं अघि खनिएका ईनारमा पानी सुकेको डेढ दशक भैसक्यो। ईनारमा पानी सुकेपछी खानेपानीको लागी ०६५ सालमा धारा जडान गरियो। बोक्सरे भन्ने ठाउँमा पाँच बर्ष अघि देखी पानीको मुहान क्रमिक रुपले सुक्दै गयो। त्यसपछी कोइलावासको धारामा पानी आउनै छोड्यो । एक सय २० घर धुरी रहेको कोइलावास बजारका नागरिक खानेपानीको लागी छिमेकी भारतमा भरपर्नु परेको छ।

‘पानी सुक्यो भने त हामी सबै एसएबी क्याम्पमा जाने हो। त्यो भन्दा माथी त पाउदै पाउदैन्‘स्थानिय कमला केसीले भनिन्–‘पहिले पहिले त २० रुपैयाँ डिब्वा पानी भराएर गाडीमा ल्याएर आउथिम जरुवा देखी। अहिले एसएवीले दिन्छ।’

कोइलावासमा सिमा सुरक्षाको लागी नेपाल शसस्त्र प्रहरी वलको पोष्ट छ। सुरक्षामा खटिएका प्रहरीले एसएसबीले दिएको पानी खाने गरेका छन्। ‘हाम्लाई भन्दा बढी जनताहरुलाई समस्या भएको देखिन्छ। चैत बैशाखमा पानीको निकै अभाव हुने भएको हुनाले जनताले निकै दुःख पाउनु भएको छ’शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय कोइलावासका प्रहरी निरिक्षक ईश्वर खनालले भने,‘हामीले त एसएसवी संग समन्वय गरेर तै बिषेक प्रयाप्त नभएपनी कमै मात्र भएपनि खानलाई चाँही पुगेको छ।’ शसस्त्र प्रहरीको गेट बाटै स्थानियहरु पानी लिन भारतीय सिमा सुरक्षा वलको क्याम्पमा जाने गर्छन् ।‘हाम्रै गेट अघीबाट नेपाली दाजु भाई दिदिबहिनुहरु ग्यालेन बोकेर एसएसबी क्याम्पमा जानुहुन्छ। शुद्ध खानेपानीको लागी भरेर आउनुहुन्छ। हाम्ले देख्छौं। हामीलाई नै दुःख लाग्छ। के गर्नु हामी पनि पानी ईण्डियाबाट लिएर खाएका छौं।’

कुवा सुकेपछी खोलामा खाडल खनेर त्यहाँ जम्मा भएको पानी स्थानियले खाने गरेका थिए। जर्किन, गाग्रीको मद्धतले यहाँका नागरिकले हरेक दिन पानी ल्याउने गरे।

पानी सुक्नुको कारण यस्तो
पूर्व पश्चिम राजमार्ग नखुल्दैदेखि दाङको कोइलावास चिनिन थालेको हो। त्यही बेलादेखि कोइलाबासको वेग्लै पहिचान थियो। दाङको माथिल्लोभेग तथा अन्य पहाडि गाउँबाट नुन–तेल किन्न आउने बजार थियो, कोइलावास। यो यस क्षेत्रको चर्चित नाकाकै रुपमा परिचित थियो। भारतको बलरामपुर जिल्लाको जरुवा सिमानामा पर्ने कोइलाबासको जनसंख्या ११ सय ९७ छ। स्थानीय तह पुनसंरचना हुनुअघिसम्म कोइलाबास एउटा सिंगो गाविस थियो। तर अहिले यो गढवा गाउँपालिका वडा नं. ८ मा पर्छ । जहाँ पुग्नलाई तुलसीपुरबाट मुस्किलले अहिले दैनिक एउटा बस चल्छ।

स्थानिय ६० बर्षिय सई सिद्धिकीले कोइलावासको कुवामा पानी सुक्नुको कारण कोइलावास खोलामा ढुंगा उत्खनन रहेको बताए।

‘ढुंगाको काम गर्ने बेला ठेकेदारहरु ढुंगा सबै निकालेर लगीसके। कुवाको लेवल माथितिर भैगो। सोता तलतिर भैगो। पानी छैन्’सिद्धिकीले भने–‘१४–१५ वटा कुवा छ । ढुंगा निकाल्ने बेला खोलाको लेबिल तल तिर गैगो। झन गड्डा हुँदै गयो। कुवाको पानी खोलै तिर बग्न थाल्यो।’

स्थानीय बासिन्दाका अनुसार मनपरी रुपमा ढुंगा गिटी उठाउन थालिएपछी भुमिगत पानी सुक्न थालेको हो। कोईलावास खोलामा पानी बग्दासम्म त्यहाँका ईनारमा प्रशस्त पानी आउथ्यो। यही क्रममा कोइलावास खोलामा बनाईएको बाँध भत्कियो। तत्कालिन जिल्ला विकास समिति मार्फत ठेक्का लगाइएको थियो। २०६२ देखी ०६६ सम्म मनपरी रुपमा ढुंगा उत्खनन् गरेर भारत निकासी गरियो। त्यसपछी खोलाको सतह घट्यो। ईनारको गहिराई भन्दा खोलाको गहिराई धेरै भएपछी पानीको सतह घट्न पुग्यो। त्यसपछी कोइलावासमा पानीको संकट पर्न गएको बुझाई कोलाावास घर भएका जावेद अहमद सिद्धिकीको छ। ‘जव खोलाबाट ढुंगा निकासा भयो। खोला भैगो डाउन। डाउन हुदा कुवा सबै सुक्यो’उनले भने–‘पानीको सबै भन्दा समस्या अहिले कोइलावासमा छ। मान्छे यहाँ देखी ५ किलोमिटर पर ईण्डिया गएर ल्याउने गर्छन्।

खानेपानीको संकट बढ्दै गएपछी खानेपानी तथा सरसफाई डिभिजन र भूमिगत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको पहलमा ६ ठाउँ डिप बोरिंग खनिएको छ। तर, पानी आएन्। सातौं पटक एक सय ७५ मिटर गहिरो डिप मोरिंग खन्दा मुस्किलले पानी भेटिएको छ। मुस्किलले भेटिएको पानीलाई ट्यांकी मार्फत स्थानियलाई वितरण गर्ने तयारी भैरहेको गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकिले बताए।

‘पाँच छ महिना पहिला यहाँ डिप बोरिंग गरेका हौं। अहिले हाम्लाई यो ठाउँ हेरेर प्रसस्त पुग्नेजती पानी बोरिंगमा पाएका छौं’ उनले भने–‘सप्लाईको लागी हामी संग बजेट नभएको कारणले गत बर्ष त्यस्को काम गर्न सकेनौं। अहिले स्टिमेट आईसक्यो । खानेपानीको यहाँ समिति छ। उ पनि एक्दमै सकृय छ। खानेपानी टंकी निर्माणको काम सकिएको छ।’

कोइलावासमा पानी पु¥याउन प्रदेश सरकारबाट योजना परेको हो। ‘अहिले सम्म ६० लाख जती खर्च भैसकेको छ। लास्ट सम्म कती खर्च हुन्छ । त्यतीबेला कती खर्च भयो भनेर थाहा हुन्छ’खानेपानी डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले भने–‘तीन चार महिनाको बिचमा पानी वितरण गर्ने योजना छ ।’

भूमिगत पानीको संकट कोइलावासमा मात्रै छैन्। अहिले दाङको माथिल्लो क्षेत्रमा चुलिदै गएको छ। नदी किनार भन्दा टाढाका बस्तीमा भूमिगत पानी गहिरिदै गएको छ। गर्मि शुरु नुहदै कुवाको पानी सकिदै जानु, मुहानहरु सुक्दै जानु यसका प्रत्यक्ष देखिएका प्रभावहरू हुन्।

भूमिगत पानीका मुहान सुक्नुमा तराई क्षेत्रमा भएको चुरे दोहन पनि कारक भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका डि विपिन ठाकुरले बताए। ‘भूमिगत पानी सुक्नुको धेरै कारण मध्य एउटा कारण चुरे दोहन हो’उनले भने–‘जमिन माथीबाट जती धेरै पानी जमिन मुनी गयो, उतीनै भूमिगत पानी बढ्ने हो। चुरे दोहनले जमिनमुनी पानी जान बाट रोक्यो।’

चुरे बिनास हुदा ठूला चिराहरु पुरिने, छिद्रा परेका ढुंगा, चट्टानहरु नासिने हुदा पानी जमिन मुनी जान बाट रोकिन्छ। जसले गर्दा भूमिगत पानीको स्रोतमा अवरोध हुदा पानीको संकट उत्पन्न हुने गरेको ठाकुरले बताए। उनका अनुसार कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ। चुरे नासिदै जाँदा भूमिगत जलको संकट उत्पन्न हुदै गएका संकेतहरु देखिन थालेका छन्। यती मात्रै होइन परम्परागत पोखरी, सिमसार क्षेत्र नासिदै जाँदा भूमिगत पानीको संकट देखिन थालेको हो।

सुस्त सर्भे
काठमाण्डौं उपत्यकामा भूमिगत पानीको अवस्थाको वारेमा अध्ययन गरिएको पाइएपनि देशका अन्य भागमा भने यस बारेमा विस्तृत अध्ययन गरेको पाइएको छैन्। तर, काठमाडौंमा गरिएको सर्भेले भूमिगत पानीको अवस्था कमजोर हुदै गएको देखाएको छ। स्यालो ट्यूवेल प्रोजेक्ट हुदा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट भूमिगत पानीको अवस्था जाँच गर्न सर्भे गर्ने कार्यक्रम थियो। तर, अहिले स्थानिय सरकार बनिसकेपछी सर्भेको काम ठप्प जस्तै छ। तराई क्षेत्रको भूमिगत पानी घटेको भएपनि त्यस बारेमा वृहत अध्ययन हुन सकेको छैन्।

‘दाङ अथवा तराईकै भूमिगत पानी कती लेबलमा घट्यो भनेर भन्न सक्ने अवस्था छैन्’डिभिजन खानेपानी कार्यालय दाङका प्रमुख गुणनिधी पोख्रेलले भने–‘पहिले पानी भएका तर, अहिले पानी नभएका कुवाहरु भने गाउँ घरमा भेटीएका छन् । यसको अर्थ के हो भने जमिन मुनीको पानी घट्दो क्रममा छ ।’

भूमिगत जलस्रोत विकास समितिले काठमाण्डौं उपत्यककाको दुई ठाउँमा पानीको सतहको अध्ययन गरेको हो। जस मध्य काठमाडौको कीर्तिपुर टौदह र ललितपुरको लभुमा गरेको अध्ययन अनुसार पानीको सतह घटेको तथ्याङ्क छ। सन् २००१ मा कीर्तिपुर ८ टौदह क्षेत्रमा अध्ययन गरेको थियो।

भूमिगत पानीको संरक्षण जरुरी
भूमिगत पानीको संरक्षण आवश्यक छ। अन्य पानीको मुहानहरुको संरक्षण गरे जस्तै जमिनमुनीको पानीको पनि संरक्षण आवश्यक रहेको जल बैज्ञानिक देवकुमार स्याङवोले बताए। उनका अनुसार रिचार्ज पोखरी निर्माण गर्ने, पानीको पुर्नभरण हुने ठाउँ जस्तै सिमसार क्षेत्र, चिरा, छिद्र परेका ठाउँहरुको संरक्षण गरे भूमिगत पानी जोगिन सक्छ।

‘आकाशको पानीलाई रोकेर जमिन मुनि अधिकतम भन्दा अधिकतम समय सम्म छिर्न दिनुपर्छ। त्यसका लागी रिचार्ज पोखरी बनाउने, सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ’उनले भने–‘पानीको पुर्नभरण हुने चुरे पहाडलाई जोगाई राख्नुपर्छ।’

यती मात्रै होइन भूमिगत पानीको संरक्षणको लागी फोहर मैला व्यवस्थापन पनि प्रमुख सवाल रहेको उनले बताए ।

‘हाम्रो शहरीकरण बिस्तार हुदै गएपछाडी अहिले जसरी फोहर मैलाको व्यवस्थापन भैरहेको छ। यसमा कुहिने पनि छ। न कुहिने पनि छ। दिर्घकालीन हाम्रो स्वास्थ्यलाई असर पार्ने तत्वहरु पनि छ’उनले भने–‘त्यो फोहर मैलालाई डिस्पोज गर्दा खेरी चाही जमिन मुनीको पानी संग नजोडिने तरिकाले त्यसको व्यवस्थापन गर्नुप¥यो।’

भूमिगत पानी निकाल्न अव्यवस्थीत ट्यूवेल गाड्ने गरिएको छ। यो पनि एउटा चुनौती हो। ‘अव्यवस्थीत तरिकाले ट्यूवेल संरचना निर्माण गर्ने काम लाई नियमन गर्नुप¥यो’ उनले भने–‘जसले पनि ट्युवेल गाड्न नपाउनेगरी कानुन बनाएर एक ठाउँबाट मात्रै काम गर्ने बातावरण मिलाउनु पर्छ।’

खानेपानी तथा ढल व्यवस्थापन विभागका डि विपिन ठाकुरले भूमिगत पानीको संरक्षणको लागी नेपाल सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने सुझाव उनले दिए। पुराना पोखरी, सिमसार क्षेत्र, छिद्र परेका ठाउँहरु मासेर संरचना बनाउन रोक लगाउनु पर्ने र ती क्षेत्रको संरक्षण गर्नुपर्ने बताए।

‘दीनप्रतिदिन भूमिगत पानी तल गैरहेको अवस्था छ’उनले भने–‘पानीको लेवल कसरी म्यानेज गर्ने भनेर विस्तृत कार्यक्रम आएको छैन्। विस्तृत कार्यक्रम भित्र भूमिगत पानीलाई जोगाउन गरिने कृयाकलपाहरु समावेश हुनैपर्छ।’

तराईमा राकिलो भुभागमा पानी बगाइदिने, खाल्डो वा पोखरी निर्माण गरेर पानी जम्मा गरिदिने विधि प्रयोग गर्नसकिन्छ। खोल्साहरुमा चेकड्याम बनाउदा पानी पुर्नभरण हुन्छ। भीरहरुमा पानी छिटो बगेर जान नदिई रोक्ने विधि अपनाउनुपर्छ। यसका साथै घरको छतमा जम्मा हुने पानी संकलन गरेर जमिन मुनि पठाउने प्रविधि तयार पार्न स्थानिय तहले नीति बनाउन आवश्यक रहेको उनले सुझाव दिए।

Facebook Comments