मेलम्चीको गाँठो फुक्यो, पानी आइपुग्ने नयाँ डेडलाइन असार मसान्त

बुधबार, कार्तिक २०, २०७६

काठमाडौँ– ११ महिनाको विवाद र अनिश्चयको अन्त्यसँगै मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अगाडि बढेको छ।

काम अगाडि बढेसँगै आगामी असार मसान्त भित्र मेलम्चीको खानेपानी काठमाडौँमा वितरण हुने दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यद्यपी काममा फेरी अवरोध आउँदैन भन्ने ग्यारेन्टी भने छैन्।

हाकाहाकीसँग कुरा गर्दै खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले मेलम्ची खानेपानी आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै अबको मुख्य काम डाइभर्सन भएको बताए ।

‘सिनो हाइड्रोले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायत काम गर्नेछ,’ उनले भने ।

सुरुङ मार्गको निर्माणको एक किलोमिटरको काम मात्रै बाँकी रहेकोमा हेडबक्सको काम भने बल्ल शुरु गरिएको उनी बताउँछन् । त्यस्तै प्रशोधन केन्द्रको पनि ५ प्रतिशत काम मात्रै बाँकी रहेको उनले बताए ।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सिएमसीले गत २९ मंसिरदेखि काम छाडेपछि काम ठप्प भएको थियो । सिएमसीले काम छोडेर गएपछि बाँकी काम सक्न पुनः टेण्डर आवाहन गरियो । आयोजनाको बाँकी काम सम्पन्न गर्न दुई भागमा विभाजन गरिएको थियो। दुवै टेण्डर सिनोहाइड्रोले नै पाएको छ।

सिनोहाइड्रोसँग सुरुङ फिनिसिङको ठेक्का सम्झौता गत १२ असोजमा भएको थियो भने असोज अन्तिम साता सिनोहाइड्रोसँगै हेडबक्स निर्माणको समेत ठेक्का सम्झौता भएको हो।

सम्झौताअनुसार सुरुङ फिनिसिङको काम १२ महिनामा सक्नुपर्नेछ। त्यसैगरी हेडबक्स निर्माणको ठेक्का कम्पनीले एक अर्ब दुई करोडमा लिएको हो। हेडबक्स निर्माणको काम कम्पनी १५ महिनामा सक्नुपर्नेछ। सिनो हाइड्रोले ठेक्का सम्झौताअघि नै काम सके बोनस पाउने सम्झौता भएको छ।

Facebook Comments