कैलाली र कञ्चनपुरका १ सय ६४ खानेपानी योजना अलपत्र, ८५ प्रतिशत नागरिक पहुँच बाहिर

महेन्द्रनगर – कैलाली र कञ्चनपुरमा निर्माणधीन १ सय ६४ खानेपानीका आयोजना अलपत्र परेका छन्। बजेट अभाव भएपछि खानेपानीका आयोजना अलपत्र परेका हुन्।

सरकारले कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०६४/०६५ सालयता सञ्चालन गरेका खानेपानीका योजना सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख मोहनबहादुर कुँवर बताउँछन्।

‘बजेट अभाव हुँदा १ दशक अघि शुरु गरिएका खानेपानी आयोजना अहिलेसम्म सम्पन्न हुन सकेका छैनन्,’ उनले भने,‘आर्थिक वर्ष २०६४/०६५ मा सञ्चालन गरिएका योजना मध्ये अहिलेसम्म १ योजना मात्र सम्पन्न भएको छ ।’ सरकारले वार्षिक रुपमा कुल लागतको २३ प्रतिशत मात्रै बजेट विनियोजन गर्ने गरेका कारण खानेपानीका योजना सम्पन्न गर्न नसकिएको कुँवरको भनाई छ।

भीमदत्त नगरपालिका–१८ शुभकामना टोलमा निर्माणाधीन भगतपुर निम्बुखेडा खानेपानी आयोजना । २०७० सालमा निर्माण सुरु गरिएको आयोजना बजेट अभाव हुँदा अझै सम्पन्न हुन सकेको छैन्। तस्बिर : हाेम याेगी

उनका अनुसार सरकारले कैलाली र कञ्चनपुरका ७० प्रतिशत नागरिकलाई मध्यम तथा उच्च गुणस्तरको खानेपानीमा पहुँच पुर्‍याउने उद्देश्यका साथ खानेपानीका आयोजना शुरु गरेको थियो। ‘कैलाली र कञ्चनपुरका ८५ प्रतिशत नागरिक सरकारी मापण्डको खानेपानीको पहुँच बाहिर छन्,’उनले भने, ‘ती मध्ये ७० प्रतिशत नागरिकलाई खानेपानीको व्यवस्था गर्ने लक्ष्य सरकारको थियो।’

स्थानीय उपभोक्ताको सहयोग र बजेट पर्याप्त भए खानेपानीका योजना ३ वर्षभित्र सम्पन्न गर्न सकिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख कुँवर बताउँछन्। कैलाली र कञ्चनपुरमा निर्माणधीन खानेपानीका आयोजना सम्पन्न भएपछि यहाँका ७० प्रतिशत नागरिकले सरकारी मापदण्डको पानी प्रयोग गर्न पाउने उनको भनाई छ।

संघीय सरकारले आफ्नो मातहतमा राखेका १ सय ६५ योजना गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशलाई हस्तान्तरण गरेको थियो । गत वर्ष १ योजना सम्पन्न भएको थियो। प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानीका योजना मध्ये चालु आर्थिक वर्षमा ३१ योजना संघमा फिर्ता भएका छन्। संघीय सरकारले चालु आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा निर्माणधीन खानेपानीका आयोजनाका लागि २३ करोड बजेट विनियोजन गरेको छ भने सुदूरपश्चिम सरकारले २२ करोड बजेट विनियोजन गरेको छ। जबकी एउटा आयोजनाको मात्रै कुल लागत १० अर्व लाग्ने गर्दछ। चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माणधीन खानेपानीको आयोजना सम्पन्न गरिने कुँवरको भनाइ छ। प्रदेश सरकारले पूराना खानेपानी योजनालाई प्राथमिकता नदिएको उनी बताउँछन्।

‘प्रदेश सरकारले पूराना आयोजनालाई निरन्तरता दिनुको सट्टा उल्टै २२ योजना थपेको छ,’ उनले भने, ‘बजेट भने प्रयाप्त विनियोजन गरेको छैन्।’

कलुवापुर खानेपानी आयोजना निर्माण अन्तिम चरणमा
शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणधीन कलुवापुर खानेपानी आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। अमरपुर कलुवापुर खानेपानी सरसफाइ उपभोक्ता समिति मार्फत निर्माण भइरहेको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।

२०६७ सालमा निर्माण शुरु भएको आयोजनाका लागि बजेट अभाव हुँदा केही समय निर्माणको काम रोकिएको थियो। अहिले रोकिएको काम फेरि शुरु भएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए। चालु आर्थिक वर्षमै खानेपानी आयोजना सञ्चालन गर्ने गरी काम भइरहेको उनको भनाई छ । आयोजना निर्माण भएपछि शुक्लाफाँटा नगरपालिका–११ का १ हजार ४ सय उपभोक्ता लाभान्वित हुने छन्।

Facebook Comments