अलमलमा पञ्चेश्वर परियोजना : २४ वर्षसम्म पनि डिपिआरले पाएन पूर्णता

महेन्द्रनगर – २४ वर्षअघि नेपाल र भारतीबिच एकीकृत महाकाली सन्धि भयो। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा महाकाली सन्धि भएको थियो। सन्धिमा महाकाली नदीमा नेपाल र भारतको सहकार्यमा पञ्चेश्वर जलविद्युत् परियोजना बन्ने उल्लेख छ।

सन्धिमा भनिए अनुसार ६ महिनाभित्र पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने, १ वर्षमा लगानी जुटाउने र ८ वर्षमा परियोजना सम्पन्न गर्ने भनिएको छ। तर, सन्धि भएको २४ वर्ष हुँदा समेत अहिलेसम्म डिपिआरले पूर्णता पाएको छैन्।

डिपिआरले पूर्णता नपाउँदा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको काम अनिश्चित बनेको छ। नेपाल र भारतका उच्च अधिकारीबीच पटक–पटक छलफल भयो। उच्च अधिकारीबीच छलफल भएपनि डिपिआरमा दुबै देशको सहमति नभएको पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चिरनचिवि चटौत बताउँछन्। ‘पटक–पटक नेपाल र भारतका उच्च अधिकारीबीच छलफल भयो, डिपिआरका केही बुँदामा अझै सहमति हुन सकेको छैन्,’ उनले भने, ‘त्यसैले परियोजनाको काम अगाडि बढेको छैन्।’ भारतको सरकारी संस्था वाककोषले निर्माण गरेको डिपिआरमा नेपाली पक्षले सहमति नजनाएपछि डिपिआर पारित नभएको उनी बताउँछन्।

‘नेपालका उच्च अधिकारीले डिपिआरका केही बुँदा आफ्नो हितमा नभएको भन्दै अहसमति जनाएको छ,’ उनले भने,‘ती बुँदाहरू सच्याउनु पर्ने नेपाली पक्षको माग छ।’ पञ्चेश्वरको डिपिआरमा सहमति जुटाउनका लागि दुवै देशका विज्ञ समूहको गठन गरिएको छ। सो विज्ञ समूहको पटक–पटक छलफल भएपनि सहमति नभएको कार्यकारी अधिकृत चटौतको भनाई छ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बाट कुल ५ हजार बढी मेगावाट विद्युत् उत्पादन हुनेछ। पञ्चेश्वरबाट ४ हजार ८ सय र रुपाली गाडबाट २ सय ४० मेगावाट गरी कुल ५ हजार ४० मेगावाट विद्युत् उत्पादन गरिनेछ। पहिलो पटक सन् १९९३ देखि ९५ सम्म गरिएको अध्ययनले पञ्चेश्वरमा मात्रै ६ हजार, ४ सय ८० मगावट विद्युत उत्पादन हुने अध्ययन गरिएको थियो। दोस्रो पटक सन् १९९५ देखि सन २०१७ सम्मको अध्ययनले पञ्चेश्वरको १ हजार ६ सय ८० मेगावाट कम विद्युत् उत्पादन हुने देखाएको थियो । नेपालले ११ वर्ष लगाएर परियोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो।

पञ्चेश्वरको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन सन् २००० मा शुरु गरी सन् २०११ मा तयार पारेको थियो। नेपालले तयार पारेको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भारतीय पक्षले सहमति जनाएको छ। परियोजना निर्माण गर्दा २ हजार ९ सय ३० परिवार विस्थापित हुने छन्। समुद्र सतहबाट ६ हजार ८० मिटर उचाईसम्म पञ्चेश्वर बाँध निर्माण गरिने छ। सो बाँधबाट ९० किलोमिटर भू–भाग डुबानमा पर्नेछ। पञ्चेश्वर बाँध बनाउँदा उत्तर दार्चुलाको दत्तुसम्म ६५ किलोमिटर र दक्षिण डडेल्धुराको रुपाली गाडसम्म २५ किलोमिटर भूभाग डुबानमा पर्ने कार्यकारी अधिकृत चटौत बताउँछन्।

उनका अनुसार पञ्चेश्वर परियोजनाको बाँध बनाउँदा ६ लाख, ५४ हजार रुख कटानी गनुपर्ने देखिएको छ। परियोजना निर्माण गर्दा नेपालको ४ हजार र भारतको ७ हजार ६ सय हेक्टर जमिन डुवान पर्ने उनको भनाई छ। परियोजनाबाट कैलाली र कञ्चनपुरको ९३ हजार हेक्टर जमिन सिञ्चित हुने अनुमान गरिएको छ । कैलाली र कञ्चनपुर जिल्लामा सिँचाईका लागि टनकपुरबाट पानी वितरण गरिने छ।

Facebook Comments