ओझेलमा रामारोशन, सुक्दै ताल

कैलाली– अछामको रामारोशन गाउँपालिका–५ मा अवस्थित रामारोशन क्षेत्र १२ वटा ताल र १८ वटा भूगोल मिलेर बनेको छ । तर, संरक्षण र सरसफाइको अभावमा यतिवेला ८ वटा ताल मात्रै जीवित छन् । बाँकी तालहरू पुरिएर सुकेका छन् ।

ताललाई जलकुम्भीले वरिपरि घेरेको छ । तालमा फैलिएको जलकुम्भी हटाउन सम्बन्धित निकायले पहल नगर्दा बाँकी रहेका तालहरू सुक्ने र पुरिने खतरामा छन् । रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभुनाथ देवकोटाले संरक्षण र सरसफाइको अभावमा ताल सुक्दै र पुरिँदै गएको स्वीकारे । ‘झार र पहिरोले ताल पुरिँदै गएका छन् । संरक्षण नहुँदा यहाँका ठुला र अन्य साना ताल पुरिँदै गएका छन्,’उनले भने ।

उनका अनुसार यो चालु आर्थिक वर्षमा तालमा डुङ्गा सञ्चालनका लागि ३० लाख, वातावरण संरक्षणका लागि ५ लाख र पर्यटन प्रर्वधन वर्षका लागि २० लाख बजेट गाउँपालिकाले छुटाएको छ । उनले तालको सरसफाइ यो मंसिरको अन्तिमबाट सुरु गर्ने समेत बताए ।

गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले रामारोशनको पर्यटकीय पक्षको उचित संवर्द्धन तथा प्रचारप्रसार हुन नसकेको बताइन् । रामारोशन पुग्ने कच्ची बाटोले पर्यटकलाई आवतजावतमा समस्या भइरहेको बताउँदै सडक स्तरोन्नतिको लागि ठुलो बजेट खर्च गर्नुपर्ने हुँदा गाउँपालिकाले सङ्घीय सरकारसँग अनुरोध गरिरहेको उनी बताउँछिन् ।

१२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको छ । चारैतिर अग्ला पहाडका चुचुरा अनि घनाजंगलको बिचमा ठुला–ठुला ताल छन् । ताल छेउमै घाँसेमैदान, बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावरसहित त्यहाँको हरियाली प्रकृतिले रामारोशनको सुन्दरतामा सुगन्ध थपेको छ ।

अछामको पूर्वोत्तरमा पर्ने रामारोशन क्षेत्रका तालहरू समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटरसम्मको उचाइमा फैलिएका छन् । रामारोशन कैलाश नदीको उद्गमस्थल पनि हो । चिसो हावा, चराचुरंगीको चिरबिर आवाज, कैलाश खोलाको कलकल बग्ने पानीको एकोहोरो आवाजले पर्यटकको मनै लोभाउँछ ।

यो क्षेत्रमा रहेका १२ बण्ड अर्थात् तालहरूमध्ये सबैभन्दा ठुलो जिइगाले हो । रामारोशनका अन्य प्रमुख तालहरूमा बाटुले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताललगायतका छन् । यहाँ पानी हाँस, माछालगायत विभिन्न प्रकारका जलचर हेर्न पाइन्छ । त्यस क्षेत्रमा होटेल व्यवसाय गर्दै आएका खडकसिंह रोकायाले सरदरमा दैनिक पाँच जना पर्यटक रामारोशन अवलोकन गर्न आउने बताए ।

उनले यहाँ १२ प्रकारको लालीगुराँस तथा बहुमूल्य जडीबुटीको अवलोकन गर्न पाइने पनि बताए । रोकायाले यहाँ घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा र कालिज डाँफे जस्ता जनावर तथा चराचुरुङ्गीले रामारोशनलाई झन् सुन्दर बनाएको बताए । किनीमिन्नी मैदान र रामारोशन मैदान फाँट ठुला र आकर्षक छन् । यसलाई उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षक बनाएको छ ।

Facebook Comments