सगरमाथामा फोहोर

सगरमाथाको आडमा सगरमाथा जत्तिकै अग्लो फोहोरको पहाड । सन् १९९३ मा टाइमले यस्तो कार्टुनसहित समाचार प्रकाशित गरेको देखेपछि नेपाली शेर्पाहरू दुःखी भए । विश्वका पर्वतारोहीहरूको गौरव र आकर्षण रहेको सर्वोच्च शिखर सगरमाथाको फोहोर व्यवस्थापन नभएको तथ्यले धेरैका आँखा खोलिदियो । आरोहणका लागि अहिलेसम्म ४० हजारभन्दा बढीले अनुमति लिएका र करीब छ हजार मानिसले सफल आरोहण गरिसकेको सगरमाथाका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा, एभरेस्ट ‘द वल्र्डस् हाइएस्ट जंकयार्ड’, ‘पाइल अफ गार्वेज’, ‘स्काटर अफ ह्युमन डेड बडिज अन एभरेस्ट’ जस्ता शीर्षकहरूले डेढ दशकदेखि ठाउँ पाइरहेका छन् ।

हरेक वर्ष सगरमाथा आरोहणको याम सुरु भएर आरोहीहरू आउन थाल्दा नथाल्दै फोहोरको विषयले विश्व बजार पिट्छ । सगरमाथा पदमार्गमा यत्रतत्र कोकाकोलाका बोतल तथा प्लाष्टिकहरू पाइएकै कारण विदेशी सञ्चार माध्यमहरूले सगरमाथालाई ‘कोकाकोला ट्रेल’ र ‘प्लाष्टिक ट्रेल’को संज्ञासमेत दिएर प्रचार–प्रसार गर्दै आइरहेका थिए । नेपालकै कार्यगत तथा नीतिगत कमजोरीका कारण अहिलेसम्म पनि सगरमाथाको अग्लाइसँगै जोर्डिको फोहोरको कुख्यातिले बिराम पाउन सकेको छैन । यसै विषयलाई लिएर विभिन्न मञ्चहरूमा सरकारी अधिकारीहरूमाथि प्रश्नको झटारो हान्ने क्रम पनि जारी नै छ ।

हिलारीको सन्देश र ‘सगरमाथामा फोहोर’को प्रचार–प्रसार
सगरमाथाको पहिलो सफल आरोहण भएको ऐतिहासिक घटनाको स्मरण गर्दै सन् २००३ मा नेपाल सरकारले सगरमाथा स्वर्ण महोत्सव मनाउ‘दै थियो । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले आरोहण गरेका थिए । विख्यात आरोहीहरू भेला भएको सगरमाथा क्षेत्रमा महोत्सवका विशिष्ट व्यक्तित्व सर एडमण्ड हिलारीले नाम्चेबाट सगरमाथालाई केही समय आराम गर्न दिनुपर्छ भन्ने सन्देश दिए ।

हिलारीको सन्देश सगरमाथामा बढेको फोहोरप्रति इङ्गित थियो । स्वर्ण महोत्सवको समाचार संकलन–सम्प्रेषणका लागि भेला भएका संसारका ख्यातिप्राप्त सञ्चार संस्थाका प्रतिनिधिहरूका लागि ‘सगरमाथाको फोहोर’ समाचारका लागि राम्रो ‘मसला’ बन्यो । फलस्वरुप सञ्चार माध्यमहरूमा सगरमाथा आधार शिविरसम्म थुप्रिएको फोहोरको समाचारले प्रमुखता पायो ।

हुन त स्वर्ण महोत्सवको घटनापूर्व नै पनि सगरमाथामा फोहोरको समाचार सञ्चार माध्यममा आउन थालिसकेको थियो । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा सम्झन्छन्, “सन् १९९३ मा सगरमाथाको सबल र दुर्बल दुबै पक्षलाई केलाएर समाचार आयो । अमेरिकी म्यागाजिन ‘टाइम’ले एक साइड सगरमाथा र अर्को साइड सगरमाथा जत्तिकै अग्लो फोहोरको पहाड भयो भनेर समाचार छाप्यो । उक्त पत्रिकाले एकातिर सगरमाथाको फोटो र अर्काेतिर सगरमाथामा भएको फोहोरको कार्टुन छापेको थियो । त्यो बेला हामी शेर्पाहरू निकै दुःखी भयौं ।”

यद्यपि त्यो समाचार सगरमाथामा भएको फोहोर बारेको तीतो यथार्थ थियो भन्ने पनि उनको ठम्याइ छ । स्वर्ण महोत्सव वर्ष अर्थात् सन् २००३ यता भने सगरमाथाको फोहोर निरन्तर समाचारको विषय बनिरहेको छ ।

सगरमाथा क्षेत्रमा आरोहीको सङ्ख्या वृद्धिसँगै फोहोरको परिमाण पनि बढ्न थालेको हो । सन् १९५३ यता करीब छ हजार स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल साइड (साउथकोल)बाट करीब १५ सय टोलीले आरोहण अनुमति प्राप्त गरेका छन् । तिब्बत साइड (नर्थकोल)बाट भने १२ सय समूहले आरोहण अनुमति पाएको अनुमानित आ“कडा छ ।

आरोहण अनुमति अनुसार ६६ वर्षको अवधिमा ‘४० देखि ५० हजार’ले सगरमाथा आरोहण अनुमति पाएको र ‘करीब छ हजार’ले सफल आरोहण गरेको पर्वतारोहण विज्ञ तथा नेपाल पर्वतारोहण संघका पूर्ब अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । अमेरिकी पत्रकार इलिजावेथ हली (स्व.)द्वारा स्थापित हिमालयन डाटा बेसमा नौ हजार १५९ टोलीका पाँच हजार २९४ जना सर्वोच्च शिखरमा पाइला राख्न सफल भएको उल्लेख छ । हिमालयन डाटा बेसले सगरमाथालगायतका हिमाल आरोहणको आधिकारिक तथ्याङ्कको अभिलेखीकरण गर्छ ।

सगरमाथा आरोही र आरोहण दलका सदस्यमध्ये केही सगरमाथा क्षेत्रबाट कहिल्यै फर्केनन् । आरोहण दलहरूद्वारा लगिएका कतिपय सामानहरू फर्काइएनन् । फलस्वरूप सगरमाथा क्षेत्रमा फोहोर बढ्न थाल्यो । त्यसको हरहिसाब पनि भएन । सगरमाथा आरोहणको इतिहासमा सन् १९७३ को इटालियन सगरमाथा आरोहण दल सबैभन्दा ठूलो थियो । तीन हजार पाँच सय जना त भारी बोकेर आधार शिविरमा पुगेका थिए । १२६ टन सामान आधार शिविर लगिएको थियो । आधार शिविरभन्दा माथि सामान ओसार्न दुई वटा एमआई १७ हेलिकोप्टर प्रयोग गरिएको थियो । आरोहण दलका सदस्यहरू भिन्नै थिए । हेलिकोप्टरको ध्वनिले खुम्बु आइसफलमा हिमपहिरो नै गएको थियो । “त्यो एक्सपिडिशन निकै मह‘गो पनि थियो,” एक्सपिडिशनलाई नजिकबाट नियालेका पूर्व अध्यक्ष शेर्पा सुनाउँछन् ।

हालका वर्षहरूमा आरोहण टोली साना र छरिता भए पनि उचित व्यवस्थापनको अभावले फोहोरको परिमाण बढ्दो छ । सगरमाथामा ‘नयॉ फोहोर नै बढी’ छ, सस्तो दरमा ‘एक्सपिडिशन’ चलाउने तथा ‘अल्पाइन शैली’मा आरोहणमा जानेले फोहोर गर्ने गरेका छन्, उनी भन्छन् ।

दबिएका फोहोर सतहमा देखिँदै
यस क्षेत्रमा विगतमा नदेखिएका लाश तथा अन्य फोहोरहरू पनि केही वर्षयता देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिले सगरमाथालगायत हिमशिखरहरूको हिउँ पग्लिने क्रम बढेपछि हिउँमा पुरिएका लाश तथा फोहोरहरू देखिन थालेका हुन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको एक वैज्ञानिक प्रतिवेदन ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेबिलिटी एन्ड पिपल’मा शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धि १.५ डिग्री कायम रहेमा ३६ प्रतिशत र कार्बन उत्सर्जन स्थिति अहिलेकै जस्तो रहेमा ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ । हिउँ पग्लेपछि सगरमाथा क्षेत्रमा दबिएका लाश तथा अन्य फोहरहरू सतहमा अझ बढी देखिने हुन्छ ।

२१ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका आप्पा शेर्पा आरोहण क्रममा साउथकोलमा साना–साना हिमताल र हिमनदीहरू बढेको देखेको जनाउँदै भन्छन्, “सगरमाथाको क्याम्प २, ३ र ४ माथि पुराना फोहोरहरू सतहमा देखिने क्रम बढ्दो छ ।” अन्य आरोही शेर्पा तथा विदेशीहरूले पनि दबिएका पुराना फोहोरहरू सतहमा देखिने क्रम बढ्न थालेको बताउँदै आएका छन् ।

सन् २०१० को सगरमाथा सफाइ अभियानका सदस्य तथा सगरमाथा आरोही पासाङ शेर्पाका सबैभन्दा बढी फोहोर साउथकोलबाट माथिको भागमा रहेको र क्याम्प २ भन्दा माथिका फोहोर ल्याउन पनि निकै कठिन हुने बताउँछन् । अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा सगरमाथा आरोही लाक्पा शेर्पा पनि साउथकोलदेखि ‘समिट’ (चुचुरो) सम्मको ८४८ मिटर दुरीमा बढी फोहोर रहेको र त्यहाँ भएका फोहोर र लाशहरूले सगरमाथाको कुरुप पाटो देखाउने बताउँछन् । उनका अनुसार, ठूलो भूकम्प गएको वर्ष अधिकांश कम्पनीले पालहरू त्यसै छाडेर आए । ती फोहोरहरू सतहमै देखिन्छन् ।

प्लास्टिक, पुराना डोरी, विभिन्न क्यान फ्रुट, पुराना अक्सिजन बोतल तथा पालहरू सगरमाथाको क्याम्प २ बाट माथि बाटैभरि छन् । २० पटक सगरमाथा आरोहण गरेका अर्का आरोही पेम्बा दोर्जे पनि साउथकोल, साउथ समिट, हिलारी स्टेपसम्म मानिसका लाशहरू छरिएर रहेका बताउँछन् । सगरमाथा आरोहणमा क्रममा मृत्यु भएका आरोहीहरूको लाश आधार शिविरभन्दा तल ल्याएर व्यवस्थापन गर्नुपर्ने दायित्व कम्पनीहरूको हो तर दायित्व वहन हुनसकेको छैन । आरोहीहरू साउथकोल (क्याम्प ४) बाट राति ११ बजे शिखरतर्फ लाग्छन् । “एक पटक रातको समयमा थाकेर साउथ समिटमा आराम गर्न अडेस लाग्दा लाशमाथि बिसाएको” दोर्जेको डरलाग्दो अनुभव छ ।

सन् १९९६ मा हिमआ“धीमा परी आठ आरोहीले ज्यान गुमाएको घटनालाई पर्वतारोहणको इतिहासमा ठूलो वियोगान्त घटना मानिन्छ । मे महिनाको १० र ११ आएको उक्त हिमआ“धीमा परी न्युजिल्यान्डका दुई, अमेरिकाका दुई, भारतका तीन र जापानका एक नागरिकको ज्यान गएको थियो । उक्त हिमआ“धीमा परी मृत्यु भएका अमेरिकी आरोही स्कट फिसरको लाश सगरमाथाको बालकोनीमै लडिरहेको छ ।

सन् २०१४ मा खुम्बु आइसफलको हिमपहिरोमा परेर १६ जना शेर्पाले ज्यान गुमाए । अधिकांशको लाश भेटिएन । सन् २०१५ मा विनाशकारी महाभूकम्पका कारण गएको हिमपहिरोमा परी १८ जनाले ज्यान गुमाए । सन् २०१९ को वसन्त ऋतुमा पनि ११ जनाले ज्यान गुमाए । केही लाश मात्र फर्काइएका छन्, अधिकांश यसै छाडिएका छन् ।

सगरमाथामा हालसम्म २९५ जनाले ज्यान गुमाएको हिमालयन डाटा बेसमा उल्लेख छ । सगरमाथा आरोही तथा पर्वतारोहण ब्लगर एलेन आर्नेटले सन् १९२३ देखि १९९९ सम्म १७० र सन् २००० देखि २०१९ सम्म १३४ गरी कुल ३०४ जनाले सगरमाथामा ज्यान गुमाएको उल्लेख गरेका छन् । सगरमाथामा आठ हजार मिटरभन्दा माथिको ठूलो समस्या भनेकै छरिएर रहेका लाश हुन् । बेलायतको एभरेष्ट रिकभरी नामक संस्थाले सगरमाथामा करीब दुई सय लाशहरू छरिएर रहेको जनाएको छ ।

सगरमाथामा मानव उत्सर्जित जैविक फोहोर पनि विकराल छ । ‘सगरमाथाको अर्काे ठूलो समस्या भनेको मानिसहरूको मलमूत्र’ रहेको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पा बताउँछन् । पानीको मुहान हिमालय पर्वतको हिउँसँगै मलमूत्र मिसिएर तल नदीमा पुग्छ । तल्लोतटका बासिन्दाले फोहोर पानी पिउनु पर्ने बाध्यता छ । बर्सेनि सालाखाला ५० आरोहण दलका करिब एक हजार मानिस सगरमाथामा ओहोरदोहोर गर्छन् । त्यो संख्याले प्रयोग गर्ने अस्थायी चर्पी भनेको ‘टवाइलेट टेन्ट’ हो । त्यो आधार शिविरसम्म मात्रै हुन्छ । त्यहाँभन्दा माथि धेरैजसो खुला दिसापिसाव गर्नुपर्ने बाध्यता छ । ‘आइस’माथि दिसा गर्दा पहेँलो रङको हिउ‘ देखिन्छ । एक–दुई कम्पनीले मात्रै ट्वाइलेट ब्याग प्रयोग गर्दै आएका छन् । यस्तो ब्याग आधार शिविर पुग्दा प्रतिगोटा २० अमेरिकी डलर पर्छ ।

सफाइ अभियानको करिब अढाइ दशक
सन् १९९३ मा ‘टाइम’ म्यागाजिनमा छापिएको सगरमाथाको फोहोरसम्बन्धी सामग्रीले सरोकारवालाहरूलाई नराम्रोसँग झस्कायो । पूर्व अध्यक्ष शेर्पाका अनुसार, त्यसको तीन वर्षपछि सन् १९९६ मा नेपाल सरकारले आधार शिविरसम्मको फोहोर संकलन गर्न ३६ जना आरोही शेर्पाको टोली सगरमाथा सफाइ अभियान भनेर खटायो । टोलीले आधार शिविरसम्म थुप्रिएका तीन हजार पाँच सय किलोग्राम फोहोर संकलन ग¥यो । संकलनमा सबैभन्दा बढी बियरका बोतलहरू थिए ।

यस्तै, जापानी नागरिक केन नोगुचीले सगरमाथा सफाइ कार्यलाई अभियानकै रूपमा अगाडि बढाए । स्वयंसेवकहरूको साथ लिएर उनले सन् २००० मा सफाइ अभियान थालेका थिए । ‘द गार्डियन’ले सन् २००७ मे २९मा जनाएअनुसार, सन् २००७ सम्ममा त्यस्तो अभियान पाँच पटक सञ्चालन गरियो र त्यसबाट दक्षिणी तथा उत्तरी मोहडा दुबैतर्फबाट गरी करिब नौ हजार किलोग्राम फोहोर संकलन गरियो । सातै महादेशका अग्ला हिमालहरूको आरोहण गरेका नोगुचीले सन् १९९९ मा सगरमाथाको आरोहण गरेका थिए । सन् २००७मा नै सिएनएनलाई दिएको एक अन्तर्वार्तामा उनले सगरमाथामा जताततै फोहोर देखेपछि विश्वको अतिविख्यात चुचुरोको सफाइ गर्ने र अरूलाई पनि त्यसबारे शिक्षा दिने आफूले निधो गरेको बताएका थिए ।

सन् २००८ मा एसियन ट्रेकिङले ‘इको एभरेष्ट एक्सपिडिशन’ भनेर सफाइ अभियान सुरु ग¥यो । यस टोलीमा सहभागीहरूले सगरमाथा आरोहणका साथै फोहोर संकलन गरी ल्याउने गर्छन् । ११ वर्षको अवधिमा करीब २० हजार किलोग्राम फोहोर संकलन गरी ल्याइएको एसियन टे«किङका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । यस्तै, छरिएर रहेका सात वटा लाश ल्याइएका थिए । तीमध्ये तीन शेर्पाका र चार विदेशीका थिए । सो अभियानलाई सुरुमा इसिमोड, डब्लु डब्लु एफ र नेपाल पर्बतारोहण संघले सघाएका थिए ।

सन् २०१० मा ३१ जना सगरमाथा आरोहीको समूहले सगरमाथाको आठ हजार मिटरभन्दा माथिको क्षेत्रमा सफाइ अभियान सञ्चालन ग¥यो । ‘एक्सट्रिम एभरेस्ट एक्सपिडिशन २०१०’ नाम दिइएको अभियानमा लाग्ने खर्च नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा जुटाइएको थियो । समूहले आठ हजार मिटर माथिबाट एक हजार आठ सय किलोग्राम फोहोर र दुई वटा लाश संकलन गरेर ल्यायो । अभियानले सरकार, आरोही र टे«किङ एजेन्सीहरूलाई सगरमाथाको फोहोरको विषयमा जिम्मेवार हुन अपिल पनि ग¥यो । अभियानको लगत्तै पर्यटन विभागले सन् २०११को वसन्त ऋतुदेखि सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशीहरूले आठ किलोग्राम फोहोर ल्याउनु पर्ने नियम नै बनायो । त्यसले आरोहणमा जाने स्वदेशी तथा विदेशीहरूमा आफ्नो फोहोर फिर्ता ल्याउनुपर्ने चेतना मात्र जगाएन, फिर्ता ल्याउन बाध्य पनि बनायो ।

सन् २०११ मा सगरमाथा आरोही संघको नेतृत्वमा क्याम्प २ सम्म सगरमाथा सफाइ अभियान सञ्चालन गरियो । कुल २९ आरोही सम्मिलित अभियान टोलीले आधार शिविरदेखि आठ हजार सात सय मिटरसम्मको उचाइबाट ८.१ मेट्रिक टन फोहोर संकलन ग¥यो । अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, इको हिमाल लगायतका संघ–संस्थाहरूको संलग्नता थियो ।

सन् २०१९ को वसन्त ऋतुमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं.१, सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, खुम्बु पासाङल्हामु गाउ‘पालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिलगायतका सगरमाथा क्षेत्रका स्थानीय संघ, संस्था र समुदायकोे संयुक्त प्रयासमा सगरमाथाको सरसफाइ अभियान संचालन भयो ।

उक्त अभियान समूहले चार हजार ६९२ किलोग्राम फोहोर सगरमाथाको क्याम्प २ बाट र पाँच हजार ६९४ किलोग्राम फोहोर आधार शिविर र आसपास क्षेत्रबाट संकलन गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका आर्थिक तथा प्रशासनिक अधिकृत निशान श्रेष्ठ बताउँछन् । समूहले आधार शिविर र क्याम्प २ मा रहेका चार वटा लाश पनि संकलन गरी ल्याएको थियो । श्रेष्ठका अनुसार, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहको संलग्नता रहेको तथा बैशाख १ देखि जेठ २३ गतेसम्म चलेको सो सफाइ अभियानका लागि दुई करोड ७० लाख रुपियाँ खर्च भएको थियो ।

श्रेष्ठका अनुसार, फोहोर संकलनका अतिरिक्त अन्य कार्य पनि भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिको सक्रियतामा नाम्चेबजारमा प्रशोधन केन्द्र स्थापना गरिएको छ । सगरमाथाको फोहोरबाट स्याङबोचेमा म्युजियम बनाउन सुरु गरिएको छ । जल्ने फोहोरलाई नाम्चेमा व्यवस्थापन गर्ने र नजल्ने फोहोरहरूलाई ‘क्यारी मि ब्याक’ अभियानबाट लुक्ला पठाउन सुरु गरिएको छ ।

सगरमाथाको २४ पटक आरोहण गरेका विश्व कीर्तिमानी कामी रिता शेर्पा भने अभियानको गतिविधिप्रति सन्तुष्ट छैनन् । सरकारले सगरमाथा सफाइका नाममा करिब तीन करोड बजेट सकेको तर क्याम्प २ भन्दा माथि अझै फोहोर रहेकोमा उनको गुनासो छ । सफाइका नाममा दुई जना मान्छे पठाएर अरू आधार शिविरमा नै हल्लिएर बसेको उनको आरोप छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले हरेक आरोहीहरुबाट पैसा असुल्ने मात्रै काम गरेको छ, उनले भने ।
सन् २०१९ को सफाइ अभियानले केही सकारात्मक सन्देश पनि प्रवाहित गरेको छ । पछिल्लो समय आरोहीहरूले अक्सिजनका खाली सिलिण्डरहरू संकलन गरेर ल्याउन थालेका छन् । अक्सिजनको व्यापार गर्ने पसलेहरूले एउटा सिलिण्डरको दुई सय अमेरिकी डलरसम्म दिन्छन् ।

उपाय छन्, सरकार जाग्नु र लाग्नुपर्छ
एक दशक अघिसम्म सगरमाथा आधार शिविरसम्मै पनि फोहोरको डङ्गुर देखिन्थ्यो । समय–समयमा चलाइएका सफाइ अभियानहरूकै परिणाम हो, सगरमाथाको आधार शिविरसम्म विगतको जस्तो फोहोरको डङ्गुर छैन । आधार शिविरभन्दा माथिको सफाइ भने अझै पनि चुनौतीपूर्ण नै बनेको छ । स्थितिमा सुधारका लागि केही निश्चित कदम चालिनु आवश्यक छ ।

सरकारले सन् १९९४ बाटै सगरमाथा आरोहणमा जाने आरोहण दलस‘ग ‘गार्बेज डिपोजिट’ भनेर चार हजार अमेरिकी डलर लिन थालेको हो । सगरमाथाबाट हाम्रो फोहोर यत्ति हो भनेर ल्याएर काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन महाशाखामा बुझाएपछि धरौटी फिर्ता हुन्छ । यद्यपि, यो ‘कर्मकाण्डी प्रक्रिया’ भएको आरोहीहरूको भनाइ छ । सगरमाथाको २४ पटक आरोहण गरेका कामी रिता शेर्पा सरकारी अधिकारीहरूले सगरमाथाको आरोहण याममा आधार शिविरमा बसेर कडा नियमन नगर्दा फोहोर छोड्ने प्रवृत्ति नरोकिएको बताउँछन् । उनका अनुसार, सगरमाथामा फोहोर छाड्ने स्वदेशी होस् वा विदेशी आरोहण दलका सदस्यहरूलाई कडा कारवाही गर्नुपर्छ । त्यस्ता ट्रेकिङ कम्पनीहरूको धरौटी जफत गर्नुपर्छ ।

सात हजार मिटर तलका हिमालहरूको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले पर्यटकीय याममा आधार शिविरसम्म फोहोरको व्यवस्थापन गर्छ । सात हजार मिटरभन्दा अग्ला हिमालहरूको फोहोर व्यवस्थापनको दायित्व राज्यको हो । सगरमाथालगायत हिमालहरूमा पनि हुने फोहोर व्यवस्थापनमा एसपिसिसीको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । आरोहण दलहरूले एसपिसिसीलाई फोहोर बुझाउनु पर्छ र उसले ‘गार्बेज डिपोजिट’ रिलिजका लागि सहमतिपत्र दिन्छ । आरोहीले फोहोर बुझाएबापत एसपिसिसीलाई प्रतिकिलो २४० अमेरिकी डलर तिर्नुपर्छ । यो विद्यमान ब्यवस्था हो र प्रायजसो आरोहण दलका सदस्यहरूले आठ किलोग्रामभन्दा कमै फोहोर फिर्ता ल्याउने गरेका छन् । यसबाट झारा टार्ने प्रवृत्ति बढेको देखिन्छ । आफूले नेपाल सरकारलाई मह“गो आरोहण दस्तुर बुझाएका कारण फोहोरको जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो भन्ने मनोविज्ञान विदेशी आरोहीहरूको देखिन्छ । ‘क्लाइम्बिङ’ शेर्पाहरूमा पनि विदेशीका कारणले फोहोर बढेको हो र सफा गर्ने दायित्व ‘गोराहरू’को हो भन्ने सोच पाइन्छ ।

पूर्व अध्यक्ष शेर्पा फोहोर व्यवस्थापनबारे सरकारी सोच ‘अदूरदर्शी’ भएको उल्लेख गर्दै ‘गार्बेज डिपोजिट’लाई ‘गार्बेज व्यवस्थापन’ भनेर शुल्क लिनुपर्ने र प्रत्येक दुई वर्षमा सगरमाथाको सफाइ अभियान चलाइनुपर्ने बताउँछन् ।

पर्यटन नियममा सगरमाथा आरोहणका क्रममा मृत भएकाहरूको लाशलाई आधार शिविरभन्दा तल झारी हिमनदीहरूलाई असर नपर्ने गरी ब्यवस्थापन गर्नुपर्ने उल्लेख छ । यसमा राज्यले गम्भीर चासो दिनुपर्छ र लाशहरू झारेर व्यवस्थापन गर्नुपर्ने बाध्यकारी नियमलाई व्यवहारमा लागू गर्नुपर्छ ।

गएको बसन्त ऋतुमा चीन सरकारले सगरमाथाको उत्तरी मोहडातर्फ सफाइ अभियान संचालन गरेको थियो । सफाइ अभियान संचालन गरेकाले आरोहण अनुमति पनि दिइएको थिएन । चीनले प्रत्येक दुई वर्षमा सगरमाथा सफाइ अभियान संचालन गर्छ । आरोहण सिजनमा सीमित दललाई आरोहण अनुमति दिइन्छ । ‘गार्बेज फी’ भनेर प्रत्येक आरोहण दलबाट एक हजार पाँच सय अमेरिकी डलर लिइन्छ । तिब्बत पर्वतारोहण संघले एक जना ‘क्लाइन्ट’ बराबर एक जना शेर्पा अनिवार्य गरेको छ । त्यस्तै, आरोहणमा जानेले आठ किलोग्राम फोहोर अनिवार्य फिर्ता ल्याउनु पर्ने र नल्याए प्रतिकिलोग्राम एक सय अमेरिकी डलर जरिवाना तिर्नुपर्ने नियम छ ।

अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल किलिमञ्जरो आरोहण गर्न जानेहरूले लैजाने सामानहरूको मिहिन ढंगले चेक गरेर दर्ता गरेर पठाउने चलन छ । युरोप महादेशको अग्लो हिमाल माउन्ट ब्लंकमा दैनिक २५० जना चढ्न जान्छन् । त्यहॉ फोहोरको उचित व्यवस्थापन गरिएको छ । नेपालले पनि आरोहण दलका सदस्यहरूका सामानको आधार शिविरमा दर्ता गर्ने र आरोहण सम्पन्न भएपछि ती सामान फिर्ता ल्याए वा ल्याएनन् भनेर कडाइसाथ जाँच गर्नुपर्छ । यसमा सम्पर्क अधिकृतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । आरोहणको याममा सम्पर्क अधिकृतहरू आधार शिविरमा अनिवार्य बसेर आरोहण दलले फोहोरको सही व्यवस्थापन गरे नगरेको अनुगमन गर्नुपर्छ ।

सम्पर्क अधिकृत आधार शिविरसम्म नपुग्ने र पुगे पनि आरोहण अवधिभर नबस्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । तीन हजार डलर र खाना बस्न र गेयर सम्बन्धित कम्पनीबाट लिएर घरमै बस्ने सम्पर्क अधिकृतहरूलाई दण्डित र इमानदारलाई पुरस्कृत गर्नु राज्यको दायित्व हो ।

सगरमाथा संसारकै अग्लो पानीको मुहान पनि हो । हिमालय पर्वतहरूबाट बग्ने पानीमा एक अर्ब ४० करोड जनसंख्या आश्रित रहेको ‘नेशनल जिओग्राफी’को एउटा रिपोर्टमा उल्लेख छ । पानीको यो अमूल्य मुहानलाई जोगाउनु सबैको दायित्व हो । मुहानबाट बगेको पानीमा मलमूत्रको मिसावटलाई रोक्नु पनि त्यत्तिकै आवश्यक छ । यसका लागि सरकारले ‘ट्वाइलेट ब्याग’ अनिवार्य प्रयोग गर्ने नीतिगत निर्णय लिएर कडाइसाथ लागू गराउनुपर्ने हुन्छ ।

‘नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समिति, २०७६को अध्ययन तथा सुझाव प्रतिवेदन’मा ‘फोहोर व्यवस्थापनमा गर्नुपर्ने सुधार’ उप–शीर्षकमा विभिन्न सुझावहरू दिइएका छन् । यी सुझाव र सरोकारवालाहरूको चासो, चिन्ता एवं सुझावहरूलाई समेत ध्यानमा राखेर नेपाल सरकारले यस विषयमा स्पष्ट नीति बनाउन र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । अन्यथा विश्वमञ्चमा सगरमाथामा फोहोरको यक्षप्रश्नले कहिल्यै छाड्नेछैन ।

संसारकै अग्लो छानो सगरमाथा प्रकृतिको एउटा अनुपम उपहार हो । विश्व सम्पदा सूचिमा रहेको सगरमाथा नेपाल र नेपालीको गौरव हो । सगरमाथा मानव जातिकै साझा सम्पत्ति हो । यसलाई डम्पिङ साइट र लावारिश लाशहरूको ‘मसानघाट’ बन्न दिनु हुँदैन ।

Facebook Comments