पानीको मुहान संरक्षणसँगै हरियाली वन बनाउने अभियानमा तालिगडा गाउँ

बुधबार, कार्तिक २७, २०७६

कैलाली–डडेल्धुराको परशुराम नगरपालिका–६ को तालिगडा गाउँ चुरेसँगै जोडिएको बस्ती हो। चुरेसँगै जोडिएको भए पनि यहाँ पानीको ठूलो समस्या छ । अहिले तालिगडाबासीले पानीको समस्या समाधान गरी पानीको जोहो गर्ने उपाय खोजेका छन् ।

उनीहरूले चुरेको संरक्षणका साथै त्यहाँका पानीका मुहान पनि संरक्षण गरेका छन् अनि तिनै मुहानबाट आउने पानी जोगाएर खानेपानीको जोहो पनि गरेका छन् । पानीका मुहान संरक्षण अभियानका अगुवा देवबहादुर साउँद हुन्। उनकै पहलमा पानीका मुहान संरक्षित भएका हुन् । मुहानको पानी पाइपमार्फत गाउँसम्म पुर्‍याइएको छ। पानी भण्डारणका लागि गाउँको माथिल्लो भागमा ट्यांकी बनाइएको छ । त्यही ट्यांकीबाट स्थानीयका घरसम्म पानी पुग्छ।

‘धेरै भएको पानीबाट हामी सिँचाई गर्ने छौँ । खानेपानी पनि प्रशस्त मात्रामा हामीले पाएका छाँै,’संरक्षण अगुवा देवबहादुर साउँदले भने । तालिगडा बासीले मुहान संरक्षण गरी खानेपानी व्यवस्थापन गरेका छन् । यसले उनीहरूको दैनिक जीवन पनि सहज बन्दै गएको छ ।

तालिगडाबासी पानी व्यवस्थापन बारे जानकार छन् । यहाँ पहिले सिँचाइको सुविधा थिएन । तर, अहिले मुहान संरक्षणपछि भने स्थानीयले खानेपानीसँगै सिँचाइ सुविधासमेत लिन भ्याएका छन् । ट्यांकीमा धेरै भएको पानी भण्डारण गर्न छुट्टै सिँचाइ पोखरी बनाइएको छ । सिँचाई पोखरीमा जम्मा हुने पानी धारासम्म पु¥याइन्छ । सिँचाइ गर्न सहज होस् भनेर पाँच वटा सिँचाइ धारा बनाइएका छन् । यही पानीले स्थानीयका खेतबारी सिञ्चित हुन्छन् ।

‘सागपात र फलफूलका लागि सिँचाइ भएको छ । विगतको तुलनामा अहिले जीवन यापन गर्न निकै सहज भएको छ,’स्थानीय गङ्गा साउँदले भनिन् । स्थानीयले अचेल पानी व्यवस्थापनको दीर्घकालीन उपाय अपनाएका छन् ।

मुहान र खानेपानीको सहज आपूर्तिका लागि एक जना हेरालुको व्यवस्था गरिएको छ । ट्यांकीको पानी निश्चित समयमा मात्र खुला गरिन्छ । पानी उपभोग गर्ने सबै उपभोक्ताबाट मासिक २५ रुपैयाँ शुल्क उठाइन्छ । यसरी उठेको रकमबाट हेरालु र खानेपानीको मर्मत सम्भार गरिन्छ । ‘मेरो काम भनेको साँझ बिहान पानी खोल्ने, कतै धेरै बिग्रियो भने गाउँलेलाई बोलाउने । अलिकति मात्र बिग्रिएको रहेछ भने आफैँ बनाउने ,’हेरालु वीरबहादुर साउँदले बताए ।

मुहान संरक्षण मात्रै होइन उनीहरूले वनमारा झारले भरिएको जङ्गल फडानी गरेर अचेल हराभरा बनाएका छन् । सिरानको सिद्धनाथ सामुदायिक वनमा अम्रिसो र नेपियर घाँस हुर्काएका छन् । स्थानीयले यसबाट लाभ पनि लिन पाएका छन् । ‘अहिले त राम्रै भएको छ । गोडमेल ग¥यौँ । झाडी सफा ग¥यौँ । पर्खाल हाल्यौँ । अहिले कस्तो राम्रो भएको छ, स्थानीय गङ्गा साउँदले भनिन् ।

संरक्षण अगुवा साउँदका अनुसार परशुराम नगरपालिका– ६ का गाउँका महिला, पुरुष सबैको सहयोगमा वनलाई हरियाली बनाइएको हो । सामुदायिक वन क्षेत्रमा हुर्किएका बिरुवाले भू स्खलन हुनबाट रोकेको छ । संरक्षणसँगै घाँसको आवश्यकता पुरा भएको छ । यसले पशुपालनमा सघाएको छ । चुरेमाथिको निर्भरता पनि घटेको छ । आर्थिक उपार्जनका लागि आधार तयार भएको छ ।

माटो रोकिने, घाँस उपलब्ध हुने, अम्रिसोको कुचो बनाएर बिक्री वितरण गर्ने, बोट बिरुवा बिक्री वितरण गर्ने जस्ता कार्य गर्न सहज भएको अगुवा साउँदले बताए । संरक्षणमा पाएको सफलताले स्थानीयमा खुसीयाली छाएको छ । संरक्षण अगुवा देवबहादुर पनि मख्ख छन् ।

यसले उनको काम गर्ने हौसला अझ बढेको छ । संरक्षण अभियान अझै प्रभावकारी बनाउने योजना बनेको छ । वनमा आँप, बाँस, डाले घाँस लगाउने योजना रहेको अगुवा साउँद बताउँछन् । संरक्षणमैत्री कार्यले मानवीय सुखसँगै समृद्धि पनि हासिल गर्न सकिन्छ । तालिगडा बासीले अपनाएको संरक्षण अभ्यास यसैको उदाहरण हो । योसँगै संरक्षणबाट नै सबैलाई रामै्र लाभ मिल्दो रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।

Facebook Comments