‘दक्षिण एसियाका ६२ करोड बालबालिका विषाक्त हावामा श्वास फेर्छन’

म हालै मात्र दक्षिण एसियामा थिएँ जहाँ मैले त्यहाँका बालबालिका वायु प्रदूषणको डरलाग्दो अवस्थाबाट कसरी प्रभावित भइरहेका छन् भन्ने कुरा प्रत्यक्ष देख्न पाएँ।

वायुको गुणस्तर संकटको अवस्थामा थियो। एयर फिल्ट्रेसन मास्क प्रयोग गर्दा पनि हानिकारक कुहिरोको गन्ध सुघ्न सकिन्थ्यो । हरेक बस्तीबाट प्रदूषणले भवन, रुख र मानिसहरुलाई ढाकेको देखिन्थ्यो । विद्यालय र कार्यालयहरु बन्द गरिएको थियो वा तिनीहरु खुल्ने समय घटाइएको थियो। जाडो बढ्दै जाँदा, यो अवस्था अझै खराव हुने देखिन्छ।

दक्षिण एसियाका ६२ करोड बालबालिकाले दूषित, विषाक्त हावामा सास फेर्ने गर्दछन्। उनीहरुको फोक्सो सानो हुने हुँदा उनीहरुले वयस्कहरुको तुलनामा दोब्बर सास फेर्छन्। उमेरसँगै आउने प्रतिरक्षा प्रणालीको अभावले गर्दा बालबालिकाले उनीहरुको बिग्रदो स्वास्थ्य र स्नायू प्रणालीमा असरको प्रभाव खेप्नुपरेको छ।

वायु प्रदूषण बालबालिकाको मृत्युको सबैभन्दा ठूलोमध्ये एक कारण – निमोनिया र दम, ब्रोङकाइटिस र अन्य श्वासप्रश्वासजन्य संक्रमणसँग सम्वन्धित छ। वायु प्रदूषणले मस्तिष्कको तन्तुमा क्षति र्पुयाउँछ र शिशु तथा बालबालिकामा हुने संज्ञानात्मक विकासलाई कमजोर बनाउँछ। यसको असर उनीहरुको सिकाइ उपलब्धी मात्र नभई उनीहरुको भावी सम्भावनामा पर्न सक्छ। अत्याधिक वायु प्रदूषण भोगेका किशोरकिशोरीले मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना धेरै भएका प्रमाणहरु पनि छन्।

बालबालिकाको मस्तिष्क विकास र स्वास्थ्यमा विषाक्तता समाजको लागि पनि विषाक्त हुन्छ जसलाई कुनै पनि सरकारले वेवास्ता गर्न मिल्दैन । यसको असर टाढा टाढासम्म पनि लहरिदैं जान्छ। जव बालबालिका विरामी हुन्छन्, उनीहरुले प्रायः विद्यालय छुटाउँछन् । वायु एकदमै विषाक्त हुने अति प्रतिकूल अवस्थामा विद्यालयहरु बन्द हुन्छन् जुन हामीले दिल्लीमा यो साता देख्यौं । प्रदूषणको मात्रा सेन्सरहरुले मापन गर्न सक्ने भन्दा पनि माथि थियो। यो बालबालिकाका लागि सुरक्षित मानिने मात्राभन्दा कैयौं गुणा धेरै हो। यसले उनीहरुको स्वास्थ्य र विकासमा गम्भीर जोखिम राख्दछ।

बालबालिकालाई हेरचाह र उपचार गर्नु पर्दा स्वास्थ्यको खर्च बढ्न सक्छ। आमावुवा उनीहरुको बालबालिकाको हेरचाहका लागि घरमा बस्नुपर्ने समेत हुन सक्छ। यसले गर्दा दैनिक आम्दानी नहुने र जीवनको गुणस्तर घट्ने हुन सक्छ । वायु प्रदूषणले बालबालिकामा पार्ने असर वयस्क हुँदा पनि अनुभव गर्न सकिन्छ।

युनिसेफले यो वायु गुणस्तरको संकटलाई सम्बोधन गर्न जरुरी कदम चाल्न आव्हान गरेको छ। दक्षिण एसिया र संसारभरका सरकारहरुलाई जैविक ऊर्जा दहनको सट्टा सफा, नवीकरणीय ऊर्जामा लगानी गर्न, सफा सार्वजनिक यातायातमा पहुँच उपलब्ध गराउन, शहरी क्षेत्रमा हरित क्षेत्रहरु बढाउन, कृषिको शैली परिवर्तन गर्न र हानिकारक रसायनको खुला दहन रोक्नका लागि उपयुक्त फोहोरमैला व्यवस्थापन विकल्प उपलब्ध गराउन जरुरी पहल गर्नुपर्छ।

बालबालिकाको सफा वातावरणमा बाँच्ने र सफा हावामा श्वास फेर्न पाउने अधिकार छ । हामीले अहिले नै कदम चाल्नुपर्छ।
(दक्षिण एसियाको विषाक्त वायुको बारेमा युनिसेफका कार्यकारी निर्देशक फोरको वक्तव्य)

Facebook Comments