माछा संरक्षणमा महत्त्वपूर्ण फड्को

डडेल्धुरा –रंगुन जलाधार जलीय जैविक विविधताले भरिपूर्ण छ । यो जलाधार डोटी र डडेल्धुरा जिल्लासम्म फैलिएको छ।

तटीय क्षेत्रका हजारौँ मानिसको आस्था र जीवन रंगुन जलाधारसँग जोडिएको छ तर विगतमा भएका विनाशकारी गतिविधिले रंगुनको प्राकृतिक रूप फेरिँदै गयो । चुरे दोहन नै रंगुन बौलाउने मुख्य कारक बन्यो ।

यसको असर तटीय क्षेत्रका स्थानीयले अहिले भोग्नु परेको छ । पहिला घना जंगलले घेरिएको रंगुन जलाधार क्षेत्रका रुख काटिए पछि खोला फराकिलो भएको परशुराम नगरपालिका– ६ का गोरे थापाले बताए ।

कुनै बेला रंगुन धेरै माछा पाइने खोला भनेर चिनिन्थ्यो तर पछिल्ला केही वर्षयता अवस्था फेरिएको छ । विगतको जस्तो माछा पाइँदैनन् । यसका पछाडि धेरैजसो मानवीय कारण छन् । केही प्राकृतिक कारण पनि । नदी दोहनले माछाको बासस्थान नाश भएका छन् । यो जनसङ्ख्या वृद्धि, बम, विषादी, करेन्टले माछा मार्दाको परिणाम हो ।

‘विगतको कुरा गराँै भने त धेरै फरक छ । आकाश र धर्तीको फरक छ । पहिला धानमा लगाउने पानीको कुलोमा समेत धेरै माछा जान्थे । ती सब लोप भइसके । अब लगभग ५० देखि १०० ग्रामका माछा छन्,’ मत्स्य व्यवस्थापन तथा संरक्षण समूहका सदस्य कृष्ण भट्टराईले बताए ।

रगुंनमा पहिला माछा प्रशस्त पाइने परशुराम नगरपालिका–१२ का देवीदत्त भट्टराईले बताए । ‘रगुंन खोलाका ढुङ्गा, बालुवा, गिट्टीले रोड बनिरहेको छ । घर बनिरहेका छन् । खोलामा तटबन्धन भयो । तिनी ढुङ्गा माछाको बास स्थान नभएर पनि माछा नभएका हुन्,’ रंगुन मत्स्य व्यवस्थापन तथा संरक्षण समूहका सदस्य दिलबहादुर राउटेले बताए ।

रंगुन खोलामा माछाको सङ्ख्या घटेसँगै अचेल भने संरक्षण कार्य सुरु भइसकेको छ । जलाधार क्षेत्रमा ६ वटा माछा संरक्षण समूह पनि गठन भएका छन् । जलीय जैविक विविधताको दिगो संरक्षणका लागि उनीहरू सामूहिक रूपमा जुटेका हुन् ।

‘अण्डा पार्ने बेलामा नमार्ने, जतिखेर अण्डा पारेर भुरा निकाल्ने बेलामा माछा नमार्ने । साना अण्डा दिने खालका माछा नमार्ने भन्ने हामीले एउटा विधान नै बनाएका छौँ,’ रंगुन मत्स्य व्यवस्थापन तथा संरक्षण समूहका सदस्य राउटेले भने ।

आलिताल गाउँपालिका–३ आलिताल मत्स्य व्यवस्थापन तथा संरक्षण समूहकी अध्यक्ष खिमादेवी रानाले प्रशस्त माछा पाइने रगुंन खोलामा अझै पनि पाल्ने हो भने हुन्छ कि भनेर आशा पलाएको बताइन् । रंगुन जलाधार क्षेत्रमा गठन भएका माछा समूहले संरक्षणमा नेतृत्वदायी भूमिका खेलिरहेका छन् । माछा समूहको यस्तो कर्मले यहाँको जलीय जैविक विविधता जोगाउन महत्त्वपूर्ण सहयोग पुगेको छ ।

जलाधार क्षेत्रमा गठन भएका माछा समूहले संरक्षण गर्ने क्षेत्र छुट्टाएका छन् । सबै माछा संरक्षण समूहले आ–आफ्नो क्षेत्रमा निगरानी गर्छन् । समूहको निगरानी पछि जथाभाबी माछा मार्ने कार्य बन्द गरेका छन् । प्रजननका बेला माछा नमार्ने नीति बनाएका छन् । भुरा माछा मार्न पूर्णतया रोक लगाइएको छ । माछा मार्दा जलचरमैत्री तरिकाले मार्ने नियम बनाएका छन् ।

‘पहिले त जथाभाबी मारी राखेका थिए । अहिले समूहले गर्दा सानो जाल खेल्नु भएन । जथाभाबी भँगालो रोक्नु भएन, विषादी हाल्नु भएन । हामीले तिनलाई खोलामा गएर भेट्यौँ । घरदैलोमा पनि भेट्यौँ । अहिले त निषेध नै भएको छ,’ महाकाली रंगुन मत्स्य व्यवस्थापन तथा संरक्षण समूह परशुराम नगरपालिका–६ का अध्यक्ष रूपलाल डाँगीले भने ।

आलिताल गाउँपालिका– ८ का यादव बोगटीले करेन्ट, भँगालो थुन्ने विष हाल्ने काम पूर्ण रूपमा बन्द भएको बताए । ‘बम हानेर माछा मार्ने काम केही वर्ष पहिलेदेखि नै रोकिएको छ । अब माछा मार्ने सिस्टमका लागि साना माछा नमार्ने, ठुला माछा आवश्यक मात्रामा निकाल्ने त्यो पनि व्यवस्थित गरेर करको दायरामा आउने गरेर माछा मार्ने प्रोसेसमा हामी लागिरहेका छौँ,’उनले भने ।

माछा संरक्षण समूह स्थानीय तहमा दर्ता भइसकेका छन् । उनीहरू वैधानिक रूपमा जलचर संरक्षणमा जुटेका हुन् । माछा समूहलाई स्थानीय तहको पनि साथ छ । रंगुन जलाधारअन्तर्गत पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकाले संरक्षण कार्यलाई सघाएका छन् ।

‘हामीले वडाको तर्फबाट माछा संरक्षण समूहलाई ओरिन्टेसन, अनि उनीहरूलाई कुन जातको जाल प्रयोग गर्ने, कुन नगर्ने, कुन जातको माछा मार्ने, कुन जातको नमार्ने भन्ने खालका कुराको लागि हामीले छलफल चलायौँ,’ आलिताल गाउँपालिका– ३ का वडा अध्यक्ष लोकेश महराले भने,‘पहिलेको भन्दा अहिले धेरै हदसम्म कमी भएको छ ।

पहिले यो सिजनमा खोलामा एकै पटकमा पन्ध्र बीस जना मछुवाहरू देख्न पाइन्थ्यो । हाल आएर त्यस्तो देखिएको छैन ।’ आलिताल गाउँपालिका –८ का वडा अध्यक्ष गणेशबहादुर थापामगरले खुल्ला रूपमा हिजोका दिनमा माछा मार्ने प्रचलन थियो तर अहिले हानिकारक विधिद्वारा माछा मार्ने काम नियन्त्रणमा आएको बताए ।

गाउँपालिकाले जलीय जैविक विविधता, प्राकृतिक वातावरण, पानीका मुहान सबैको संरक्षण र प्रवर्द्धनका लागि नीतिमा नै पारित गरेको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदले तीन वटा आलितालमा तीन वटा परशुराममा बनेका समूहको संरक्षण गर्ने उनीहरूले मागेको सहयोग नगरपालिकाले गर्ने बताए । विनाशसले सङ्कट निम्त्याउँछ । संरक्षणले भने समस्या समाधान गर्छ । रंगुन जलाधार क्षेत्रमा थालिएको माछा संरक्षण अभियान पनि सङ्कट समाधान गर्ने बलियो आधार बन्न सक्छ । त्यसैले यस्ता सामूहिक कार्यलाई निरन्तरता दिन आवश्यक हुन्छ ।

Facebook Comments