चितवन राष्ट्रिय निकुञ्जको दीगो विकासका लागि सबैकाे प्रयास जरूरी

काठमाडाैँ – राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचरलभर) पर्यटक माझ अत्यन्त लोकप्रिय छ। किनकी संकटावस्थामा रहेका बाघ, एकसिङ्गे गैंडा, जंगली हात्ती, चितुवा र अनेकौं प्रजातिका चरा चुरुङ्गीहरू, पुतलीहरू, मृग, जरायो, सरिसृप, भालु तथा अकवाटिक (माछा, गोही) लाइफ र जंगली फूल, फल तथा वनस्पतिहरूले सहजै आकर्षित गर्ने गर्दछ।

सन् ६० को दशक अघिसम्म यो राप्तिदून उपत्यका बाक्लो वनले ठाकिएको थियो। यहाँका रैथाने थारु वासिन्दाहरू जसले औलो पचाइसकेका थिए, उनीहरूको मात्र बसोवास थियो। तर, अमेरिकी सरकारको सहयोगमा औलो उन्मूलनपछि विशेष गरेर यहाँको नयाँ मलिलो जग्गामा पहाडबाट बसाई सर्नेहरूको ओइरो नै लाग्यो। केही वर्षसम्म पशुपालन, अन्नबाली तथा तेलहन उत्पादनबाट चितवनवासीहरूले राम्रो आय आर्जन गर्दै थिए। त्यस बाहेक अन्य आय आर्जनका विकल्पबारे मानिसहरूलाई जनकारी नै थिएन। तर सन् १९६५ मा कोपम्यानले कसरा (चितवन) मा ‘टाइगर टप्स’ नामक रिसोर्ट स्थापना गरेर जंगलमा रहेका वन्यजन्तु अवलोकन गराए।

लेखक : पूर्णहरि अमात्य

कोपम्यान पर्यटन व्यवसायी थिएनन्। उनी विश्व खाद्य कृषि संगठन (एफ.ए.ओ.) का विज्ञ भएर नेपाल आएपछि लहडबाजीमा उक्त रिसोर्ट खेलेका थिए । कृषि विज्ञता एउटा विधा र पर्यटन अर्को विधा भएकोले होला तिनी उक्त रिसोर्ट चलाउन सफल भएनन्। त्यसपछि बेलायती बैंकर जिम एड्वर्ड ओभरल्याड टुर हुँदै (सतह मार्ग) नेपाल भ्रमणमा आएकाले टाइगर टप्स टेकओभर (सञ्चालन) गरे। चातुर्यपूर्ण तरिकाले एक समयमा अमेरिकाको प्रतिष्ठित ठूलो वायु सेवा कम्पनी पानामको सहयोगमा अमेरिका, युरोप तथा अष्ट्रेलियामा आक्रामक बजारीकरण पश्चात वन्यजन्तु तथा प्रकृतिप्रेमी पर्यटक माझ चितवन राष्ट्रिय निकुञ्ज अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भयो।

टाइगर टप्स सञ्चालनमा आइसकेपछि सन् १९७२/७३ तिर मात्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग वनका कर्मचारी विश्वनाथ उप्रेतीको नेतृत्वमा स्थापना भयो। त्यसो त राणाकालमा वन्यजन्तुको जथाभावी शिकार (मात्र सामान्य नेपालीलाई) नहोस भनेर टिकौली (भरतपुर जनिक) गैँडा गस्ती नामाकरण गरेर एउटा युनिट पनि वन विभाग अन्तर्गत खोलिएको थियो। तर, राणा शासकहरूलाई मन लागेजति वन्यजन्तु शिकार गर्ने छुट थियो। तिनीहरू हरेक वर्ष हिउँदमा काठमाडौँको चिसो छल्न तराईका न्यानो हावापानी भएको चितवन र नवलपरासी, कोशी टप्पु (सुनसरी), बाँके, बर्दिया र कञ्चनपुरमा ठूलो लावा लस्करका साथ महिनौं शिकारमा रहन्थे। त्यतिमात्र होइन आफू शिकारबाट मनोरञ्जन त लिन्थे अनि तिनताक बलिया साम्राज्यवादी शक्ति बेलायती शासकहरूलाई रिझाउन शिकारमा आमन्त्रण गर्दथे। सन् १९११ मा राणा प्रधानमन्त्री चन्द्र शमसेरको निम्तोमा बेलायतका राजा जर्ज पञ्चमले मिनवनको घनघोर जंगलमा ११ वटा पाटेबाघ लगायत अन्य जनावरहरूको शिकार गरेर राम्रो मनोरञ्जन लिए। उक्त शिकारबारे बेलायती छापाहरूमा समेत चर्चा भएको कथन छ। राणाकालदेखि राजा वीरेन्द्रको कालसम्म मुलुक भित्र र बाहिर समय परिस्थितिमा परिवर्तनहरूलाई मध्येनजर राख्दै वन्यजन्तुको अनियन्त्रित शिकार गर्नु मुनासिव नहुने ठानेर राजा महेन्द्रको शिकार खेल्ने ठाउँ मृगकुञ्ज (पूर्वी चितवन राप्ति वारिपारी विशेष संरक्षित क्षेत्र) को चार किल्लामा निकुञ्ज स्थापनार्थ सर्वेक्षण भयो।

वि.सं. २०३० को प्रारम्भमा स्थापित तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्जका प्रथम चिफ वार्डेन डा. तीर्थमान मास्के उक्त पदमा बहाल भइ जाँदाको स्मरण सुनाउँदै यो पंक्तिकारलाई यसो भने, ‘आमत्य जी त्यो बेला स्थानीय वासिन्दाहरूले परापूर्वकालदेखि आफ्ना पाल्तु जनावरलाई चरिचरणका लागि छाड्ने गर्दथे । मैले अब संरक्षित क्षेत्र भएकोले मनपरी आफ्नो गाई, भैंसी आदि छाड्नु भएन नत्र हामीले जरिवाना गर्नु पर्ने हुन्छ भन्दा उनिहरूसँग जहिले पनि बाझ्नु पर्ने स्थिति सृजना हुन्थ्यो । कुनैबेला गैँडा बाघका लागि प्रसिद्ध चितवनमा गैंडाको संख्या १०० भन्दा तल झरिसकेको थियो । र, पहाडबाट अनियन्त्रित आप्रवासले सम्पूर्ण परिस्थितिक प्रणाली (इको सिस्टम) संकटापन अवस्थामा आइसकेको थियो। डा. मास्के पुराना दिन सम्झँदै भन्छन, ‘सौराहमा एउटा होटल पनि थिएन जहाँ खाना र खाजा खान सकियोस् । सौराहमा रामबहादुर श्रेष्ठको एउटा फूसको घर थियो, हामी यति जनालाई खाना बनाइदिनु पर्यो भने भात खान पाइन्थ्यो नत्र उपवास बस्नुपर्ने स्थिति थियो । आज चितवनमा फस्टाउँदो पर्यटन व्यवसायबाट व्यवसायी मालामाल भएका छन् । तर, स्थानीय वासिन्दहरूले खासै लाभ पाएका छैनन्।

यसरी चितवन लगायत अन्य संरक्षित क्षेत्रहरूमा समेत निकुञ्ज वरिपरीका वासिन्दाहरूको दैनिक जीवन यापनमा प्रत्यक्ष असर प¥यो। किनकी स्थानीय वासिन्दाहरूलाई विहान बेलुका खाना पकाउन दाउरा, गाई भैंसी र खसी बाख्रालाई घाँस, अनि पिँडालु, गिठ्ठा, भ्याकुर, कन्दमूल, निग्रो आदि साग सब्जीहरू, फलफूल तथा हरेक वर्ष छानो छाउने खर त्यही निकुञ्ज नपसी धरै छैन । राप्ती र नारायणी नदीमा माछा मारेर शताब्दीदेखि गुजारा चलाइरहेका बोटे, माझीहरू यो पंक्तिकार सँग गहभरी आँशु राख्दै भने, ‘सर यो निकुञ्जको जीवजन्तुहरू देखाएर होटलवालाहरूले पैसा कमाई रहेका छन्, तर हाम्रो पेटमा लात मारेर।’ यो कटुसत्य चितवन तथा निकुञ्जका अन्य मध्यवर्ति क्षेत्रहरूका वासिन्दाको पीडा हो।

त्यस्तै लहलहाउँदो धान, गहुँ, मकै, तोरी र आलु आदी बाली वन्यजन्तुले खाएर नोक्सान प्रतिवर्ष गर्ने गर्दछ । बालिनाली त खायो खायो बेलाबखत बाघ, चितृवा, जंगली हात्ती र भालुको आक्रमणबाट ज्यान समेत जान्छ । जंगली जनावरहरूको आक्रमणबाट घाइते हुनेहरूको त के कुरा गर्ने भन्ने चितवनवासीहरूको भनाई छ । केही वर्षसम्म सञ्चालित पाक्र्स एण्ड पिपुल कार्यक्रमले स्थानीयवासीलाई केही राहत दियो । तर, क्षतिको (मानवीय, भौतिक र बालिनाली) हिसाब त्यस्तो राहतले हुन सक्दैन । निकुञ्जले गर्ने आम्दानीको केही प्रतिशत स्थानीय विकासमा खर्चिनु स्वागत योग्य कुरा हो। तर, त्यहाँ मानव अनुहारलाई नजर अन्दाज कुनै हालतमा गरिनु हुँदैन । यलोस्टोन, मोसोमाइट र बान्फ जस्ता राष्ट्रिय निकुञ्जको संरक्षण रणनीति यहाँ पनि लागू गर्नु पर्छ भन्नु मुर्खता बाहेक अरु केही हुने छैन । त्यहाँको आर्थिक र सामाजिक परिवेश हाम्रो भन्दा नितान्त भिन्न छन् । त्यहाँका वासिन्दाहरू आफ्नो दैनिक जीवन चलाउन निकुञ्जहरूमा निर्भर छैन।

तर, चितवनको पूर्वी सकेक्टर भनिने पहिले बढ्यौली गा.वि.स. हाल रत्ननगर न.पा. को ५–८ वडासम्म सौराह क्षेत्र पर्यटनको केन्द्रविन्दु भएको छ र यसको बुहुआयामिक सकारात्मक प्रभावको उल्लेख हुनु पनि न्याय संगत हुनेछ । सौराहको कुरा छाडौं नरायणगढ बजारमा समेत हाल लिला चोक भनिने ठाउँमा वि.सं. २०२०÷२२ सालतिर मात्र एउटा लिला होटल थियो जहाँ भात खान पाइन्थ्यो र सामान्य वाससम्म पाइन्थ्यो । तर, त्यही नारायणगढ बजारमा बहु राष्ट्रिय ब्राण्डका वेस्टर्न फर्न रिसोर्ट, सफारी नारायणी रिसोर्ट (५२ रोपनीमा), आइल्याण्ड जंगल रिसोर्ट, सेञ्चुरी होटल र भरतपुर गार्डेन जस्ता सुविधा सम्पन्न रिसोर्टहरूले हाल न्यानो आतिथ्यता प्रदान गरिरहेको छ। नारायणगढ भरतपुर बजारको कोर एरियाको कुरा छाडौं त्यस वरपरका गैंडाको, टाँडी बजार र मौलाकाली मन्दिर जानेबाटो अनेक थरिका लज÷होटल, रेष्टराँ तथा बारहरू बल्ग्रेल्ती छन् । शास्वतधाम (पूर्वी परासी जिल्ला पूर्व पश्चिम राजमार्ग) थप पर्यटकीय गन्तव्य (हाइवे टुरिज्म) बनेको छ।

जंगल सफारीका लागि विश्व विख्यात चितवन र त्यसमा पनि एलिट क्लास (सम्रान्त वर्ग) को रोजाईमा रहेको टाइगर टप्स रिसोर्ट (कसरा) मा विशेष गरेर हिउँद महिनामा निकै चहलपहल हुन्थ्यो । र, यसले आयोजना गर्ने मेधौलीको घाँसे चौरमा अन्तर्राष्ट्रिय एलिफ्याण्ट पोलो पश्चिमा पर्यटकका लागि विशेष आकर्षण हुने गर्दथ्यो। चितवनलाई पर्यटन उद्गमस्थलमा नेपाललाई परिचय गराउनमा उसको योगदानलाई हामीले भुल्नु हुँदैन। घाँसे मैदानको रुपमा भएता पनि मेधौलीमा एयरपोर्ट हुनुमा एउटा कारण टाइगर टप्सले गर्दा पनि हो। टाइगर टप्स पछि एलिफ्याण्ट क्याम्प, सफारी नारायणी लज, चितवन जंगल लज, आइल्याण्ड जंगल रिसोर्ट र मचान वाइल्ड तथा सौराहमा रहेका विभिन्न स्तरका रिसोर्ट÷होटल, रेष्टुराँ र बारले त्यहाँका सयौं मानिसहरूलाई रोजगारी प्रदान गरेको छ। स्थानीय कृषिजन्य उत्पादन, माछा, मासु, अण्डा, दूग्धजन्य पदार्थ, फलफूल तथा तरकारीले आफ्नै घर आँगनमा बजार पाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार आ.व.२०७४/०७५ मा संरक्षित तथा निकुञ्ज क्षेत्रमा ६ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेको देखाउँछ । र, यसले पर्यटकले भ्रमण गर्ने मध्ये ठूलो संख्यामा प्रकृतिप्रेमीहरू हुन्छन् भन्ने स्पष्ट देखाउँछ र त्यसमा चितवन पहिलो नम्बरमा आउँछ । तर, चितवनको विशेष गरेर सौराहको एक डेढ किलोमिटर क्षेत्र दोश्रो ठमेल हुने तीव्र गतिमा बढिरहेको भान हुन्छ । राप्तिको किनारमा पक्की ढलान गरी अड्याएका अट्टालिकाहरूले त्यहाँको प्राकृतिक सौन्दर्यतामा ग्रहण लगाएको छ । त्यसैगरी राप्तिकै किनारमा साउण्ड बक्स राखेर ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा गीत बजाइनाले शान्त प्राकृतिक वातावरणमा रमाउन चाहने प्रकृतिप्रेमी पर्यटकको मन कुँडिएको छ।

पौल गोन्जालवेज (का.मु. निर्देशक, इक्यूमेनिकल कोलिसन अन थल्र्ड वल्र्ड टुरिज्म) तेस्रो विश्वमा पर्यटनले ल्याएको समस्या बारे यसो भन्छन्, ‘बटमलाइन के हो भने पर्यटनले गर्दा शहरीकरणको विकास हुन्छ जसले गर्दा प्रकृति तथा मानव द्वन्द्व चर्किन्छ (पिपुल एण्ड दि प्लानेट) र, चितवनमा पनि त्यही समस्या दृष्टिगोचर भएका छन्। पर्यटन व्यवसायीहरू दीगो पर्यटनको विकासभन्दा छोटो अवधिमा धेरै पैसा कमाउने मानसिकताले ग्रस्त देखिन्छन्। सूर्योदय देखि सूर्यास्तसम्म पर्यटकलाई घुमाउन नपुगेर सौराहमा रात बिताउने पर्यटकलाई राप्तिको किनारै किनार लोथरसम्म रात्रीकालिन टुर प्याकेज गराउने तानावाना बुन्दैछन्, पर्यटकको बसाई लम्ब्याउने नाममा। तर, सौराहका पर्यटन व्यवसायीहरूमा वन्यजन्तुको आहार तथा विहार बाटो त्यति सम्वेदनशिलता देखिएन। किनकी वन्यजन्तु रातको निसाट अँध्यारोमा नै आफ्नो शिकार गर्नुको साथै मेटिङ (सहवास) पनि त्यही समयमा हुने हुँदा मानव कृयाकलापले नकारात्मक असर पर्ने प्रवल सम्भावनालाई नजरअन्दाज गर्न मिल्ला ?

चितवनमा म्याकारान्था झारको समस्या, गृष्मकालमा खोलाहरू सुक्दै जाने, ग्रासल्याण्ड (घाँसे चौर) घट्दै जाने र सुकुम्वासी समस्याले चितवन निकुञ्जलाई गाँजेको बारे सम्बन्धित निकायहरू सम्वेदनशील देखिँदैनन्। र, अर्को महत्त्वपूर्ण कुरा चितवन राष्ट्रिय निकुञ्जले कति पर्यटक धान्ने (क्यारिङ क्यापासिटी) अनि त्यस्तै त्यहाँ गैंडा र बाघलाई विचरण गर्न ठाउँको अभावले एक अर्का जुधेर अकाल मृत्यु भइरहने लगायतका विषयमा वैज्ञानिक अध्ययनको आवश्यकता रहेको विज्ञहरू बताउँछन्। विश्व प्राकृतिक सम्पदामा सूचीमा रहेकाे चितवन राष्ट्रिय निकुञ्जको दीगो विकासका लागि सबैको सामूहिक प्रयास जरुरी छ।

Facebook Comments