सुक्दैछन् पर्यटक लोभ्याउने झरना, सरकारी निकाय बेखबर

नुवाकोट –  आजभन्दा केही वर्ष पहिले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको ड्यामदेखि पावर हाउस क्षेत्रसम्मका हरेक खोल्सा तथा झरनामा कलकल पानी बगिरहेको देखिन्थ्यो। हिउँद, बर्खा जुनसुकै मौसम होस पहाडको टुप्पोबाट झरेको पानीको मनोरम दृष्यले जो कोहीलाई पनि मोहित पाथ्र्यो।

तर, अहिले उक्त क्षेत्रमा पहिले जस्तो झरनाहरू कमै मात्र देखिन्छ। त्यहाँका प्राय झरनामा पानी होइन काला पत्थर मात्र देखिन्छ। अहिले पनि उक्त क्षेत्रमा मनोरम झरना नभएका त होइन। तर, विगतको तुलनामा झरनाहरू क्रमशः सुक्न थालेका छन्। केही सुकिसकेका छन् भने केहीमा पानीको मात्रा निरन्तर घट्दो छ। स्थानीयका अनुसार विगतको तुलनामा अहिले निकै कम संख्यामा झरनाहरू रहेका छन्।

विश्व तापमानमा आएको वृद्धि, जलवायु परिवर्तन, जलाधार क्षेत्रको क्षयीकरण, बढ्दो भौतिक संरचना निर्माण लगायतका कारणले बर्सेनी पानीका मुहान तथा झरना सुक्दै गएको सिँचाई तथा जलश्रोत विज्ञ इन्जिनियर डाक्टर कृष्ण चन्द्र प्रसाद साह बताउँछन्।


‘पछिल्लो समय बढ्दै गएको भौतिक संरचना निर्माण, पहाड छेडेर बनाइएको सडक बाटो आदिले गर्दा जमिनमा हुने पानीको रिचार्ज प्रक्रियालाई असर पारिरहेको छ,’ उनले भने, ‘जंगल पातलिँदै जाने, पहिरो जाने लगायतका विभिन्न कारणले जलाधार क्षेत्रको क्षयीकरण पनि बढिरहेको छ, यसले गर्दा झरना सुक्दै गएको छ।’

यो बाहेक जलवायु परिवर्तन र विश्व तापमानमा आएको वृद्धिले हिउँ चाँडै नै पग्लिने, एकै समयमा धेरै पानी पर्ने जस्ता समस्या उत्पन्न भएको र यसले पनि पानीकाे रिचार्ज प्रक्रियामा असर पर्ने उनको भनाइ छ।

यसरी पर्यटक लोभ्याउने झरना सुक्दै जाँदा यस विषयमा सरकारी तवरबाट भने कुनै पनि अध्ययन भने भएको छैन्। जलश्रोत तथा सिँचाई विभागका उपमहानिर्देशक शिवकुमार बस्नेतका अनुसार नेपालमा भएका नदीको विषयमा विस्तृत अध्ययन भएपनि झरनाको विषयमा भने कुनै पनि कार्य भएको छैन्।

‘नेपालका खोला तथा नदीमा पानी कम हुने, अत्याधिक मात्रामा बाढी आउने लगायतका विषयमा सरकारी तवरबाट अध्ययन अनुसन्धान भएको छ,’ उनले भने, ‘नेपालमा कति झरना छन्, कति सुके, कुनको अवस्था कस्तो छ भन्ने तर्फ अहिलेसम्म हामीले अध्ययन गरेका छैनौँ।’

बर्सेनी सुन्दर अनि मनोरम झरना सुक्दै जाँदा सरकारी तवरबाटै संरक्षणका लागि कदम चालिनुपर्नेमा त्यसो गरेको पाइँदैन । सरकारले आगमी भ्रमण वर्ष २०२० को लागि विभिन्न तयारी गरेपनि पर्यटक लोभ्याउने झरना जोगाउने तर्फ भने खासै ध्यान दिएको देखिँदैन।

Facebook Comments