झ्याउमा प्रतिबन्ध लगाउँदा राजश्व घाटा

बाँके-झ्याउ सङ्कलन तथा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न यहाँका व्यवसायीले माग गरेका छन् ।

राज्यले हचुवाको भरमा झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाउँदा आफ्नो लगानी डुबेको भन्दै जडीबुटी व्यवसायीहरुले वैज्ञानिक अध्ययन गरी संकलन तथा निकासीको वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।

राज्यले झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसायीले आफूहरु मारमा परेको बताएका छन् । “राज्यले नीति बनाउँदा व्यवसायीदेखि स्थानीयस्तरको सङ्कलकसम्मको हितमा हुने गरी नीति बनाउनुपर्छ”, व्यवसायी बताउँछन् । व्यवसायीसँग परामर्श नगरेरै हचुवाका भरमा निकासी र सङ्कलन गर्न बन्द गरिदिँदा व्यवसायी मारमा परेको उनीहरु बताउँछन् ।

रुखको साहारामा पलाउने तेस्रो प्रजातिको झ्याउ सङ्कलन र निकासीमा सरकारले रोक लगाएपछि वर्षेनी करोडौँ राजश्व गुम्दै आएको छ । साइटिस सूचीमा नपरेको झ्याउलाई सरकारले बिनाकारण सङ्कलन र निकासी बन्द गरेको व्यवसायी बताउँछन् । निकासीमा रोक लगाउँदा वर्षेनी करोडौँ राजश्व सङ्कलन हुने झ्याउ जङ्गलमा खेर गइरहेको छ ।

वार्षिकरुपमा जङ्गलमा उत्पादन हुने झ्याउको अवस्था अध्ययन नहुँदा झण्डै ११ वर्षदेखि करोडौँ राजश्व खेर गएको व्यवसायी बताउँछन् । कहाँ कति छ भन्ने अवस्था पत्ता लगाई सङ्कलन र निकासी खुला गर्नुपर्ने जडीबुटी व्यवसायी कैलाश शर्माको भनाइ छ । झ्याउ हुनु र नहुनुमा कुनै वैज्ञानिक र पर्यवरणीय आधार नभएको उनी बताउछन्।

झ्याउ पिछडिएका, गरीब र तल्लो वर्गले सङ्कलन गर्ने भएकाले खुला गरे उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने शर्मा बताउछन्। जङ्गलमा पाइने वस्तुलाई दुरुपयोग गर्न नहुने तर सदुपयोग गर्न नपाउने भए जङ्गलको अर्थ नहुने भन्दै बिना आधार निकासीमा रोक लगाउँदै झ्याउ सङ्कलन गर्दा रुख काटिन्छ भन्ने आधार सही नभएको उनको भनाइ छ ।

झ्याउको प्रयोग अचार तथा मसलाको रुपमा गरिने जडीबुटी व्यवसायी बताउँछन् । भारतमा त्यसको माग रहेकाले खेर जानुभन्दा सङ्कलन गरेर बेच्नु नै सदुपयोग हुने व्यवसायीको भनाइ छ । सङ्कलन बन्द गर्नुले वातावरणमा पार्ने राम्रा र नराम्रा असरलाई उल्लेख गरी खुला गर्न व्यवयासीले सरकारसँग माग गरेका छन् ।

“झ्याउ जङ्गलमा त्यसै खेर गइरहेको छ । हिउँद लागेपछि रुखमा टाँसिएर देखिने झ्याउ वर्षायाममा कुहिएर पानीसँगै बग्छ,’ प्रदेशसभा सदस्यसमेत रहेका नेपाल जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष मो याकुव अन्सारी भन्छन् “झ्याउ प्रत्येक वर्ष ‘सिजन’मा सङ्कलन गर्नुपर्छ नत्र त्यो नष्ट हुन्छ ।”

जडीबुटी व्यवसायी सञ्जय जैनले रुखमा पाइने झ्याउ निकासीमा सरकारले बिनाकारण रोक लगाएपछि वार्षिक करोडौँ राजश्वमा समेत घाटा भइरहेको अध्यक्ष अन्सारीले बताए । उनले भने, “झ्याउ हरेक वर्ष सङ्कलन गर्ने हो भने मात्रै काम लाग्छ, सङ्कलन नगर्ने हो भने कुहिएर रुखमै सडेर वर्षा लागेपछि पानीसँगै बगेर खेर जान्छ ।”

वनस्पति विभाग र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सिफारिसमा सरकारले २०६७ पुस २६ गते राजपत्रमा सूचना प्रकाशित गरी निकासी बन्द गरेको थियो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष अन्सारीले सङ्घले झ्याउको सङ्कलन र निकासी सूचारु गर्न पहल गरिरहेको जानकारी दियो ।

सरकारले जडीबुटी झ्याउ सङ्कलन र निकासीमा प्रतिबन्ध लगाएपछि करोडौँको जडीबुटी जङ्गलमै नष्ट भइरहेको जडीबुटी व्यवसायी बताउँछन् । सरकारले झ्याउ सङ्कलन रोकेपछि अहिले जङ्गलमा करोडौँ मूल्यका जडीबुटी त्यसै खेर गइरहेको यहाँका जडीबुटी व्यवसायीको भनाइ छ । झ्याउ बुट्यानमा लाग्ने गर्दछ ।

सरकारले झ्याउ सङ्कलन गर्दा बुट्यान नष्ट गर्न सक्ने सम्भावना रहेको भन्दै सङ्कलनमा रोक लगाएको हो तर, जडीबुटी व्यवसायी शर्मा झ्याउ बुट्यानमा लाग्ने ‘लेउ’जस्तै भएकाले यसको सङ्कलनले बुट्यानमा कुनै असर नपर्ने भन्दै झ्याउ सङ्कलन नगर्दा सङ्कलनकर्ताले रोजगारी, जडीबुटी व्यवसायीले कारोवार र सरकारले राजश्व गुमाइरहेको बताउछन् ।

“झ्याउ संरक्षण हुने भए हाल रोके पनि भविष्यमा त्यसलाई उपयोग गर्न सकिन्थ्यो”, जडीबुटी व्यवसायी टङ्कप्रसाद शर्मा भन्छन्, “तर, झ्याउ सिजनमा सङ्कलन नगर्ने हो भने नष्ट भएर खेर जान्छ, हाल त्यही भइरहेको छ ।” जडिबुटी व्यवसायी सञ्जय जैन झ्याउ सङ्कलन गरेर जीविकोपार्जन गर्नेको रोजगारीसमेत गुमेको बताउछन्।

झ्याउ ठूलो रुखमा नभई बुट्ययानमा मात्र हुने गर्दछ । ढुसी र लेउ मिलेर तेस्रो प्रजातिको झ्याउ बन्छ । नेपालमा मात्र पाइने झ्याउ इन्डेमिक प्रजाति हो । पर्यवरणीय आवश्यकताभन्दा पनि झ्याउ वृद्धि हुन समय लाग्ने, चाहेर उत्पादन गर्न नसकिने र वायु प्रदूषणले यो लोप हुने भएकाले सङ्कलन रोक्नु उचित नभएको व्यवसायीको भनाइ छ ।

मनोमानी हिसाबले रुख काटिन्छ भनेर झ्याउ सङ्कलन रोक लगाउँदा राज्यले आफ्नो स्रोत गुमाएको व्यवसायीको भनाइ छ । नेपालको झ्याउ भारतमा निर्यात हुने गरेको तथ्याङ्क छ । साइटिसको सूचीमा नपरेको झ्याउलाई लोठ सल्ला, सुगन्ध कोकिला, जटामसी, सर्पगन्धाजस्ता जडीबुटीसँग तुलना गरेर प्रतिबन्ध लगाउनु गलत भएको व्यवसायी बताउँछन् ।रासस

Facebook Comments