समृद्धिका लागि पर्यटन

काठमाडाैँ – पर्यटन हाल विश्वको एउटा ठूलो तथा तीव्र गतिमा अघि बढिरहेको उद्योग हो। विश्व पर्यटन संगठन (यु.एन.डब्लु.टि.ओ.) को मुख्यालय म्याड्रिड(स्पेन)का अनुसार सन् २०२० मा १ अर्ब २० पर्यटक विश्व भ्रमणमा निस्कने छन्। विश्व स्तरमा पर्यटनलाई बहुआयामिक, विविधायुक्त तथा पृथक भनिएको छ। पर्यटनलाई किन बहु आयामिक भनिएको छ भने यसका अनेकौं आपूर्तिकर्ताहरू हुन्छन् जस्तै प्राइभेट व्यवसायी कम्पनीहरू (ट्राभल एजेन्सीहरू, टुर अपरेटरहरू, ट्रेकिङ कम्पनीहरू एयरलाइन्सहरू, होटल÷रिसोर्टहरू आदि) सार्वजनिक निकायहरू (महानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा पर्यटन शाखा) तथा स्वयंसेवी संस्थाहरू जस्तै जेसिज, रोटरी र लायन्स(अन्तराष्ट्रिय आवद्ध संस्था) र स्थानीय स्तरका स्वयंसेवी संस्थाहरू पनि पर्यटन गतिविधिमा संलग्न भएको पाइन्छ ।

लेखक : पूर्णहरि अमात्य

पर्यटकीय गन्तव्यहरूमा आतिथ्य प्रदान गर्ने समुदायहरूले विभिन्न रुचीका पर्यटकहरूको भिन्न भिन्न इच्छा तथा आकांक्षाहरू परिपूर्ति गर्नुपर्ने हुन्छ । किनकी हाम्रो पूर्वीय दर्शन अनुसार ‘अतिथि देवो भवः’ भन्ने उक्ति शताब्दियौं अघिदेखि भन्दै आइएको छ। हाल विकसित तथा विकासोन्मुख मुलुक सबैले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेको छ । र, यस उद्योगलाई आर्थिक विकासको संवाहक भन्ने कुरामा कुनै दुविधा देखिँदैन। पर्यटन व्यवसायले २१औं शताब्दीमा ठूलो फ्डको मारेकोले होला यसप्रति विश्व समुदायले अत्यन्त चासो र अभिरुची राखेको सजिलै बुझिन्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकको कुरा छाडौं अमेरिका, युरोप, जापान तथा अष्ट्रेलिया जस्ता विकसित राष्ट्रहरू समेत पर्यटन उद्गम मुलुकहरूमा आफ्ना नियोगहरूमार्फत आक्रमक ढङ्गले प्रचार प्रसार तथा बजारीकरण गर्न उद्धत छन्। भारतले फेस्टिभल अफ इण्डिया इनक्रेडिबल इण्डिया, मलेशियाले टुर्ली एशिया र थाइल्याण्डले इञ्जोटिक थाइल्याण्ड (इनच्याण्टिङ थाइल्याण्ड) जस्ता लोभ्याउने नाराहरू घन्काएर आफ्ना देशमा पर्यटक बढी भित्र्याउन हरसम्भव पयत्नरत छन् ।

नेपालले पनि पर्यटकलाई नेपाल भ्रमण गर्न नेपाल ‘फोर अल सिजन्स’ तथा ‘वन्स इज नट इनफ’ जस्ता आकर्षक नारा घन्काएको छ । केही वर्ष अघि नेपाल पर्यटन बोर्डले भारतमा पर्यटनको बजारिकण गर्न एउटा कार्यलय स्थापना गर्ने निर्णय गरेर एकजनालाई जिम्मेवारी दिने लगभग तय भै सक्दा समेत हाम्रो सरकारको उदासिनताले उक्त कार्यसफल हुन नसकेको कुरा सम्बद्ध पक्षले यस पंक्तिकारलाई बताएका थिए।

अहिलेको वैश्य युगमा राजनीतिक नारामात्र घन्काएर जनताको जीवनस्तर उकास्न सकिन्न। जनताको जीवनस्तर अभिवृद्धिका लागि आर्थिक कृयाकलापमा वृद्धि हुनु जरुरी छ। यसको प्रत्यक्ष उदाहरण हो, हाम्रो उत्तरको छिमेकी साम्यवादी चीनको बजारमुखी अर्थतन्त्रले अमेरिका जस्तो शक्तिशाली देशसँग टक्कर लिनु। अमेरिका जस्तो शक्ति सम्पन्न राष्ट्रसँग तत्कालिन सोभियत संघले आर्थिक मामिलामा भन्दा सशस्त्र होडबाजीमा लागेर मुलुक विखण्डन भएको इतिहास हाम्रो सामु छ। छिमेकी चीन र भारतमा हाम्रा दूतावासमा सैनिक सहचारी राख्ने कुरा न्याय संगत छ । तर बंगलादेशस्थित नेपाली दूतावासमा सैनिक सहचारी पदको सृजना गरेर जनताको करबाट उठाएको पैसाको दुरुपयोग भइरहेको छ। नेपालको कृषिजन्य आदि उत्पादनहरूमा बंगलादेशको चर्को भन्सारले अन्य मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको कटु यथार्थ हो । यो मामिलामा भुटानले बाजी मारेको छ, बंगलादेशसँग द्विपक्षीय सम्झौता गरेर आफ्ना उत्पादन वर्षौदेखि बिक्री गरिरेहको नेपालले टुलुटुलु हेरिरहेको बिडम्बना छ।

नेपालले म्यानुफ्याक्चरिङ उद्योगका वस्तुहरू विदेशी बजारमा प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । किनकी कच्चा पदार्थको अभाव र उच्च प्रविधि तथा सीपको अभावमा हाम्रा उत्पादन महँगोका साथ गुणस्तरीय हुँदैनन् । अपवादका रुपमा विदेशी कच्चा पदार्थ आयात गरेर जि.आई.पाइप तथा वायर भारत निर्यात गर्न सफल भएका छौं। त्यसैगरी ग्लोबल टेण्डर विश्व बैंक र भुटानमा ट्रान्सफर (विद्युत) आपूर्ति गर्न पाउनु नेपालका लागि पक्कै पनि गौरवको विषय हो । हाई भ्यालु (उच्चमूल्य) का प्रशोधित जडिबुटीबाट निर्मित इन्सेसियल आयल, क्रिम, लोसन र स्प्रे पनि नेपालले निर्यात गर्न सकिरहेको छैन। अलैंचीको मूल्य घटबढ गराउनमा भारतीय व्यापारीको एकाधिकार भएकोले एकमन (४० के.जी.) को नेपाली किसानले १ लाख २० हजार सम्म पाएको दन्त्य कथा झैं भएको छ र त्यसको भाउ हाल २५–३० हजार झरेको छ।

त्यसमा पनि अलैंचीमा फङ्स (ढुसी) लाग्ने रोगले किसानहरू अन्य बालीको खेतीतर्फ उन्मुख हुनुपर्ने बाध्यता बी.बी.सी. नेपाली सेवाले मंसिर ४ मा गरेको पूर्वाञ्चलका किसानसँगको अन्तरवार्ताबाट प्रस्टिन्छ । नेपाली अग्र्यानिक कफीको विश्व बजारमा पाँच हजार टन माग छ। तर हामीले ६०० टन भन्दा बढी कफी निर्यात गर्न सकिरहेका छैनौं । उच्च हिमाली भेगको हिउँ पग्लेर प्राकृतिक मिनरल्स (खनिज पदार्थहरू) मिश्रित खानेपानीको गुणस्तरीयताको ग्यारेण्टी दिन सकिए मध्यपूर्व लगायत अन्य देशहरूमा खानेपानी आपूर्ति गरेर नेपालले राम्रो लाभ लिन सक्छ । झण्डै दुईदशक अघि आल्पस (अष्ट्रिया) मा उत्पादित बोतल बन्द खानेपानी याडिश होटल काठमाडौंमा चाखेको यो पंक्तिकारलाई स्मरण हुन्छ। रेमिट्यान्स (विप्रेशन) को कुनै भर छैन ।

हामीसँग एउटै विकल्प भनेको पर्यटन नै हो । किनकी यसका कच्चा पदार्थ उच्च सुन्दर हिउँ चुचुराहरू, भञ्ज्याङहरू, लामबद्ध पूर्वदेखि पश्चिमका पहाडी तरेलीहरू र त्यहाँ दूधझैं बग्ने झरनाहरू, ताल तलैयाहरू अनि विश्वमै दूर्लभ पाटेबाट, गैंडा, चराचुरुङ्गीहरू, फलफूल तथा वनस्पतिहरू हुन् । त्यसबाहेक भौतिक सम्पत्तिले गरिबझैं देखिने भएता पनि नेपालीहरूको निश्चल मुस्कानबाट विदेशी पर्यटक अच्चमित भएको कुरा यो पंक्तिकारले टाइगर टप्स (चितवन) माछापुच्छ्र«े लज, फूलबारी रिसोर्ट (दुवै पोखरा) र अन्नपूर्ण टे«किङ मार्गका उकाली ओरालीमा अभिजात्यबाट सुनेको छ । ट्रीप एडभाइजर, लोन्ली प्लानेट, बी.बी.सी. तथा अन्य सञ्चार माध्यमहरूले नेपालको भौतिक पूर्वाधारको दूरावस्था, काठमाडौँ प्रदूषण तथा टी.आइ.ए.को कमी कमजोरी बाहेक सबैले यहाँ (नेपाल) को प्राकृतिक सौन्दर्यताको मूल कण्ठले प्रशंसा गर्नमा कुनै कञ्जुसी गरेका छैनन् । विभिन्न मुलुकसँग हवाई सम्झौता गरेर मात्र भएन नेपाल एयरलाइन्सको जहाजले लङ्हल (दुरी) को सोझो उडान गरेर अष्ट्रेलिया, जापान, कोरिया तथा युरोपका विभिन्न शहरबाट अभिजात्य पर्यटक भित्र्याउन पर्यटन मन्त्रालय र निजी पर्यटन व्यावसायीहरू तथा विदेश स्थित नेपाली नियोगहरूको समन्वयमा नेपाल भ्रमण गराउन अभियानकै रुपमा सञ्चालन गर्नु आवश्यक छ। किनकी एउटा पर्यटक आगमनले ११ जना सम्मले रोजगारी पाउने अध्ययनले पुष्टि गरेको छ । यो एउटा श्रम प्रधान र अन्य उद्योग÷व्यवसायको तुलनामा राम्रो प्रतिफल दिने व्यवसाय भएकोले पर्यटनको दीगो विकासमा नेपाल अग्रसर हुनु बाहेक हामीसँग अरु विकल्प छैन । किनकी हाम्रा सगरमाथा तथा अग्ला चुचुराहरू लक्षित गर्दै विदेशीले भन्ने गरेको विकज इट इज दियर (किनकी त्यो त्यहाँ छ) बाट समुचित लाभ लिन सकिए मात्र समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल हुने छ।

Facebook Comments