रसुवागढी–स्याप्रुवेशी सडक : बिजुलीको पोल र छाप्रो हटाउन नसक्दा रोकियो स्तरोन्नति(फोटो/भिडियो)


रसुवा
– चीनसँगको दोश्रो अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा ढिलाइ हुँदा सामान आयात तथा निर्यातमा कठिनाइ भएको छ।

सन् २०१४ मा चीनले रसुवागढीलाई दोश्रो अन्तर्राष्ट्रिय नाकाको रुपमा खुला गरेपनि सडक राम्रो नहुँदा सो मार्गबाट सामान आयात तथा निर्यात गर्न कठिन छ।

स्याप्रुवेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चीनले दुई लेनको बनाएर कालोपत्रे गर्ने सम्झौता भइसकेपनि नेपाली पक्षले त्यहाँको बिजुलीको पोल र अस्थायी टहरा, छाप्रो हटाउन नसक्दा काम शुरु हुन सकेको छैन्।

चीनले आफ्नो क्षेत्रतर्फ फराकिलो र राम्रो सडक बनाइसकेपनि नेपाली पक्षको कमजोरीका कारण उक्त सडक विस्तारमा ढिलाइ भएको गोसाईकुण्ड गाउँपालिका २ का वडाध्यक्ष दावा दिन्डुप तामाङ बताउँछन्।

‘सरकारले चीनबाट रेल ल्याउने कुरा गरिरहेको छ तर, अहिले भएको सडकलाई नै राम्रो बनाउन सकेको छैन’ उनले भने, ‘रेल आउने कहिले कहिले, अहिले भएको सडक विस्तार गर्ने हो भने चीनबाट सामान ल्याउन र पठाउन रेल कुर्नै पर्दैन।’

स्याप्रुवेशीदेखि रसुवागढीसम्मको सडक विस्तार तथा कालोपत्रे गर्न चीन तयार रहेपनि सडक विभागले विजुलीको पोल र सडक छेउछाउको छाप्रो र बस्ती हटाउन नसक्दा काम हुन नसकेको उनको भनाई छ।

तर, सडक विभाग भने स्थानीयको अवरोधका कारण उक्त खण्डको काम शुरु हुन नसकेको बताउँछ। स्याप्रुवेशी बजारका स्थानीयले मुआब्जा माग्दै विस्तारमा अवरोध श्रृजना गरेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माको भनाइ छ।

हाकाहाकीसँग कुरा गर्दै उनले स्थानीयले सडक मिचेर बनाएका घर, टहरा तथा छाप्रो हटाउन नदिएकाले काम शुरु गर्न नसकिएको बताए। बिजुलीको पोल हटाउन विद्युत प्राधिकरणसँग छलफल भइसकेको र प्राधिकरणले केही समय मागेकाले उक्त काम चाँडै शुरु हुने उनको दाबी छ। तर, बस्ती, टहरा र छाप्रो हटाउने विषयमा सहमति नभएकाले कुनै टुंगो नलागेको उनले जानकारी दिए।

Facebook Comments