फलोअपः सरसफाइ अभियानपछि बदलिँदैछ पूर्वपश्चिम राजमार्ग

सोमवार, मंसिर १६, २०७६

बर्दिबास– सरसफाइको अभियान चलाएपछि पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीकोे बर्दिबास बजारको मुहार यतिबेला फेरिएको छ । त्यसैगरी राजमार्गको मुख्य बजारमध्येको एक लहान पनि सरसफाइ र स्वच्छतातर्फ अगाडि बढिरहेको छ। खुल्ला दिसामुक्त भइसकेका यी बजारहरूमा यात्रुहरूले प्रयोग गर्ने शौचालयको सन्दर्भ पटकपटक उठ्ने गरेको छ ।

जताततै प्लास्टिकका बोतल र खाद्यपदार्थ राखिएका भाँडाले फोहरमय बनेका बजारहरूमध्ये आफ्नो रूप फेर्न बर्दिबास यतिवेला अग्रसर छ । यसको शुरुवात बर्दिबास नगरपालिकाले मंसिर १ गते सूचना जारी गर्दै ३५ दिनभित्र पराग, गुट्खाजन्य पदार्थ, कालो प्लास्टिकका झोला बिक्री वितरण र प्रयोगमा निषेध गरिने जनाएको छ ।

भित्री सडक र त्यसको किनारमा चाउचाउ र बिस्कुटका खोलहरू देखिए पनि सूचनामा यसको चर्चा गरिएको छैन । बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले समग्र फोहरमैला व्यवस्थापनका लागि दुई करोड रुपैयाँ विनियोजन भइ काम अगाडि बढिसकेको बताए । प्लास्टिकजन्य पदार्थको पुनः प्रयोग गर्न मिल्ने ‘रिसाइकल’ र ‘रिकभरी’ सेन्टर सञ्चालन गरिने लक्ष्यसमेत राखिएको छ । समग्र फोहरमैला व्यवस्थापनका लागि बनेको विस्तृत कार्ययोजना अनुरूप नै काम अगाडि बढेको उनले बताए । बर्दिबासमा दैनिक कुहिने तथा नकुहिने करिब सात हजार किलोग्राम फोहर संकलन हुने गरेको छ ।

लहान नगरपालिकामा फोहरमैला व्यवस्थापन विवादित बन्न पुगेको छ । अहिले नगरबासीको आन्दोलन बिस्तारै मत्थर भएको देखिन्छ । समग्र फोहरमैला व्यवस्थापन र नगरबासीले उठाएको समस्यालाई सम्बोधन गर्न गुरु योजना तयार भइसकेको छ । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले आफू आउनुअगावै दातृ संस्था ‘वाटर एड’ सँग सहकार्य भइसकेकाले सरसफाइ कार्य अगाडि बढाउने क्रममा रहेको बताए । यहाँको फोहरमैला व्यवस्थापनकै लागि नगरबासीले गरेको आन्दोलनबारे आफू अवगत भएको बताउँदै समस्या समाधानमा लागिपर्ने जानकारी दिए ।

बर्दिबास र लहानजस्ता मुख्य बजारहरूमा फोहर व्यवस्थापन र यात्रुहरूका लागि शौचालय निर्माण सम्बन्धमा केही समय अगावै लहान नगरपालिकाका मेयर मुनि साह सुडीले समेत सुन्दर शहर बजार बनाउने प्रतिबद्धता सञ्चारकर्मीहरू समक्ष गरेका थिए । बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले राजमार्ग क्षेत्रमा आवश्यक पर्ने शौचालयहरूको सर्भेक्षण गरि निर्माण कार्य अगाडि बढाउने बताएका थिए ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले दिवा तथा रात्रीकालीन सार्वजनिक यात्रुवाहक बसहरूले हाल अस्थायी बिसौनी बनाएको चोकदेखि उत्तर तथा पश्चिम क्षेत्रमा सार्वजनिक शौचालय बनाउने जग्गाको समस्या देखिएको जानकारी दिएका छन् । ‘समस्या समाधान गर्न घुम्ती शौचालयहरू सञ्चालनमा ल्याउने तयारी थालेका छौँ’, उनले भने, ‘एकीकृत बस बिसौनी नभएसम्म घुम्ती शौचालयले पनि राम्रै सेवा दिनसक्छ ।’

बर्दिबासजस्तै लहानको मुख्य चोकमा पूर्व र पश्चिमतर्फ जाने सार्वजनिक बसहरू १०–१५ मिनेट रोक्दासमेत यात्रुहरूलाई दिसापिसाब गर्न सजिलो अवस्था नरहेको स्थानीय प्रमोद सदाले बताए । स्थानीय बासिन्दा सदा यस्तो समस्या महिला र पुरुष दुबैले भोग्नुपरेको बताउँछन् । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले सार्वजनिक शौचालयका लागि मुख्य चोकका सडक किनारहरूमा जग्गाको खोजी गर्दा सफलता हात नलागेकाले विकल्पबारे सोच्न सकिने जनकारी दिए ।

लहान नगरपालिका वडा नं. ४ मा पाँच वर्ष अगाडि फोहर व्यवस्थापन केन्द्र स्थापना गरिए पनि स्थानीयले पटकपटक अवरोध गर्ने र नगरपालिकाले व्यवस्थित गर्ने क्रम चलिरहेको छ । प्रदेश नम्बर २ का अधिकांश ठाउँमा स्थानीयहरूको पहलमा सरसफाइ अभियानहरू सञ्चालनमा छन् । यस्ता केही अभियानहरूमा स्थानीय सरकारको समेत सक्रिय सहभागिता देखिन्छ । बर्दिबास नगरपालिकाले थालेको सरसफाइ महाअभियानमा नागरिक समाजको समेत उल्लेख्य सहभागिता रहेको पाइन्छ ।

Facebook Comments