खै त ती कपास जस्तो कुहिरो अनि सेता हिमाल ?

नुवाकोट – बिहान उठ्ने बित्तिकै ठ्याक्कै आँखै अगाडि झुल्केघामले सुनौलो देखिने हिमाल अनि सेता सेता कपास जस्ता देखिने कुइरोले ठाकेको वेशी। देख्दै गल्र्याम्म हामफालू जस्तो, त्यही कुइरोभित्र लुकामारी खेलुँ जस्तो। दिनले आफूलाई जवानीको छाता ओठाउँदै गर्दा विस्तारै हट्ने ति  कुइरो अनि सेता दन्तलहर झैँ देखिने हिमश्रृखला। जो कोहीलाई पनि आकर्षित गर्ने प्रकृतिको सौदर्यता। वेशीमा बग्ने तादी र त्रिशुलीको सुस्काहट। यी सबैलाई एकैसाथ महसुस गर्दा चिसो मौसममा पनि हुने न्यानो आभाष।

बिहान उठ्यो हातमुख धोयो, घरको केही काम गर्‍यो। यति गरिनसक्दै साथीहरू हातमा कापीकिताब अनि सर्टको गोजीमा डटपेन बोकेर विद्यालयका जान मेरो घरको बाटो हुँदै आइपुग्थे। त्यसपछि म पनि हतार हतार गर्दै पोशाक लगाएर उनीहरूसँगै विद्यालय तर्फ लम्कन्थे। बाटोमा पारी देखिएको हिमाल अनि कपास झैँ सुन्दर कुइरोले ढाकेको देविघाट, पिपलटार, बट्टार, त्रिशुली बजारको विषयमा चर्चा गर्दै हामी विद्यालय जान्थ्यौँ। बाटोमा एउटा साथीले आहा कति राम्रो कपासको थुप्रो जस्तो कुइरो, मलाई त अहिले नै त्यहाँ हामफालू जस्तो लागिरहेको छ भनेको मलाई आजै हो जस्तो लाग्छ।

लेखक : शालिक भट्ट

विद्यालय जाँदै गर्दा घाम पनि डाँडाे छिचौल्दै माथि पुगिसकेको हुन्थ्यो। घामको किरण परेसँगै बाटो छेवैमा फूलिरहेको तोरीको पहेँला फूलले मनै आनन्दित बनाउँथ्यो। विस्तारै खुल्दै गरेको वेशी, घामको झुल्कोले टलटल टल्किरहेको गणेश र लाङटाङ हिमाल अनि तोरीको फूललाई देख्दा लाग्थ्यो स्वर्ग भनेको सायद यस्तै हुन्छ होला।

माथिको परिदृश्य आजभन्दा १०–१५ वर्ष अगाडिको हो। मेरो स्कूले जीवन यसरी नै बित्थ्यो। तर, अहिलेको परिवेश विल्कुलै फरक भइसकेको छ। अहिले पनि हिमाल नदेखिन होइन, अहिले पनि मंसिर महिना लागेसँगै तुवाँलो र कुहिरोले वेशी ढाकेको हुन्छ । फरक यति छ पहिले सफा अनि सेता अनि प्रष्ट देखिने हिमाल अहिले घमिलो र कालो कालो देखिन्छ। सेता कुहिरोले ढाक्ने देविघाट, पिपलटार, बट्टार अहिले कालो तुवाँलोले ढाक्छ। अहिले त तुवाँलोले माथि डाँडासम्मै छोप्न थालेको छ । बिहान उठ्ने बित्तिकै देखिने ती दृश्यहरू सपना झैँ भइसकेको छ। न त बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइन्छ न त सेता कुहिरोले ढाकेको वेशी नै देख्न पाइन्छ। घामको मुख देख्न पनि मध्यान्न कुर्नुपर्छ। सय मिटर भन्दा परका वस्तु ठम्याउन धौ धौ पर्छ।

न त बाटोको छेवैमा पहेँलो लहलहाउँदो तोरीको फूल नै देख्न पाइन्छ। अहिले त तोरी फूल्ने ठाउँमा घर बनेका छन्। कच्ची नै भएपनि फराकिलो सडक बनेको छ। पहिला हरियो देखिने पहाड अहिले बीचबीचमा चिरा चिरा देखिन्छ। कतै पहिरो गएको छ कतै ढुंगा निकाल्ने नाममा पहाड नै खोतलिएको छ। बालुवा निकाल्ने नाममा समथर तल्लो पिपलटारलाई खाल्डै खाल्डो र उजाड बनाइएको छ।

एकाध इँटाभट्टा भएको रातमाटे विभिन्न उद्योगले भरिँदै छ। अनि त्यसैको चिम्नीबाट निस्केको कालो र विषाक्त धुवाँले वरपरको वातावरण नै प्रदूषित बनाएको छ। विद्यालयबाट छुट्टी हुनासाथ फुटबल खेल्न पुग्ने गरेको त्रिशुली किनारमै रहेको चौरमा अहिले क्रसर उद्योगले बालुवा छानिरहेको छ। प्रत्येक गाउँमा सडक बाटो पुगेको छ। प्राय सबैको घरमा पुग्ने गरी मोटरबाटो खनिएको छ। यसरी सबै ठाउँमा सडक सञ्जाल पुग्नु सकारात्मक हो। देश विकासतर्फ लम्कदै गर्दा केही समस्या आउनु स्वभाविक हो। तर, विकासका नाममा जथाभावी खनिएको सडकका कारण पहाडलाई छिया छिया बनाएको छ छँदैछ कहिल्यै पहिरो नजाने ठाउँमा समेत बर्सेनी बर्खामा पहिरो जान थालेको छ। विहान १० बजिसक्दा सेता कपासजस्ता देखिने कुहिरो उडेर देविघाट बजार छ्याङ्ग भइसक्थ्यो। अहिले मध्यान्न कुर्नुपर्छ। त्यो पनि कालो कालो तुवाँलोले गर्दा प्रष्ट देखिँदैन्। संघीयता लागू भएसँगै पहिलेको जिलिङ ७ बेलकोटगढी ९ भएको छ। यो सँगै धेरै परिवर्तन यस ठाउँले देखेको छ। विकास निर्माणका कार्यहरू भइरहेका छन् । तर, प्राकृतिक सौन्दर्यता भने विस्तारै हराउँदै गएको छ। खोलामा पानीको मात्रा सुक्दै गएको छ।

गोरुले जोतेको खेतमा ड्याङ बनाएर रोपिदिए मात्र पनि फल्ने ठाउँमा अहिले आलु फलाउन विभिन्न औषधीको प्रयोग गर्नुपर्छ । त्यही पनि मध्यान्नसम्म लाग्ने कालो तुवाँलो र सितले गर्दा आलु उम्रनै गाह्रो हुन थालेको छ।

यो नुवाकोटको बेलकोटगढीको आजभन्दा १५ वर्ष अगाडि र अहिलेको परिवेश हो। यो त एउटा उदाहरण मात्र हो। देशभर बेलकोटगढी जस्ता धेरै स्थान छन्। प्राय सबैतिर आजभोली यस्तै कालो तुवाँलो, धुलो अनि प्रदूषित वातावरण देख्न पाइन्छ। कुनैबेला सफा रहने आकाश अहिले प्राय धुम्म नै हुन्छ । एउटा डाँडाबाट प्रष्ट देखिन अर्को डाँडो देख्न अहिले मुस्किल पर्छ।

यो सब देख्दा समयसँगै आएको परिवर्तन लाग्ला। यो सब हुनुमा जलवायु परिवर्तन, विश्व तापमानमा वृद्धि लगायत एउटा कारण होला। तर, हामीले विकासमा नाममा गरेका विभिन्न कार्यले पनि यो सबलाई बढवा दिइरहेको छ। पहिले खुला रहेको स्थानमा अहिले ठूला ठूला महल बनेका छन्। विभिन्न उद्योग खुलेका छन्। तिनीहरूले चौँबिसै घण्टा कालो विषाक्त धुवाँ उत्सर्जन गरिरहेका छन्। यसतर्फ हामीले ध्यान दिन सकेका छैनौँ। हुन त समयको अन्तरालसँगै परिवर्तन हुनु स्वभाविक हो। तर, त्यो परिवर्तन पनि के परिवर्तन जस्ले प्राकृतिक सौन्दर्यताको आभाष गर्नै नपाइयोस।

Facebook Comments