मुहान सुकेपछि गाउँमा खानेपानीको हाहाकार

अछाम– साँफेबगर नगरपालिका–८ टोल १ काटैकी शान्ता भुल सधैँ चिन्तित देखिन्छन्। शान्ता भुलको निराशा र धमिलो मन खान र बस्नको समस्याले भने होइन। उनीसँग यी सबै कुरा छन्। समस्या छ त केवल खानेपानीको। मुहारमा चिन्ता र निराशा पनि किन नहोस् दैनिक घरधन्दा गर्न पानी नभइ केही चल्दैन। सधैँ चिन्ता छ त केवल उनलाई खाने पानीको।

चिन्ता नहोस् पनि कसरी गाउँमा भएका सबै खानेपानीका मुहान सुकिसकेका छन्। खानेपानीका मुहान (कुवा) सुकेपछि एक घण्टा लामो समय लगाएर अर्काे गाउँबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ।

यो बाध्यता शान्ता भुललाई मात्र छैन। शान्ता भुल त केवल एक प्रतिनिधि पात्र मात्र हुन्। गाउँमा भएका सबै स्थानीयलाई चिन्ता छ। अर्को गाउँबाट पानी ल्याएर खाने उनीहरूको दिनचर्या नै भइसकेको छ। दैनिक जस्तो खानेपानीकै जोहो गर्न उनीहरूले तीन घण्टा समय बिताउनु पर्छ।

गाउँमा भएका खानेपानीका मुहान सुकेपछि खानेपानीको जोहो गर्नुपर्ने दुःख सुनाउँदै शान्ता भुल सुस्केरा हाल्दै भन्छिन् ‘अफ ! यो गाउँमा कहिले आउँछ होला खाने पानीको धारा ?’ गाउँमा खानेपानीका मुहान सुक्न थालेपछि राती राम्रोसँग नसुतेको वर्षाैँ भइसकेको छ। बिहान राति नै नगए धारामा पानी थाप्ने पालोसमेत पाइँदैन। त्यसकारण बिहान ४ बजे नै खानेपानी ल्याउन जानुपर्ने बाध्यता छ।

करिब ८ वर्षदेखि गाउँमा पानीको अभाव हुन थालेको हो। शान्ता भुल भन्छिन, ‘करिब ८ वर्ष पहिले घर नजिकैको कुवामा खानेपानी हुन्थ्यो त्यति समस्या थिएन। समस्या भएपनि एक महिना जेठमा मात्र हुन्थ्यो। अहिले गाउँमा जम्मा दुई महिना मात्र पानी हुन्छ । असार र साउनमा त्यो बेला पनि पर्याप्त हुँदैन ।’

अहिले पछिल्लो समय जलवायु परिवर्तन, वनजंगल विनाश र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला र नदीमा पानी घट्दै गएको छ। कतिपय खोलाका त मुहान सुकेर सुख्खा बनेका छन्। पानीका मुहान सुक्न थालेपछि गाउँमा खानेपानीको समस्या बढदै गएको हो।

खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीको पानी उपभोग गरिन्छ। वर्षौदेखि खानेपानीका रुपमा उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भयावह बनेको हो। विगतका वर्षहरूमा वर्षातमा खानेपानीको समस्या खासै हुँदैनथ्यो तर अहिले भने वर्षायाममा पनि काकाकुल बन्नु पर्ने अवस्था छ। पानीकै समस्याका कारण स्थानीयको एक आपसमा मनमुटाब र झैझगडासमेत हुने गरेको छ।

साफेबगर नगरपालीका वडा नम्बर ८ टोल १ की चम्पा कुँवरले भनिन्, ’केही वर्ष पहिले गाउँमा पानीको अभाव हुँदैन थियो। सबैको घर नजिक भएका कुवामा सधैँ पानी बगिरहन्थ्यो। अहिले पानीघट्ट चल्ने खोलामा असार साउन महिनामा पनि पानी भेटिँदैन ।’ पानीका मुहान संरक्षण गर्ने तर्फ कसैले पनि ध्यान नदिँदा पानीका स्रोत सुक्दै गएका छन्।

कुँवर भन्छिन्, ‘मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभएर मानवीय क्रियाकलाप पनि हो ।’ वनजंगल विनास र विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर परेको उनको भनाइ छ। ‘गाउँ घरमा डोजरले सडक खन्दा कतिपय ठाउँमा पानीका मुहान नै हराउन थालेका छन।’ विकासको नाममा स्थानीयतहले डोजर आतंक मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्। उनी भन्छन्, ‘मेसिनले धर्ती नै चिरेका छन्।’

जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन् । भएका योजना पनि मर्मत संभार र मुहान सुक्दा बन्द भएका छन्। पुराना जीर्ण आयोजना मर्मतसंभार र संरक्षणको अभावमा पर्याप्त पानी नआउने गरेको कुँवरको भनाइ छ।

यसैगरी काटै टोलका भारत कुँवरले भने, ‘यो टोलको मात्र कुरा गर्ने हो पहिलो यो गाउँमा पानीका मुहान प्रसस्त थिए। खाने पानीका कुवा मात्र २०/२५ वटा थिए। तर अहिले २०/२५ कुवामध्ये २ वटा कुवा पनि पहिले जस्तो पानी छैन। पहिले जति प्रयोग गरेर पनि पानीको कुनै समस्या हुँदैन थियो। अहिले गाउँमा २ वटा कुवामा मात्र पानी आउँछ। त्यही कुवाको पानी लिनकै लागि गाउँका बासिन्दाले बिहानदेखि बेलुकासम्म बस्नुपर्ने हुन्छ। कहीले काहीँ पानीकै लागि गाउँमा झैझगडासमेत हुने गरेका छन्।

Facebook Comments