जाडो छल्न हिमाल नाघ्दै आए रूसी चरा

काठमाडौं – आफ्नो थातथलोमा चिसो बढेसँगै हिउँदयामका पाहुना चरा धमाधम नेपाल आइरहेका छन्। छिमेकी मुलुक चीनसहित उत्तरी ध्रुवका पन्छी हिउँदयामभर नेपालमा विचरण गर्न भित्रिएका हुन्।

असोजको सुरुआतसँगै भित्रिन थालेका पाहुना चरा मंसिर महिनाभर आउनेक्रम जारी रहन्छ। चीन, मंगोलिया, काजकिस्तान र आसपासका अन्य मुलुकसहित रुसको साइबेरियाबाट समेत यी पन्छी नेपाल आउने गर्छन्।

करिब डेढ सय पन्छीका प्रजाति जाडो छल्न नेपाल भित्रिने र तापक्रममा सुधार आएपछि आफ्नै थातथलो फर्किने पन्छीविद् डा. हेमसागर बराल बताउँछन् ।

ठूलो संख्यामा जलपन्छी, फिस्टा, चाचर, राजगिद्ध, खैरो गिद्ध, रणमक्त, गोमायु महाचिललगायतका शिकारी चरा पाहुना बनेर नेपाल भित्रिने र करिव ६ महिनापछि आफ्नै थलोमा फर्कने गरेको उनको भनाइ छ।

‘अन्य पन्छीभन्दा हाँसका प्रजाति धेरै आउँछन्, हाँसका मात्रै तीसभन्दा बढी प्रजाति हिउँदका हाम्रा पाहुना चरा हुन्’, बराल थप्छन– ‘साइबेरियाबाट पाँचरसात हजार किलोमिटर टाढाको हवाई दूरी छिचोल्दै पन्छी यहाँ आइपुग्छन्।’

नेपालमा हालसम्म आगन्तुक र रैथानेसहित ८ सय ८८ प्रजातिका पन्छी अभिलेख भएका छन्, यीमध्ये करिब २ सय प्रजाति जलाधार र सिमसारमा आश्रित छन्। हिउँदे पाहुना पन्छीमध्ये खोयाहाँस सर्वोच्च शिखर सगरमाथाभन्दा बढी उचाइबाट नेपाल र अन्य मुलुक पुग्ने गरेको पन्छीविद्हरू बताउँछन्।

सो पन्छी नियमित बसाइँसराइका क्रममा सगरमाथाभन्दा पनि माथिल्लो भेगबाट उड्ने गरेको प्रस्ट्याउँदै बराल भन्छन्,  ‘सगरमाथा आरोहणमा पुगेका आरोहीले खोयाहाँस ९ हजार ३ सय ७५ मिटर उचाइमा उड्दै गरेको फेला पारेका छन्।’

हिउँदयाममा ठूलो संख्यामा भारत, बंगलादेश र पाकिस्तानसमेत पुग्ने खोयाहाँसले नेपालको नारायणी नदी र आसपासको जलाधार क्षेत्रमा विचरण गर्ने गर्छ।

जाडो छल्न आउने पन्छीका प्रजाति लगभग सबैले आफ्नै थातथलो फर्किएपछि बच्चा कोरल्ने गर्छन्। हिउँदयाममै आउने बोक्सी चिलबाहेक अन्यले नेपालमा बच्चा कोरेलेको नदेखिएको नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का पन्छीविद्हरूको अनुभव छ।

तर, बोक्सी चिलले पनि विगत दुई दशकयता गुँड लगाएको र बच्चा कोरलेको नभेटिएको बीसीएनका अधिकारीहरू बताउँछन्। उक्त चिलले नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष र कास्की उपत्यकामा विचरण गर्दै आएको छ।

विशेषगरी भारत र बंगालादेशमा बच्चा कोरेल्ने बोक्सी चिलले नेपालमा गुँड नबनाउनु आहरा प्रजातिको कमी, विचरण क्षेत्रमा बढ्दो मानवीय चहलपहल र विषादीको प्रयोग मुख्य कारण रहेको पन्छीविद्हरूको ठहर छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले बोक्सी चिललाई लोपोन्मुख सूचीमा सूचीकृत गरेको छ। नेपाल आउने जलपन्छीको रोजाइमा कोशी टप्पु आरक्ष, सुनसरीको चिमडी र वर्जुताल, कपिलवस्तुको जगदीशपुर ताल, चितवनका ताल र जलाधार क्षेत्र पर्ने गर्छन्।

गत वर्षको अनुगमनका क्रममा भने जगदीशपुर तालमा जलपन्छीको संख्या खस्किएको पाइएको र चिमडी वर्जुतालमा अवस्था सुधारोन्मुख रहेको पन्छीविद् बराल प्रस्ट्याउँछन्। नेपाल समाचारपत्रबाट

Facebook Comments