मानव बस्तीमा रमाउँदै वन्यजन्तु

काठमाडौँ– देशभरका संरक्षित क्षेत्रहरूमा वन्यजन्तुहरूको संख्या बढेसँगै वन्यजन्तु र मानवबीच द्वन्द्व पनि बढ्दै गएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्न सरकारले विभिन्न योजनाहरू बनाएर काम गरिरहेको छ । निकुञ्जहरू स्थापना गर्दा नै कतिपय मानव बस्ती स्थानान्तरण गरिएका थिए । वन्यजन्तुका लागि आफ्नो थातथलो नै त्याग गर्ने मानिसहरू सधैँ संरक्षणमा लाग्नेहरूले सम्झनुपर्ने पात्र हुन् । उनीहरूले परापूर्वकालदेखि बसोबास गरेको क्षेत्र वन्यजन्तुलाई छाडेका छन् ।

अहिले संरक्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । तर, वन्यजन्तुको बासस्थानका लागि आफ्नो थातथलो त्याग गर्नेहरूको विषयमा ध्यान पुगेको देखिँदैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्ज स्थापना गर्नेक्रममा आफ्नो थातथला त्याग्नेहरू छुट्टै स्थानमा बसोबास गरिरहेका छन् ।

उनीहरूले आफूले वन्यजन्तुका लागि थातथलो त्याग्नुपरेकोमा कुनै गुनासो गर्दैनन् । बरू वन्यजन्तुको चोरी सिकारी बढ्दै गएकोमा भने उनीहरू चिन्तित् देखिन्छन् । संरक्षण क्षेत्र निर्माणको क्रममा आफ्नो थातथलो छाड्नेहरूले संरक्षण क्षेत्रको विषयमा चिन्ता व्यक्त गर्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुदीप निरौला बताउँछन् ।

उनी संरक्षण क्षेत्र निर्माणका क्रममा शुक्लाफाँटा क्षेत्रका स्थानीयहरूले ठूलो त्याग गरेको बताउँछन् । ‘उहाँहरूले परापूर्वकालदेखि बसोबास गरेको क्षेत्र वन्यजन्तुको बासस्थानका लागि त्याग गर्नु नै महत्वपूर्ण विषय हो,’ उनले भने, ‘धेरै घरपरिवारले आफ्नो बासस्थान त्याग गरेर अर्कोस्थानमा स्थानान्तरण गर्दा सहज वातावरण बनाउनुले संरक्षण क्षेत्र घोषणा गर्न हामी सफल भयौँ ।’

आफ्नो घरखेत नै वन्यजन्तुको बासस्थान हुँदा स्थानी पनि खुशी देखिन्छन् । सरकारले संरक्षित क्षेत्र निर्माण गर्ने क्रममा आफूहरूको थातथलो छाड्न गरेको आग्रह अनुसार नै छाडिएको सम्झन्छन्, शुक्लाफाँटा संरक्षित क्षेत्रबाट स्थानान्तरण भै महेन्द्रनगरमा बसोबास गर्दै आएका छविलाल चौधरी । आफूहरूले संरक्षण क्षेत्रका लागि आफ्नो घरखेत त्याग गरेको विषय गौण बनेकोमा उनी चिन्तित छन् । उनी आफूले घरखेत त्याग गर्दा सरकारले त्यसको क्षतिपूर्ति दिए पनि आफ्नो सामरिक महत्व बोकेको ठाउँको सस्मरण भने मेट्न नसकिएको बताउँछन् । ‘हामीले संरक्षित क्षेत्र निर्माणका लागि जसरी आफ्नो घरखेत त्याग ग¥यौँ, त्यसरीले संरक्षित क्षेत्रबाट भने फाइदा लिन सकेका छैनौँ,’ चिन्तित् हुँदै उनले भने, ‘संरक्षण क्षेत्रमा वन्यजन्तुहरू नाँचेको घुमेको देख्दा आनन्द आउँछ, तर त्यही वन्यजन्तुको चोरी सिकारी भएको घटनाले हामीलाई चिन्तित् बनाइरहन्छ ।’

२०३१ मा स्थापना भएको शुक्लाफाँटा संरक्षित क्षेत्र २०६१ सालमा राष्ट्रिय निकुञ्ज बन्यो । निकुञ्जको भित्री क्षेत्र ३०५ वर्ग किलोमिटर रहेको छ भने मध्यवर्ती क्षेत्र २४३ दशमलब ५ वर्ग किलोमिटर रहेको छ । यो राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुञ्जका प्रमुख विशेषता हुन् । निकुञ्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरूङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यो निकुञ्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुञ्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको थियो । यो निकुञ्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिङ्गे गैँडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणनाअनुसार यस निकुञ्जमा बाघको संख्या १६ रहेको छ ।

निकुञ्जको अधिकतम भाग सालको जंगलले ढाकेको छ । बाँकी सिसौ, खयर र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनाबर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने ४२४ भन्दा बढी चराचुरूङ्गीहरू संरक्षित क्षेत्रमा पाइन्छन् । वन्यजन्तु अवलोकनका लागि यो निकुञ्ज स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा पनि संरक्षित क्षेत्र निर्माणका क्रममा स्थानीयहरूले संरक्षण अभियानमा आफूले योगदान गरेको बताएका छन् । गेरूवा–२ राजीपुरका भागिराम सोनाहा संरक्षित क्षेत्र नजिकै बस्ने भएकाले संरक्षित त्यहाँ हुने गतिविधि नजिकबाट निहालिरहेका छन् । उनी बर्दिया राष्ट्रिय निकुञ्ज निर्माणमा आफूहरूले घरखेत नै त्यागेको सम्झन्छन् । उनी आफूहरूले संरक्षण क्षेत्रका लागि ठूलो योगदान गरेको बताउँछन् । उनी संरक्षित क्षेत्रमा भएको अवैध गतिविधिहरूमा आफ्नो समुदायका मानिसमाथि आरोप लाग्ने गरेकोमा दुःखी छन् । ‘हामी सँधै संरक्षणको पक्षमा नै छौँ,’ उनी भन्छन्, ‘हामीले संरक्षण क्षेत्रबाट केही नपाए पनि वन्यजन्तुले बालिनाली नष्ट गर्ने गरेकाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्दछ ।’

बर्दिया राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो । २०५३ सालमा मध्यवर्ती क्षेत्र स्थापना भयो । ९६८ वर्गकिलोमिटर भित्री क्षेत्र र ५०७ वर्गाकिलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ । शुरूमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भागसमेत समेटेर बनाइएको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरूमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्तेतर्फ बिस्तार गरिएको छ ।

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेका छन् । पाटेबाघ, एक सिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनी पर्यटकको संस्था बढिरहेको छ ।

यसैगरी बिस्तारै वन्यजन्तुको बासस्थान बढ्दै गाएको राष्ट्रिय निकुञ्ज हो बाँके राष्ट्रिय निकुञ्ज । यहाँ पनि निकुञ्ज स्थापना गर्ने क्रममा २०६७ सालमा गोठेरीका स्थानीयलाई निकुञ्ज बाहिर स्थानान्तरण गरियो । गोठेरीका स्थानीयलाई स्थानान्तरण गर्दा जति जग्गा जमिन भित्र थियो त्यति नै जग्गाजमिन दिएर बाहिर सारिएको थियो । अहिले उनीहरू भव्य घर बनाएर बसेका छन् । उनीहरूलाई आफ्नो थातथलामा वन्यजन्तु खेलेको हेर्ने रहर जागेको छ । आफ्नो बासस्थान वन्यजन्तुलाई दिँदा आफूहरू खुशी नै रहेको कोहलपुरका मोहन रिजाल बताउँछन् । उनीसहिति २६ घरपरिवार करिब १० वर्षअघि गोठेरीबाट कोहलपुर सरेका हुन् । उनीहरू निकुञ्ज क्षेत्रभित्र टहरा बनाएर बसेका थिए भने अहिले पक्कि घर बनाएका छन् । गोठेरीमा आफ्ना बारीमा फलेका आँपको अझै उनलाई सम्झना छ ।

पछिल्लो समय निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दो क्रममा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज शर्मा बताउँछन् । सरकारले बाघ संरक्षणका लागि अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्रसमेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरेको हो । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ । निकुञ्जभित्र वन्यजन्तु आवतजावतमा अप्ठेरो पर्ने महादेवपुरी क्षेत्र पनि पर्दछ । यो निकुञ्ज २०० इको रिजन क्षेत्रमध्ये घाँसे मैदान क्षेत्रको एउटा भाग पनि हो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पतिका प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।

शुक्लाफांटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । तस्विर ः भवानी भट्ट/कान्तिपुर

पछिल्लो बाघ गणनाअनुसार यस निकुञ्जमा २१ वटा पाटेबाघ रहेका छन् । संरक्षित क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तराष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो, जसमा बाँकेका ७, दाङका ३ र सल्यानका ३ वटा तत्कालीन गाविस पर्दछन् । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ ।

Facebook Comments