पश्चिममा हात्तीको त्रास : आवागमन मार्ग मासिँदा द्वन्द्व बढ्याे

महेन्द्रनगर– पछिल्लो समय कञ्चनपुरका अधिकाश स्थानीय तहमा हात्तीको उपद्रो बढ्दो छ । हात्तीको आवागमनमार्ग र बास स्थान मिचेर बस्ती बसेपछि हात्तीले उपद्रो मच्चाउन थालेको हो ।

हात्ती हिड्ने जैविकमार्ग मासेर बस्ती बसेपछि जंगली हात्तीले ग्रामीण बस्तीमा प्रत्येक वर्ष उपद्रो मच्चाउँदै आएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयबिक्रम मानन्धरले बताउँछन् । जंगली हात्ती र मानवबीचको द्वन्द्वका कारण हात्तीको आक्रमणबाट मानिस र मानवको आक्रमणबाट हात्ती मारिने क्रम चल्दै आएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार यस वर्ष मात्रै हात्तीको आक्रमणबाट कञ्चनपुरमा तीन जनाको मृत्यु भएको छ ।

गत बुधबार बिहान मात्रै हात्तीको आक्रमणबाट माहाकाली नगरपालिका–२ चाँदनीमा २ जना महिलाको मृत्यु भयो। माहाकाली नगरपालिकाको मायापुरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस दाउरा संकलन गर्न गएकी चाँदनीकी ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीय भुरी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मृत्युपश्चात उनिहरूको परिवार अहिले विक्षिप्त छ भने माहाकाली नगरवासी जंगली हात्तीको उपद्रोले त्रसित बनेका छन्। दैनिकजसो हात्तीको बथान बस्तीमा पस्दा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको स्थानीय बताउँछन्। सीमावर्ती भारतको जंगलबाट आउने हात्तीको बथानले ठूलो मात्रामा जनधनको क्षति गर्ने गरेको माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी गिरी बताउँछिन्। भारतसँग सीमा जोडिएको क्षेत्रमा विद्युतीय तारबार गरिएपनि माहाकाली नगरपालिकामा हात्तीको आतंक नघटेको उनको भनाई छ । हिँउद र बर्खा दुबै सिजनमा माहाकाली नगरपालिकामा हात्तीले आतंक हुन्छ।

प्रत्येक वर्ष हात्तीको आतंक बढ्दाे
जिल्लामा प्रत्येक वर्ष हात्तीले आतंक मच्चाउँदै आएको छ । कञ्चनपुरका ९ वटै स्थानीय तहमा हात्तीले आतंक मच्चाउँछ। खेतमा लगाएको धान पसाउन शुरु भएसँगै हात्तीको बथान यहाँका ग्रामीण बस्तीमा पुगेर उपद्रो मच्चाउन शुरु गर्छन्। भारतीय दुधुवा नेशनल पार्कबाट आउने हात्तीको बथानले कञ्चनपुरको माहाकाली, भीमदत्त, शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, पुर्नवास, बेलौरी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा आतंक मच्चाउने गरेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार हात्तीको बथानले सबैभन्दा बढी माहाकाली, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा क्षति पु¥याउँछ । हात्तीको बथानले प्रत्येक वर्ष किसानले लगाएको धान, उखु, केरालगायतका बाली नष्ट गर्ने गरेको छ । हात्ती नियन्त्रणका लागि स्थानीय किसानले रातभर जाग्राम बसेर आगो बाल्ने, होहल्ला गर्ने र पटका पड्काउने गरेका छन्। तर, हात्तीको बथान भने मानवका यी क्रियाकलापबाट डराउन छोडेको छ । हात्ती नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा मेस वायर समेत जडान गरिएको छ । तर, हात्तीको बथानले मेसवायर समेत खुट्टा र सुढको सहायताले तोडफोड गर्ने गरेको शुक्लाफाँटा नगरपालिका–६का वडा अध्यक्ष जगता राना बताउँछन् । हात्तीले मेसवायर समेत तोडफोड गरेर किसानले लगाएको बाली नष्ट गर्ने गरेको उनको भनाई छ ।

हात्तीको उपद्रो रोक्नका लागि सरकारले जंगली हात्तीको हिड्ने मार्गको कनेक्टीभिटी टुटेको क्षेत्रलाई पुनः जोड्न प्रयास गर्नुपर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडयाल बताउँछन् । हात्ती हिड्ने जैविकमार्गमा रहेको मानवबस्तीलाई अन्यन्त्र सारेर हात्तीको आवागनलाई सहज बनाउनुपर्ने उनको भनाई छ । ‘बस्ती स्थानान्तरण गर्न नसकिएको अवस्थामा हात्ती प्रभावित क्षेत्रमा स्थानीयले हात्तीले नोक्सान नगर्ने प्रकारको खेती तथा जडीबुटी लगाउनु पर्छ,’उनले भने, ‘मौरीपालन गरेको स्थानमा हात्ती प्रवेश गर्दैन, प्रभावित क्षेत्रका बासिन्दालाई मौरीपालनमा उत्प्रेरित गर्नुपर्छ ।’ मत्ता हात्तीले मान्छेमाथि आक्रमण गर्ने उनि बताउँछन् । उनका अनुसार बढी गरि एक्लै रहेको मत्ता हात्ती र छावासहितको हात्तीले मान्छेमाथि आक्रमण गर्ने गरेको छ । बथानमा छावासहित रहेको पोथी हात्तीले छावामाथि आक्रमण हुन सक्ने संकेत पाएपछि आक्रमणमा उत्रिने गरेको छ । हात्तीले वन क्षेत्रबाहिर मानवीय क्षति गरे १० लाख, घरमा क्षति गरे १० हजार र बालीनालीमा क्षति गरेमा १० हजारसम्म क्षतिपूर्तिको रकम पाउने व्यवस्था छ ।

Facebook Comments