सुदूरपश्चिममा जडिबुटि उत्पादन र प्रशोधनका लागि कम्पनी खोलिने

सुदूरपश्चिम प्रदेशमा जडिबुटि उत्पादन, संकलन, भण्डारण र प्रशोधनका लागि नयाँ कम्पनी स्थापना हुने भएको छ । सुदूरपश्चिममा यो कम्पनी स्थापना गर्नका लागि संघीय वन तथा वातावरण मन्त्रालय र सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सुदूरपश्चिम जडिबुटीको भण्डार भएको र त्यस क्षेत्रका जनताको आयआर्जन र रोजगारीका लागि यो पहलले अवशरको नयाँ ढोका खुल्ने बताए । जडिबुटी खेतीले स्थानीय जनताको जिविकोपार्जनलाई यसले उल्लेख्य रुपमा सघाउने उनले बताए । वनमा खेर गइरहेको स्रोतलाई सदुपयोग गरि यसलाई समृद्धिसँग जोड्ने पहलस्वरुप राष्ट्रिय वन नीति २०७५मा यस्तो व्यवस्था गरिएको जानकारी उनले दिए । संघीय र प्रदेश सरकारको सहकार्यमा हुन लागेको यो काम अरुका लागि पनि नमुना बन्न सक्ने उनको भनाइ थियो ।

सुदूरपश्चिमका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले यो कम्पनी स्थापनाका लागि प्रदेश सरकारले गतवर्ष नै बजेट छुट्टयाए पनि काम अघि बढ्न नसकेको बताइन् । उनले यसले सुदूरपश्चिमका जनताका लागि रोजगारी र आम्दानीका लागि नयाँ अवशर सिर्जना गर्नेमा आफू विश्वस्त रहेको औंल्याइन् । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जडिबुटि उत्पादनलाई कृषिसँग जोडेर स्थानीय जनतालाई आत्मनिर्भर बन्न सक्ने यो महत्वपूर्ण आधार हुनसक्ने बताए । गुणस्तरीय जडिबुटि उत्पादन गर्न सके यसको अन्र्तराष्ट्रिय बजार उल्लेख्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा जडिबुटि उत्पादन संकलन, भण्डारण र प्रशोधनका लागि उपयुक्त प्रविधिका माध्यमबाट यसको दिगो व्यवस्थापनसहित व्यावसायिक रुपमा सुरु गरिन लागेको जानकारी दिइएको थियो । सुदूरपश्चिम प्रदेश र देश कै आर्थिक विकासमा योगदान दिन सक्ने यो योजना सुदूरपश्चिममा सार्वजनिक नीजि साझेदारीमा कम्पनी स्थापना र संचालन गरिने बताइएको छ । यसका लागि अधिकतम शेयर सुदूरपश्चिम सरकारको रहने गरि जडिबुटि उत्पादन प्रशोधन कम्पनी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नीजि कम्पनीको सहभागितामा नयाँ कम्पनी स्थापना गर्ने सहमति संघीय र प्रदेश सरकारबीच भएको छ । जडिबुटी कम्पनी आगामी चैत महिनासम्म स्थापना गरि काम पनि सुरु गरिने सुदूरपश्चिमका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले दिइन् ।

Facebook Comments