लगातारको हिमपातले कष्टकर बन्दै डोल्पालीको दैनिकी

डोल्पा,माघ २३ – लगातारको हिमपातले हिमाली जिल्ला डोल्पाको जनजीवन कष्टकर बन्दै गएको छ । ओहोरदोहोर गर्ने बाटोहरु नै हिमपहिरो खसेर बन्द हुदा आवजावत गर्न सकसपूर्ण भएको छ ।

हिमपहिरोका कारण बाटो अवरुद्ध हुदा काम विशेषले घर बाहिर जान तथा दैनिक उपभोग्यका सामान ढुवानी गर्न कठिनाई भएको स्थानियको भनाई छ । बाटो नै अबरुद्ध हुदा खच्चड, याक, झोबा मार्फत समान ओसार्न सकिएको छैन । हिउँले डोल्पाका धेरैजसो गाउँहरु छपक्कै ढाकिएका छन, शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर ९ पुग्मो गाउँका स्थानिय साम्तेन निमा बैजीले भने “के गर्नु हामी डोल्पालीको जीवन यस्तै छ, कठीनपूर्ण अवस्थामा बाँच्नु परेको छ । उनले अगाडि थपे विगतका वर्षको तुलनामा यसवर्ष धेरै बाक्लो हिउँ जमेको छ, माघ महिना सकिनै लाग्दा पनि हिउँ थुप्रिएको छ” ।

स्थानिय कागमारा खोलामा बनेको हिउँसाँघु

हिउँका कारण मुहानमै पानी जमे पछि खानेपानीको पनि समस्या भएको छ । हिउँदे मौसमको लागि संकलन गरेर राखिएको अन्नपात सकिनै लाग्दा स्थानियहरुमा भोकमरीको त्रास छाएको छ । जम्मा गरेर राखेको अन्नपात सकिनै लाग्यो हिउँ परेको पर्यै छ, सामान ल्याउन जाऊ बाटो छैन के गर्ने होला ? स्थानियबासिन्दा प्रश्न गर्छन । यसपालि हाल सम्म पटक पटक गरी ४ पटक सम्म भारी हिमपात भएको छ । भारी हिमपातले घरका धुरी समेत ढाकिएका छन । गाउँमै पनि झण्डै चार फिट सम्म हिउँ जमेको छ । बाक्लो हिमपातले बारीमा लगाएको अन्नबाली समेत कुहिने खतरा छ । धेरै लामो समयको हिमपातकै कारण अन्नबाली बिग्रने डरले स्थानियहरु चिन्तीत छन । भारी हिमपातका कारण पशुचौपाया चराउन झनै समस्या भएको छ ।

बाटो नै हिउँले ढाकिएपछि जोखिमपूर्ण रुपमा भारी बोक्दै स्थानिय

चरन क्षेत्र हिउँले ढाकिएको छ । चरन क्षेत्रमा हिउँ जमेपछि पशुचौपायालाई भोकभोकै राख्नु पर्ने बाध्यता छ । अर्कोतर्फ भण्डारण गरेर राखिएको घाँसपात सकिदा पशुचौपाया जोगाउनै मुश्किल भएको स्थानियको दुःखेसो छ । भारी हिमपातका कारण पुग्मो गाउँमा सञ्चालित कागमारा लघु जलविद्युत आयोजना पटक पटक अवरुद्ध हुने गरेको छ । हिमपहिरोले विद्युत आयोजनाको कुलो नै भत्काउदा स्थानियले जनश्रमदान गरी विद्युत सुचारु गर्नु पर्ने बाध्यता छ । यस्तै हिमपातका कारण सञ्चार सम्पर्क विच्छेद हुने गरेको छ । भरपर्दो सञ्चार सुविधा नहुदा वर्षौदेखि स्थानिय समस्या झेल्दै आएका छन । डोल्पाको रिग्मो, पुग्मो, पुनिखा, र्याची लगायतका गाउँ हिउँले ढाकिएका छन ।

लामो समयदेखि चरन क्षेत्र हिउँले ढाकिए पछि आहाराको खोजीमा चौरी

भौगोलिक रुपमा विकट रहेको डोल्पाका विभिन्न स्थान जोड्न बाटाघाटाहरु भरपर्दो छैनन । बाटाघाँटाहरु निकै साँघुरा र जोखिमपूर्ण छन । जोखिमपूर्ण बाटाहरु नै हिमपहिरोले सेताम्मे बनेका छन । खोलानालाका विभिन्न स्थानमा ठूला ठूला हिउँ साँघुहरु बनेका छन । हिउँसाघुले जुनसुकै बेला पनि नदी खोला नै थुनिने खतरा रहन्छ । हिउँसाघुले नदीखोला थुनिदा यसले तल्लो तटमा ठूलो नोक्सानी पुर्याउने सम्भावना हुन्छ ।

फोटो सौजन्य : साम्तेन निमा बैजी पुग्मो, डोल्पा

Facebook Comments