बृहत नदी सरसफाई अभियानमा जुटे डल्फिन क्षेत्रका स्थानिय


फागुन १८ – जलीय जैविक विविधताको दिगो संरक्षणका लागि कैलालीमा बृहत नदी सरसफाई अभियान शुरु गरिएको छ । बढ्दो जनसंख्यासंगै मानवीय क्रियाकलापहरुका कारण पछिल्लो समय नदी खोला प्रदुषित हुने क्रम बढ्दो छ । नदी प्रदुषणको प्रत्यक्ष असर जलचर तथा समग्र पारिस्थीतिकीय प्रणालीमा पर्छ । यहि कुरालाई ध्यानमा राख्दै डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले १०० दिने बृहत नदी सरसफाई अभियान चलाएको हो । “टीकापुर–भजनी डल्फिन पर्यटकीय सर्कीट क्षेत्र” अन्र्तगत रहेका पथरिया, कन्द्रा, काढाँ, मोहना र कर्णाली नदीहरुमा १०० दिने बृहत सरसफाई अभियान सञ्चालन भइरहेको छ । सरसफाई अभियान थालिएका यी नदीहरु विश्वमै दुर्लभ मानिने ग्याँगेटिक जातको डल्फिनको आश्रय स्थल हुन । विशेषगरी वर्षादका तीन महिना असार, साउन र भदौमा पथरिया, कन्द्रा, काढाँ, मोहना र कर्णाली नदीको दोभानमा सहजै डल्फिन देख्न सकिन्छ । “टीकापुर–भजनी डल्फिन पर्यटकीय सर्कीट क्षेत्र” अन्र्तगत रहेका पथरिया, कन्द्रा, काढाँ, मोहना र कर्णाली नदीहरुमा १०० दिने बृहत सरसफाई अभियान उद्घाटन गर्दै जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले स्थानिय स्तरबाट थालिएको संरक्षण अभियानको प्रशंसा गरे । उनले जलीय जैविक विविधता संरक्षणका लागि समुदाय स्तरबाटै उत्साहजनक ढंगले थालिएको यस अभियानलाई सबैले सघाउनु पर्नेमा जोड दिए ।

अभियानको पहिलो दिन शनिबार भजनी नगरपालिका वडा नम्बर ८ भर्थानटोल जनकपुरमा रहेको पथरिया नदीमा सरसफाई गरिएको छ । भजनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरीले पहिलो दिनको नदी सरसफाई अभियानको शुभारम्भ गरे । सो अवसरमा पथरिया नदीको झण्डै १ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको हो । नदी क्षेत्रका प्लास्टिजन्य, नसड्ने फोहोरले जलचरदेखि सबै क्षेत्रमा नराम्रो असर पार्ने भएकाले स्थानियहरु त्यस्ता फोहोर संकलन गरी व्यवस्थापनमा जुटेका हुन ।

यस अभियान अन्तर्गत स्थानिय नदीहरुमा निरन्तर १०० दिन सम्म नदी सरसफाई कार्यक्रम गरिने छ । संरक्षण कर्मलाई बढवा दिन भन्दै डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले हाल सम्म डल्फिन अक्षयकोष पुरस्कार स्थापना, बृहत नदी सरसफाई अभियान सञ्चालन, एक संरक्षणकर्मी एक दिन एक रुपैया अभियान, मेरो करेसाबारी स्वच्छ अर्गानिक तरकारी कार्यक्रम, चरा संरक्षण क्षेत्र घोषणा, वक्तृत्वकला, हाजिरी जबाफ प्रतियोगिता, संरक्षणमा हातेमालो कार्यक्रम र म बनाउँछु मेरो डल्फिन साँस्कृतिक पहिचान पार्क अभियान सञ्चालन गरेको छ । यस्तै आगामी दिनमा पर्यावरणीय सन्तुलन तथा जलीय जैविक विविधता संरक्षणका लागि वृक्षरोपण, संरक्षणमा मेरो योगदान र संरक्षणमा क्षमता तथा प्रतिभा कार्यक्रम सञ्चालन गर्ने संस्थाका महासचिव जय प्रसाद ढुंगानाले जानकारी दिए ।

यस अभियानमा कैलालीको टीकापुर, भजनी र जोशीपुरका तटीय क्षेत्रमा बसोबास गर्ने करिब पाँच बजार स्थानियले साथ दिएका छन । स्थानियबासिन्दाको यो अभियानले दुर्लभ स्तनधारी जल प्राणी डल्फिन सहित समग्र पारिस्थीतिकीय प्रणाली जोगाउन सहयोग पुग्ने बृहत नदी सरसफाई अभियानका संयोजक तथा संरक्षणकर्मी भोजराज ढुंगानाले बताए । त्यसैगरी संरक्षणबाटै मानवीय हित हुने भएकाले आफुहरुले यस अभियानलाई अझै तीव्रताका साथ अगाडि बढाउने संस्थाका उपाध्यक्ष कृष्णलाल धमलाले बताए । उनले नदी प्रणाली सन्तुलित राख्न तल्लो तट देखि माथिल्लो तट सम्मको सम्बन्ध विस्तार गर्दै अघि बढ्ने जानकारी दिए । बृहत नदी सरसफाई अभियानलाई सफल पार्न विभिन्न टोलमा समिति तथा उपसमिति गठन गर्ने काम पनि भइरहेको छ ।

डल्फिन संरक्षणको अभियान

संरक्षण अभियान्ता भोजराज श्रेष्ठ (गुलेली बाजे) ले वि.सं. २०५६ सालमा पहिलो पटक यस क्षेत्रमा डल्फिन संरक्षणको पहल थालेका थिए । विगतमा सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे । कहिलेकाही स्थानीयले समेत मार्थे । नदीमा विषादी हालेर माछा मार्ने क्रम बढ्दो थियो । माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए । त्यसको महत्व बारे स्थानियहरु अनविज्ञ थिए । गुलेली बाजेले दिनरात नभनी डल्फिन संरक्षण अभियान थाले । कहिले विद्यालय त कहिले नदी किनारका बस्तीमा पुगे । स्थानियमा संरक्षण चेतना फैलाउदै गए । गुलेली बाजेले चेतनाको सन्देश बाडे । संरक्षण कार्यमा स्थानियलाई संगै लिए । परिणाम सर्वसाधारणले पनि संरक्षणको महत्व बुझे । गुलेली बाजेको पे्ररणालाई आत्मसाथ गर्दै अचेल स्थानियहरु संरक्षणको सन्देश बाड्न एकताबद्ध भएका हुन ।

के हो डल्फिन ?

डल्फिनलाई स्थानीयले स्वाँसु, सोंस भनेर चिन्थे । डल्फिन माशांहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ । यसले बच्चा जन्माउँछ । वर्षमा एक वा एकै पटक दुई वटा सम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ । बच्चा जन्माउन र हुर्काउन डल्फिन यहाका स्थानिय नदी सम्म पुग्ने गर्छन । ती नदीमा जल प्रवाह मध्यम खालको छ । प्रशस्त मात्रामा डल्फिनको आहारा माछा पाइने र स्वच्छ पानी भएकाले यो क्षेत्रलाई डल्फिनले आफ्नो रोजाई पारेको विज्ञको भनाई छ । यसको वैज्ञानिक नाम प्लेटिनास्टा ग्यांगेटिका हो । यसलाई नेपालीमा सोंस भनिन्छ ।

Facebook Comments