चुरेका रुखमा माफियाका आँखा कन्चनपुरको चुरेमा वन फडानी तीब्र


महेन्द्रनगर — तराईको कवच ‘चुरे पर्वत’ विनाश हुने क्रम प्रदेश ७ मा पनि रोकिएको छैन । चुरेको कवच मानिने त्यहाँका वनजंगल र बुट्यानमा अहिलेपनि काठ माफिया र तस्करहरुको आँखा छन् । कन्चनपुर उत्तरका सामुदायिक वन र चुरेका रुखहरु काटेर नाङगो बनाइदैछ ।

आठ बर्षअघि कञ्चनपुरसंगैको डडेल्धुराका सामुदायिक वनमा भएको यस्तै वन फडानी देशकैं राष्ट्रिय मुद्दा बनेको थियो । तराईसँग जोडिएको डडेल्धुराका वन माथिबाट सखाप पारियो । अहिले कन्चनपुरसँग सिमा जोडिएको चुरेलाई पनि नाङ्गो बनाउने काम भइरहेको छ । कैकालीका वन क्षेत्रमा पनि पटकपटक यस्ता फडानी भइरहेका छन् ।

भीमदत्त नगरपालिका – ९ बह्मदेवको सिद्धनाथ सामुदायिक वनका रुखहरु त्यसैगरी फडानी गरिएको छ । त्यही सामुदायिक वनका अध्यक्ष हर्कबहादुर चन्दले नै आफ्नो नेतृत्वका वनका रुखहरु काटिएको बताए । ‘मेरो नेतृत्वमा माघ १८ माघ गतेमात्रै समिति चयन भएका हो । आफ्नो कार्यकाल भन्दा पहिले नै रुख काटिएको देखियो’, अध्यक्ष चन्दले भने ।

उनका अनुसार चुरे क्षेत्रमा पर्ने सामुदायिक वनका ६० देखि ७० वटा सालका ठूला रुख काटिएको बताए । ‘हामी निर्वाचित भयौँ, ‘उनले थपे, ‘पुर्व पदाधिकारी, वनकर्मचारी, उपभोक्ता वा कुनै तस्करले रुख काटेको विषयमा हामी जिम्मेबारी छैनौँ ।’ चन्दले आफ्नो कार्य समितिले अनुगमन गर्दा ती रुख काटिएको पाइएको जानकारी दिए ।

‘ती कसले काटेको हो, त्यस बारेमा हामीपनि खोजतलासी गरिरहेका छौं’, अध्यक्ष चन्दले भने । उनका अनुसार तस्करहरुको पहिलो नजरमा रहेको बह्मदेव सामुदायिक वन र चुरेका सालका रुख छन् ।

तस्करले सालका रुख काटेको जंगलमा स्थलगत भ्रमण गर्दा भेटिएको छ । चुरे र सिद्धनाथ सामुदायिक वनका ठाँउ ठाउँमा सालका सिधा रुख काटेका छन् । रुख काटिएको स्थानमा मुडा र पात बाहेक राम्रो काठ काटेर लगेको पाईन्छ । चुरे विनास र सामुदायिक वन सखाप पार्ने हिसाबले सालकै रुखमा तस्करले नजर पु¥याएको छ ।

स्थानीय, उपभोक्ता, सुरक्षा निकाय सहित वनका कर्मचारीसंग समन्वय गरे वन संरक्षण गर्ने अध्यक्ष चन्दले बताए । सिद्धनाथ सामुदायिक वनका निर्वतमान अध्यक्ष मोतिसिह महताले उक्त सालका रुख आफ्नो कार्यकालमा नकाटिएको बताए ।

‘सामुदायिक वन र चुरेमा काटिएका सालका रुख घटना दुखत हो, ‘उनले भने, ‘घटना बारे छानबिन गर्नुपर्छ ।’ षड्यन्त्रकारीकै योजनामा रुख काटिएको हुन सक्ने दावि गर्दै उनले वनका पदाधिकारी र कर्मचारीमाथि आरोप लगाउन यस्तो प्रपञ्च रचिएको उनको भनाई थियो ।

निवर्तमान अध्यक्ष महताले आफ्नो पालामा १५ जना काठ तस्करीमा संलग्नलाई कारवाही गरिएको बताए । रुख कटानीमा कर्मचारी र पदाधिकारीको मिलोमतो कुनैपनि प्रकृतिको सेटिङ्ग नभएको दावि गर्दै छानबिन गर्न आग्रह गरे । सिद्धनाथ सामुदायिक वनका नयाँ अध्यक्ष चन्द र निर्वतनमान अध्यक्ष महताले आ(आफ्नो कार्यकालमा रुख नकाटिएको दावि गर्दै आएका छन् । दुवैले एक अर्कोलाई घुमाउरो तरिकाले रुख काटिएको विषयमा यसको उसको पालामा भनेर पन्छाईरहेका छन् ।

रुख कुन अध्यक्षको पालामा काटिएको हो, भन्ने बारेमा उपभोक्तामा अन्यौलता छाएको छ । स्थानीय एव उपभोक्ताहरुले वन कर्मचारीकै मिलोमतोमा काठ कटानी, तस्करी भएको आरोप लगाएका छन् । उपभोक्ता जयदेव जोशीले वनका पदाधिकारी कर्मचारीको वेवास्ताका कारण वनका कटानी भएको बताए ।

‘वनभित्र चरम कटानी भएको रहेछ, ‘उनले भने, ‘रुख काटिदा, तस्करी हुँदा समेत न कुनै पक्राउ परे, न तस्करी रोकियो ।’ तस्करले बह्महदेवका स्थानीय सःमिल र भारतमा काठ बिक्रि वितरण गर्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीय लोचन कार्कीले चुरे र सामुदायिक वन विनास हुँदा समेत समेत सम्बन्धी निकायले बेखबर रहेको बताए । ‘चुरे र सामुदायिक वनमा काँचै सालका रुख काटिएका छन, ‘उनले भने, ‘त्यसमा सम्बन्धीत निकायको ध्यान पुगेको छैन् ।’ कार्कीले सम्बन्धित निकाय सहित वन कर्मचारीको मिलोमतो भएकै कारण काठ कटानी नरोकिएको आरोप लगाए । बह्देव सव डिभिजन वन कार्यालयका प्रमुख जिवन भण्डारी काठ तस्करीमा वनका कर्मचारीको मिलोमतो भन्ने आरोपको खण्डन गर्छन ।

‘हामीमाथी लाग्ने आरोप पुरै झुटो हो, ‘उनले भने, ‘कर्मचारीमाथि लगाईने निराधार आरोप मात्रै हुन ।’रुख काटिएको विषयमा कर्मचारी खटाएको बताउदै उनले सरक्षणमा स्थानीयको सहयोग आवश्यक रहेको औल्याए । भीमदत्तसंगै कञ्चनपुरका चुरेसंग जोडिएका अन्य क्षेत्रमा पनि बर्षौदेखि चुरे फडानी जारी रहेको छ ।

Facebook Comments