भारतबाट आएका विरामीमा कोरोना परिक्षण गर्ने चुनौती ‘थर्मल गन’ बिनाको हेल्थ डेस्क

सिरहाको इनर्वा नाका स्थित हेल्थ डेस्क । यहाँ स्वास्थ्यकर्मीको टोली दिउँसो ४ नबज्दै घर फर्किन्छन ।
लहान, फागुन २५ — प्रदेश २ का आँखा अस्पतालहरुमा उपचारका लागि आउने विरामीमध्ये भारतीयको संख्या धेरै छ । यहाँका आँखा अस्पतालप्रतिको विश्वासले गर्दा भारतबाट करिब ६० प्रतिशत विरामी उपचारका लागि आउँछन् ।

तर अहिले भारतबाट आउने ती विरामीमा कोरानाको संक्रमण छ की छैन भनेर कसरी परिक्षण गर्ने भन्ने अन्यौलतासँगै चुनौती थपिएको छ । चिनबाट सुरु भई भारतसहित विश्वभर फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जाँच गर्ने चूनौती त्यत्तिकै छ ।

लहान स्थित विश्वकै तेस्रो ठूलो सगरमाथा चौधरी आँखा अस्पतालमा नेपालसहित भारत र तेस्रो मुलुकबाट उपचारका लागि विरामी आउँछन् । यहाँ उपचारका लागि आउने विरामी मध्ये ५० प्रतिशत भारत र अन्य देशका हुन्छन । रौतहटको गौर आँखा अस्पताल र विरगञ्जको केडिया आँखा अस्पतालमा पनि कूल विरामीको करिब ६० प्रतिशत भारतीय विरामी हुन्छन ।

अहिले कोरोना भाइरसले विश्वभर मानव स्वास्थ्यमा गम्भीर चुनौती थपेको छ । भारतको दिल्ली, उत्तर प्रदेशलगायतमा कोरोना भाइरसका विरामी भेटिएपछि मधेसका सर्वसाधारण चिन्तित छन । दैनिक उपभोग्य बस्तु खरिदका लागि सीमापार जाने देखि भारतको विभिन्न प्रान्तबाट आँखा उपचारका लागि आउने विरामीले मधेसमा कारोना परिक्षण अभियानमा चुनौती थपिएको छ ।

सीमादेखि अस्पतालसम्म भरपर्दो जाँच र सावधानी नहुँदा यस भेगमा खतरा बढाएको छ । यी आँखा अस्पतालहरुमा आउने भारतीय र अन्य देशका आँखा विरामीलाई तापक्रम मापनदेखि अन्य स्वास्थ्य जाँचको बन्दोबस्त छैन् । आइसोलेसन वार्ड लगायतका तयारी पनि छैन् । स्थानीय प्रशासन यसबारे बेखबर देखिन्छ ।

प्रदेश सरकार र स्थानीय प्रशासन नेपाल भारत सीमा नाकामा हेल्थ डेस्क स्थापना गरी जाँच गरिरहेको दावी गरिरहेका छन् । तर, सीमामा स्वास्थ्यकर्मी भन्दा पनि सुरक्षाकर्मीहरु बेला बेला पर्चा(कोरोनाबारे चेतनामूलक सामग्री) बाड्दै छन् ।

प्रदेशमा छैन ‘थर्मल गन’
नोबल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भारतसँग जोडिएका प्रदेश २ का नाकाबाट आउने–जानेमध्ये आशंकितको स्वास्थ्य जाँचका लागि हेल्थ–डेस्क स्थापना गरिएको सरकारले जनाएको छ । सप्तरीदेखि पर्सासम्म आठवटै जिल्लाहरूले भारतसँग छोएका नाकाहरूमा हेल्थ–डेस्क राखेर यहाँबाट आउजाउ गर्नेमध्ये रुघाखोकी लागेकाहरूको तापक्रम जाँच, कोरोनाबाट बचाउका उपायबारे जानकारी गराइरहेको सरकारी दावी छ ।

भारतसँग छोएको मुख्य नाका सिरहाको ठाढी, माडर र बरियारपट्टीमा हेल्थ–डेस्क राखिएको प्रजिअ गोपालकुमार अधिकारीले बताए । ‘बरियारपट्टी, माडर, ठाढी मुख्य आउजाउ हुने नाका भएकाले स्वास्थ्य जाँच डेस्क राखिएको छ,’ अधिकारीले भने, ‘बुधबार निर्णय गरेर नाकाहरूमा सतर्कता अपनाइएको हो ।’

नाकामा राखिएका जाँच केन्द्रमा अहिलेसम्म कोही व्यक्तिमा पनि कोरोना संक्रमणको लक्षण नदेखिएको उनले जानकारी दिए । ‘सबैलाई जाँच नगरी रुघाखोकीका बिरामीलाई स्वास्थ्यकर्मीले जाँच्दै छन्,’ उनले भने, ‘कोरोनाको जोखिमबाट न्यूनीकरण गर्न आवश्यक सुरक्षाका उपाय अपनाइएको छ, अपनाइँदै छ ।’

स्वास्थ्य सेवा विभागका डाक्टर अमृत पोखरेलको नेतृत्वमा आएको टोलीको सुझावमा जिल्ला अस्पताल सिरहामा आइसोलेसन वार्ड स्थापना गरिएको प्रजिअ अधिकारीले बताए । जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई अलर्ट अवस्था राखिएको उनको भनाइ छ ।

प्रजिअ अधिकारीले जिल्लामा कोरोना प्रसार नहोस् भनी प्रशासन विशेष सर्तक रहेको दाबी गरे पनि सीमा नाकामा सावधानी अपनाइएको पाइदैन् ।

प्रदेश २ मा जनकपुर, सिमरा र राजविराज गरी तीनवटा विमानस्थल छन् । जनकपुरको जानकी मन्दिर, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता (सखडा) र कंकालनी मन्दिर भारतीय धार्मिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुन् । यहाँ हवाई मार्ग र विभिन्न नाका भएर भारतीय तथा विदेशी पर्यटक आउँछन ्। राजविराज विमानस्थलमा हेल्थ–डेस्क स्थापना गरिएको छ । तर आवश्यक जाँच उपकरण तथा सामग्री छैनन् । छिन्नमस्ता भगवती मन्दिर र कंकालनी मन्दिरमा आउने धार्मिक पर्यटकको स्वास्थ्य जाँचको प्रबन्धसमेत हालसम्म मिलाइएको छैन ।

भारतसँग सीमा जोडिएको सप्तरीको सातवटा पालिकाको आठवटा नाकामा हेल्थ–डेस्क स्थापना गरिएको प्रजिअ सुनिल खनालले बताए । पालिकाहरूको सहयोग तथा समन्वयमा तिलाठी, रामपुरमल्हनिया, गोविन्दपुर, रामनगर कोदरकट्टी, बेल्हीलगायत नाकामा ‘स्वास्थ्यकर्मीसहितको टोलीले अनियन्त्रित आउजाउमा नियन्त्रण गर्नुका साथै आशंकितलाई स्वास्थ्य जाँच गर्दै छ,’ उनले भने ।

जिल्लामा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्नेबारे छलफल भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । प्रदेश २ को सामाजिक विकासमन्त्री नवलकिशोर साहसहितको बैठकमा जनकपुरको जानकी मन्दिर, बसपार्क र विमानस्थलमा हेल्थ–डेस्क राखी विशेष निगरानी बढाउने निर्णय भएको छ । निर्णय कार्यान्वयका लागि जनकपुरधाम उपमहानगरपालिकालाई सहयोग तथा समन्वय गर्ने जिम्मेवारी दिइएको छ । प्रजिअ प्रदीपराज कँडेलका अनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा दुईवटा बेडसहितको आइसोलेसन वार्ड तयार पारिएको छ तर उपकरण तथा सामग्री अभाव छ,’ उनले भने ।
सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लासँग सीमा जोडिएका नाकाहरूमा भारततर्फ पनि हेल्थ–डेस्क स्थापना गर्न मधुवनी जिल्लाका मजिस्ट्रेटलाई आग्रह गरिएको प्रजिअ कँडेलले बताए । महोत्तरी जिल्लासँग भारतको सीमा जोडिएका मटिहानी, मलिबाडा, रघुनाथपुर, समसीलगायत ११ वटा नाकामा हेल्थ–डेस्क स्थापना गरी निगरानी सुरु गरिएको प्रजिअ सूर्यबहादुर खत्रीले बताए ।

सर्लाहीका प्रजिअ मोहनबहादुर केसीका अनुसार भारतसँग सीमा जोडिएको मूलनाका सोनवर्षामा हेल्थ–डेस्क स्थापना गरिएको छ । आशंकित व्यक्ति (रुघाखोकीका बिरामी) लाई सोही हेल्थ–डेस्कमा स्वास्थ्य जाँच गर्ने गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए । अहिलेसम्म कहीं–कतै आशंकित व्यक्ति भेटिएको सूचना नभएकाले आइसोलेसन वार्ड खडा गरिएको छैन,’ उनले भने । सचेतनामूलक कार्यक्रमलाई भने व्यापक बनाइएको र कोरोनासम्बन्धी भ्रम तथा यथार्थबारे स्वास्थ्यकर्मीहरूले जनतालाई जानकारी दिइरहेको उनको भनाइ छ ।

बारा जिल्लासँग सीमा जोडिएका नाकाहरूमा हेल्थ–डेस्क स्थापना गरिएका छन् । सिमरा विमानस्थल र गढिमाई मन्दिरमासमेत गरी ११ वटा हेल्थ–डेस्क स्थापना गरिएको प्रजिअ भनिन्द्र पोखरेलले बताए । जिल्ला अस्पताल कलैयामा तीनवटा बेडसहितको आइसोलेसन वार्ड स्थापना गरिएको उनले बताए ।

चीनबाट सुरु भई विश्वमा त्रास फैलाएको कोरोना भाइरस मधेससँग सीमा जोडिएको भारतमा देखा परेपछि मधेसी समाजमा हलचल पैदा भएको छ । तर प्रदेश सरकार छलफल, बैठक, भाषणमै बढी समय खर्च गरिरहेको देखिएको छ । प्रदेश २ का आठवटै जिल्लामा हेल्थ र हेल्प–डेस्क स्थापना गरी कोरोना नियन्त्रणमा विशेष सतर्कता अपनाइएको प्रदेश सरकारको समाजिक विकासमन्त्री नवलकिशोर साहले बताउँदै आएका छन् । तर प्रदेश २ का जिल्लाहरूमा तापक्रम जाँच्न प्रयोग हुने ‘थर्मल गन’समेत छैन । हेल्थ–डेस्क छ तर जाँच उपकरण र दक्ष जनशक्ति छैन। डेस्क व्यवस्थित छैन । सिरहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर यादवले माडर नाकामा एक सातादेखि हेल्थ–डेस्कमार्फत भारतबाट आउने मानिसहरूको स्वास्थ्य जाँच गर्दै आएको दाबी गर्छन् । तर यो नाकाबाट आउजाउ गर्ने कति जना मानिसको स्वास्थ्य जाँच गरिएको छ ? भनी जिज्ञासा राख्दा उनले तथ्यांक दिन सकेनन् । उनका अनुसार हेल्थ–डेस्कमा तापक्रम जाँच्ने थर्मा्मिटरमात्र भएकोले शंका लागेका मानिसलाई मात्र जाँच गर्ने गरिएको छ ।

एउटा डेस्कमा नेपालबाट भारत जाने र अर्काेमा नेपाल भित्रिने व्यक्तिको तापक्रमलगायत स्वास्थ्य जाँच गरिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । यताबाट बाहिरिने व्यक्तिलाई कोरोनाबारे सचेत गराएर सुरक्षा उपाय अपनाउन डेस्कले सम्झाउनुपर्ने हो । डेस्कमा रहेका स्वास्थ्यकर्मीले तापक्रम जाँच्न ‘थर्मल गन’ प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । ६ देखि १२ हजार रुपैयाँसम्म मूल्य पर्ने थर्मल गनले सम्बन्धित व्यक्तिको शरीरमा नछोई तापक्रम जाँच्न सकिन्छ ।

सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार सो कार्यालयमा थर्मल गन किन्ने बजेट छैन । ‘प्रदेश सरकारले किनेर हामीलाई पठाउने भनेको छ । अहिलेसम्म हामीसँग थर्मल गन नआएकोले थर्मो्मिटरबाटै काम चलाइराखेका छौं,’ उनले भने ।

थर्मल गन नहुँदा प्रदेश २ मा स्थापना गरिएको हेल्थ र हेल्प डेस्क औपचारिकतामै सीमित भएको छ । भारततिरबाट आउने व्यक्तिको तापक्रम बढी पाइए वा कोरोनाको आशंका भए के गर्ने भन्नबारे हेल्प–डेस्क प्रष्ट छैन । नेपालबाट बाहिरने व्यक्तिमा त्यस्तो आशंका भए उपचारका लागि कुन स्वास्थ्य संस्थामा पु¥याउनेबारे पनि सरकारले प्रष्ट गरेको छैन ।

Facebook Comments