पश्चिम नेपालमा कोरोना रोकथाम र पूर्व तयारी सुस्त

नेपाल–भारत सिमा नाका जमुनाहामा भारतबाट फर्किने ब्यक्तिको स्वास्थ्य परिक्षण गरिदै ।

हाकाहाकी— कोरोना भाइरसका कारण पश्चिम नेपालको जनजीवन प्रभावित हुन थालेको छ । भाइरस संक्रमणको जोखिमका कारण वुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी लगायत साविक मध्य र सुदुर पश्चिम क्षेत्रका तराई र पहाडी जिल्ला प्रभावित भएका हुन ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडा गाउँमा यसै साता भाइरल ज्वरोले ४० जनाभन्दा बढी स्थानीय थलिए । ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने र वान्ता आउने लक्षण देखिएपछि कोरोना भाइरस संक्रमण भएको भन्दै स्थानीय त्रसिद भएका थिए । तर चिकित्सकको टोलीले डोल्पामा कोरोनाका बिरामी नभेटिएको पुष्टि गरिसकेको छ ।

यस्ता घटनाहरु सार्वजनिक भएपछि कर्णालीबासी आत्तिन थालेका छन् । कर्णाली प्रदेश सरकारले यसको रोकथामका लागि पूर्व तयारीको पहल नगरेको आरोप उनीहरुको छ ।

डोल्पाबासी मात्र होइनन्, चीनसँग सिमाना जोडिएको कर्णालीका सर्वसाधारण समेत कोरोनाको संक्रमण फैलिने त होइन भन्ने आशंकामा छन । कर्णालीबाट सबैभन्दा बढी रोजगारीका लागि जाने भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानियहरु सशंकित हुन थालेका हुन ।

सोमबारसम्म कर्णाली प्रदेशमा ६ जनामा कोरोना भाइरस संक्रमणको परिक्षण गरिएको छ । दैनिक सयौं व्यक्ति भारतबाट कर्णाली आवतजावत गर्ने हुँदा सीमा क्षेत्रमा चेकजाँच गर्ने व्यवस्था गर्नुपर्ने यहाँका बासिन्दाको भनाइ छ । कर्णालीमा त्रास बढ्दै जाँदा कर्णाली प्रदेश सरकारले तयारी गरेको देखिँदैन ।

कर्णाली प्रदेशका प्रमुख प्रवेशद्वार रत्न राजमार्ग र राप्ती राजमार्गमा हेल्थ डेस्क राख्ने विषयमा सरकारले छलफल गरेको छैन । यता चीनसँग जोडिएका नाकामा पनि सतर्कता अपाउन कुनै पहल भएको देखिँदैन । सांसदले पनि सरकारसँग यसको तयारीका विषयमा जवाफ माग गर्दै आए पनि सरकारले जवाफ दिन सकेको छैन । प्रदेश सरकारले अहिले कोरोना भाइरसको बारेमा चेतनामूलक प्रचारपम्पिलेट वितरण गर्ने काम मात्र गरेको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बस्ने र आवश्यक कदमहरू चाल्ने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । तयारीस्वरूप कर्णालीमा सात सदस्यीय कार्यदल गठन भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीको अध्यक्षतामा अन्य स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सम्बन्धित कर्मचारी सम्मेलित सात सदस्यीय उक्त समितिले कोरोना भाइरसको लक्षण देखिए वा शंका माने तत्काल त्यसको उद्दार गरी उपचारमा सघाउने छ । साथै चीनसँग सीमा जोडिएको हुम्लास्थित हिल्सा र प्रदेश नम्बर ५ बाट कर्णालीको प्रमुख प्रवेशद्वारा बर्दियाको बबई र राप्ती राजमार्गमा हेल्थ डेस्क राख्ने विषयमा छलफल भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्स्तरीय बैठक बसेर थप तयारीका कार्यक्रम अगाडि ल्याइने स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

भिडभाडबाट जोगिदै सर्वसाधारण
कोरोना भाइरसको संक्रमण फैलिन्छ की भन्ने डरले नेपालगन्जको जनजीवन पनि प्रभावित बनेको छ । जिल्लाका शिक्षण संस्था, बजार, उद्योग, कलकारखाना लगायत सर्बसाधारणको बढी मात्रामा भिडभाड हुने क्षेत्र सबैभन्दा प्रभावित छ । सर्वसाधारणको उपस्थिती कम हुदै गएको छ । ‘विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाम्रो यहाँ पनि भित्रिन सक्ने भएको हुँदा सावधानी अपनाउनुको विकल्प छैन,’ नेपालगन्ज कोरियनपुरका राजेन्द्र केसीले भने ‘कोरोना भाइरसबाट संक्रमित हुने डरले अचेंल भिडभाड हुने ठाउँमा जान चटक्कै छाडेको छु ।’ अत्यावश्यक काम बाहेक अन्य समयमा घरमै समय बिताउने गरेको उनले सुनाए ।

सम्भावित जोखिम कम गर्न बाँके प्रशासनले सर्तकता अपनाउन सर्बसाधारण नागरिकलाई सजग गराएको छ । प्रशासनले सूचना प्रकाशित गर्र्दै जिल्लामा सञ्चालन हुने कुनैपनि मेला, महोत्सव तथा सभा सम्मेलन हाल स्थगित गर्न निर्देशन दिइसकेको छ । नेपालगन्जस्थित नेपाल–भारत सिमानाका जमुनाहा र नेपालगन्ज विमानस्थलमा विशेष सावधानी अपनाइएको छ । यी स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय प्रशासनको अगुवाईमा सरोकारवालाबीच बैठक तथा छलफल भइरहेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लामा कोरोना भाइरसको संक्रमण हुन नदिन विशेष सावधानी अपनाइएको बताए ।

कोरोना भाइरसलाई लक्षित गरी नेपालगन्ज बिमानस्थलमा स्थापना गरिएको चेकजाँच कक्ष

मास्कमा कालोबजारी
कोरोना भाइरसको त्रासको फाइदा उठाउँदै बजारमा मास्कको कालोबजारी सुरु भएको छ । मास्क लगाउनेको संख्या बढदै गएपछि मास्कको कालो बजारी सुरु भएको हो । बजारमा मास्कको मुल्य पहिलेको तुलनामा ह्वात्तै बढेको सर्बसाधारण बताउँछन् । ‘पहिले पाँचदेखी १० रुपैयाँमा सहजै पाइने मास्कलाई अहिले मेडिकल पसलले बेच्न छाडिसकेका छन्,’ नेपालगन्जका चन्द्र रानाले भने ‘मास्क किन्न जाँदा दिदैनन्, कसैले दिइहालेपनि महंगो मुल्य सुनाउँछन् ।’

कोरोना भाइरसको त्रासले जनजीवन आतंकित भइरहेका बेलामा ब्यापारीले रातारात पैसा कमाउने भन्दा सामाजिक काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वीर बहादुर ओलीले मास्कमा कालोबजारी गरेको सूचना पाए कारबाही गर्ने बताए । जिल्ला प्रहरी कार्यालयले करिव एक हजार थान मास्क ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई वितरण गरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले आफै एक हजार जति मास्क किनेर ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई बाड्यौं, तर हामीले किन्दा सहज रुपमै पाएका छौं, तर यही मास्क सर्बसाधारणले सहज रुपमा पाउन सकेनन् वा कालोबजारी भएमा हामी छाड्दैनौं,’ प्रहरी प्रमुख ओलीले भने ।

वार्षिक परिक्षा चैत ५ गतेभित्र
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत बिद्यालयको बार्षिक परिक्षा चैत ५ गतेभित्रै गराउने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाको अगुवाईमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुर्व निर्धारित तालिकाभन्दा अगावै चैत ५ गतेभित्रमा कक्षा ९ सम्मको परिक्षा सम्पन्न गर्ने सर्बपक्षिय निर्णय भएको शिक्षा शाखाका प्रमुख गोरखबहादुर थापाले जानकारी दिए ।
‘बार्षिक परिक्षाको तालिका परिर्वतन भइसकेको छ, यही फागुन २८ गतेबाट नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत्र ५ गतेभित्रै सम्पन्न गरिनेछ,’ उनले भने । सरकारले यसवर्षको एसइइ परिक्षा भने चैत ६ गतेबाट गर्ने तालिका सार्बजनिक गरिसकेको छ । तर एसइइ परिक्षाको विषयमा भने संघिय सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको थापा बताउँछन् ।

अधिकारकर्मीको ज्ञापनपत्र
कोरोना भाइरसको समस्या जटिल बन्दै गएको भन्दै बाँकेका अधिकारकर्मीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । जिल्लाका नागरिकलाई सुरक्षाको अनुभुती दिन, नागरिकको स्वस्थ भई बाँच्न पाउने अधिकारको सुनिश्ति गर्न÷गराउन ज्ञापन पत्र बुझाइएको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताए ।
उक्त ज्ञापन पत्रमा नेपाल–भारत सिमा नाका, बसपार्क, विमानस्थल जस्ता बाहिरबाट आवागमन हुने सार्वजनिक स्थानमा समेत आवश्यक स्वास्थ्यकर्मी खटाएर नागरिकको स्वास्थ्य सुरक्षा गर्नुपर्ने माग गरिएको छ । अधिकारकर्मीको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले यसप्रति आफु सचेत रहेको र जिल्लामा त्यस्तो समस्या आउन नदिन उच्च सर्तकता अपनाउने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापन पत्र बुझाउँदै ।

नाकामा सर्तकता
नेपालगन्ज भन्सारमा कोरोना भाइरसको महामारी नेपाल प्रवेश हुन नदिन विशेष सर्तकता अपनाइएको छ । भन्सार क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सिमा क्षेत्रमा हेल्प डेस्क (सहयोग कक्ष) स्थापना गरी विशेष सर्तकता अपनाएको हो । उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार डेस्कमा भारतबाट नेपाल भित्रिने ज्वरो लगायत स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । भारतबाट नेपाल आउने बिरामीको लागि ‘इन्फाइड थर्मोमिटर’ को सहायताले ज्वरो नाप्ने गरिएको उनले जानकारी दिए । ‘इन्फाइड थर्मोमिटरको सहायताले करिव एक मिटर टाढाबाट ज्वरो नाप्ने गरिएको छ,’ उनले भने ।
बिरामीको स्वास्थ्य परिक्षणका लागि हरेक दिन बिहान ७ बजेदेखी बेलुका ७ बजेसम्म २÷२ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । ‘भारत हुदै नेपाल प्रवेश गर्ने ब्यक्तिबाट कोरोना भाइरस भित्रिन नपाओस् भनेर यस्ततो सर्तकता अपनाइएको हो,’ चन्दले नागरिकसँग भने ‘अहिले सम्म कुनै त्यस्तो शंकास्पद बिरामी फेला परेका छैनन, तरपनि हामीले आफ्नो तर्फबाट सर्तकता अपनाएका छौं ।’ स्वास्थ्य जाँचका साथै भारतबाट आउने ब्यक्तिलाई जनचेतना मुलक पोष्टर, पम्प्लेट वितरण पनि गरिएको चन्दले जानकारी दिए । इबोला र स्वाइन फ्लुका बिरामीको स्वास्थ्य परिक्षण गर्न उक्त स्थानमा हेल्प डेस्क राख्ने गरिएको थियो ।
शंकास्पद बिरामी भेटिएमा तत्कालै भेरी अस्पताल नेपालगन्जमा पठाउने ब्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भारतमा मजदुरी गरेर फर्किने नेपाली रुपैडिहा हुदै नेपालगन्ज प्रवेश गर्छन्, भने कैलाश मानसरोवर तिर्थयात्राका लागि यस नाका हुदै तिर्थयात्रीहरु नेपालगन्ज आउने गर्छन् । औषधी उपचार र ब्यापारिक कामको शिलशिलामा भारत पुगेका नेपाली पनि सोही नाकाबाट फर्किने गरेको पाइन्छ ।

जनचेतना फैलाउँदै युवा
रोल्पाका युवाले कोरोना भाइरसबाट बच्नका लागि जनचेतना फैलाउने काम सुरु गरेका छन । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट कसरी बच्ने भन्ने सवालमा युवाहरुले बिभिन्न बिद्यालयमा पुगेर बिद्यार्थी र शिक्षक संग छलफल सुरु गरेका हुन । जिल्ला अस्पतालकी डा. सपना कर्णको सहयोगमा यहाँका युवाले बालउदय माबि माडिचौर र शुक्रबार बालकल्याण नमुना माबिमा सचेतना मुलक कार्यक्रम संचालन गरेका थिए । डा. कर्णले कोरोनाका बारेमा जानकारी दिदै बच्ने उपाय र साबधानीका बारेमा प्रश्ट पारेकी थिईन ।

बिद्यालयमा गरिएको जानकारी मुलक कार्यक्रममा बिद्यार्थी र शिक्षकले डा. कर्णलाई कोरोना सम्बन्धी बिषयमा बिभिन्न सवाल गरेका थिए । बिद्यालयमा सचेतना मुलक कार्यक्रम गरेका युवाहरुले जनस्वास्थ्यका बिषयमा स्थानिय सरकारले चासो दिनु पर्ने बताए ।

डोल्पाको ज्वरो कोरोना होइन
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा फैलिएको रुवाखोकी र ज्वरोको प्रकोप कोरोना भाइरस नभएको पाइएको छ । करेलीकाँडामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना भाइरस नभएर इन्फल्युन्जा ए भएको ल्याब परिक्षणबाट खुलेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले बताए ।रोगको नमूना परीक्षणको लागि प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्रबहादुर थापा र ल्याव टेक्निसयिन कमलकुमार थापा सहितको विशेषज्ञ टोली हेलिकप्टर मार्फत फागुन २१ गते प्रभावित क्षेत्रमा पुगेर विरामीहरुको खकार र्याल दिशा पिसाव लगायत रगतको नमूना संकलन गरेर ल्याब परिक्षण्को लागि काठमाण्डौस्थित टेकु अस्पतालमा लगिएको थियो । शनिवार साँझ टेकु अस्पतालले डोल्पाको करेलीकाँडा गाउँमा भएका विरामीको रगत खकार र्याल परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ पाइएको रिपोट आफुलाई प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर सिजन रावले जानकारी दिए । फागुनको पहिलो हप्ता फैलिएको रुघाखोकी र ज्वरोले एकै गाउँका ८० भन्दा बढी मानिस ओछ्यानमै थला परेपछि विश्वभर फैलिएको कोरोना भाइरस त होइन भन्ने आशंकाले करेलीकाँडा गाउँ मात्र नभई जिल्लाभर सनसनीको अवस्था सृजना भएको थियो ।पचास घरधुरी रहेको करेलीकाँडा गाउँमा झण्डै ४५ घरका ८० जना परिवार रुवाखोकी र ज्वरोले ओछ्यानमै थला परेका थिए ।

सभा सम्मेलन गर्न पनि रोक
धनगढी उपमहानगरपालिका क्षेत्र भित्र शभा सम्मेलन, भेला तथा भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न उपमहानगरपालिकाले आग्रह गरेको छ । नगर प्रमुख वडले जारी गरेको अपिलमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै किसिमका बार्षिकोत्सव, भेला, सम्मेलन, शभा,महोत्सव, उत्सवका साथै भिडभाड गरिने किसिमका कार्यक्रम आयोजना नगर्न अनुरोध गरिएको छ ।

परिक्षा स्थगित
सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९) वाट सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्ने घोषणा गरेको छ । सरोकारवाला सँगको छलफल पछि धनगढी उपमहानगरपालिकाले परिक्षा समेत स्थगित गरि फागुन २५ गते देखि सवै बिद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख नृप वहादुृर वडले बताएका छन । ‘बिश्वका अधिकाशं देशमा फैलिरहेको कोरोना भाइरस दिनप्रतिदिन फैलिरहेकोले सो अवस्थावाट जोगिन सरोकारवाला सँग फागुन २३ गते वसेको बैठकको निर्णय अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत बिद्यलाय तथा सम्पुर्ण शिक्षण संस्थाहरुमा संचालन हुने आधारभुत तह, अन्तिम परिक्षा तथा वार्षिक परिक्षा र बिद्यालयका सम्पुर्ण पठनपाठनका क्रियाकलाप अर्को सुचना जारी नभएसम्मका लागी फागुन २५ गते देखि बिद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

Facebook Comments