फेवाताल जोगाउन ‘सिल्टेसन ड्याम’

फेवातालको सिरान क्षेत्रको खहरेमा सिल्टेसन ड्याम बनाउँदै
पोखरा – सिरानबाट बगेर आएको ढुंगा, गिट्टी, माटो, काठदाउराले पुरिँदै गएको फेवाताल जोगाउन उपल्लो क्षेत्रमा ‘सिल्टेसन ड्याम’ बनाउन थालिएको छ । ड्यामले सिरान क्षेत्रबाट बगेर सिधै तालमा मिसिने ढुंगा, माटो, काठ, दाउरा, गिट्टीलाई रोक्ने र ताल पुर्न नदिने प्राविधिकहरुले बताएका छन् ।

तालबारे गरिएका अध्ययनले फेवातालमा सिरान क्षेत्रबाट हरेक वर्ष करिब १ लाख ४२ हजार टन गिट्टि, बालुवा र माटो मिसिने अनुमान छ । त्यसले ताल क्षेत्र पुर्ने गतिलाई तिब्रता दिएको छ । तालको मुल श्रोत मानिएका विभिन्न खहरेखोला हुँदै बगेर आउने ढुंगा, माटो रोक्नका लागि उपल्लो क्षेत्रमा ड्याम बनाउन थालिएको पोखरा महानगरपालिकाले बताएको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा झण्डै २९ करोड रुपैयाँको लगानीमा फेवातालका सिरान क्षेत्रका ४ वटा खहरे खोलाको मुहानमा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न थालिएको हो । सिरान क्षेत्रका वेतयानी, लौरुक, अँधेरीखोला र हर्पनखोला घाँटीछिनामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न थालेको महानगरले बताएको छ ।

चारवटै आयोजनाको अनुमानित रकम ३४ करोड ४९ लाख रुपैयाँ गरिएपनि टेण्डरमा निर्माण कम्पनीले घटेर गर्दा २८ करोड ९६ लाख रुपैयाँमा निर्माण सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिएका छन् । उनका अनुसार ‘सिल्टेसन ड्याम’ निर्माणमा लागेको खर्च प्रदेश सरकार र पोखरा महानगरपालिकाले आधा आधा अर्थात दुबैले जनही १४ करोड ४८ लाख रुपैयाँ तिर्नेछन् ।

‘ताल बचाउनका लागि सिरान क्षेत्रमा सिल्टेसन ड्याम बनाउन थालिएको हो,’ मेयर जिसीले भने, ‘तालको सिरान क्षेत्रबाट बगेर आउने ढुंगा, माटो नरोकेसम्म ताल जोगिने अवस्था रहेन । त्यही भएर सिरान क्षेत्रबाट बगेको बस्तुलाई रोक्न खोजिएको हो ।’ ताल क्षेत्रको माथिल्लो भाग पुरिने क्रम तिब्र छ । त्यसको कारक नै सिरान क्षेत्रबाट वर्षेनी वर्षायाममा बगेर आउने ढुंगा, गिट्टी, बालुवा हो । त्यसबाहेक सिरान क्षेत्रमा पहिरो जाँदा पनि ठुलो परिमाणमा ढुंगा माटो बगेर तालमै मिसिने गरेको उनले बताए । सिल्टेसन ड्यामले ताल क्षेत्रबाट बगेको ढुंगा, गिट्टी बालुवा तालमा मिसिन रोकिने उनले बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण शुरु भएको हो । वेतयानी र लौरुकखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’ ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटरको उचाइको हुनेछ भने अँधेरीखोला र घाँटीछिनास्थित हर्पनखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’ १ सय मिटर लम्बाई, १ सय मिटर लम्बाई र ४ मिटर उचाईको हुनेछ । प्रत्येक ‘सिल्टेसन ड्याम’मा बायो इन्जिनियरिङको काम, चेकड्याम निर्माण, ग्याबियनका कामसहित सिल्टपोखरी निर्माणको काम गरिनेछ । १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने भनिएको ‘सिल्टेसन ड्याम’ बनाउन गत भदौ २९ गते सम्झौता भएको थियो ।

फेवाताल जलाधार संरक्षण अभियान अन्तर्गत वेतयानी खोलाको ‘सिल्टेसन ड्याम’ फेवातालको सबै भन्दा नजिक पर्दछ । फेवातालको सिरान क्षेत्र पामे बजार भन्दा ३ सय मिटर माथि निर्माण गरिने ‘सिल्टेसन ड्याम’ ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँमा निर्माण सम्झौता भएको छ । लौरुकखोलामा निर्माण हुने ‘सिल्टेसन ड्याम’ ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ लागतको हो । अँधेरीखोलाको ‘सिल्टेसन ड्याम’ निर्माण गर्न ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँमा सम्झौता भएको छ । फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र घाँटीछिनास्थित हर्पनखोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँमा निर्माण सम्झौता भएको छ ।

‘विभिन्न निर्माण कम्पनिले तालको सिरान क्षेत्रमा सिल्टेसन ड्याम बनाउने जिम्मा लिएका हुन् । ड्याम बनाउने काम धमाधम भईरहेको छ,’ पोखरा महानगरपालिकाका बरिष्ठ ईञ्जिनियर शारदामोहन काफ्लेले भने, ‘सम्झौता भएको १५ महिनाभित्र काम सक्ने सम्झौता हो । ताल पूर्नबाट जोगाउने गरि सिरान क्षेत्रमा पूर्वाधार बनाउन थालिएको हो ।’ ‘सिल्टेसन ड्याम’ निर्माणपछि फेवातालमा विभिन्न खोलाबाट ढुंगा, गिट्टी, बालुवा नआउने बताए ।

निर्माण गरिएका ‘सिल्टेसन ड्याम’ बाट वार्षिक रुपमा ३ लाख घन मिटर ढुंगा, गिट्टी, बालुवा झिक्न सकिने प्राविधिकहरुको भनाई छ । त्यसबाट महानगरपालिकालाई वार्षिक रुपमा २३ करोड रुपैयाँ आम्दानीसमेत हुने उनीहरुको भनाई छ । ‘सिल्टेसन ड्याम’मा थुप्रिएको ढुंगा, गिट्टी, बालुवा साप्ताहिक रुपमा निकाल्ने ब्यबस्था हुने तर आवश्यक परेको खण्डमा दैनिक रुपमा समेत निकाल्न सकिने महानगरले बताएको छ ।

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिले क्षेत्रफल करिब ४.२ वर्गकिलोमिटर भनिएको छ । यो क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन भएको छैन । सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवा र मानवीय अतिक्रमणले तालले वर्षेनी क्षेत्रफल गुमाउँदै गएको अध्ययन प्रतिवेदनले देखाएका छन् ।

पाँचवर्ष अघि वर्षायाममा सिरान क्षेत्रको तारेपहरो सामुदायिक वनमा पहिरो जाँदा बगेको ढुंगा, गिट्टी, बालुवा मात्र नभई बढेमानका रुख पनि तालमा मिसिए । त्यो बेला सबैभन्दा बढी ४२ रोपनी वन क्षेत्रको पहिरो सिधै तालमा मिसिएको थियो । त्यसबाहेक सिरान क्षेत्रमा जथाभावि मोटरबाटो खन्दा पनि बगेको माटो सिधै तालमा मिसिने गरेको छ । यसले गर्दा ताल पुरिने क्रम बढिरहेको छ ।

पोखराका पर्यटन क्षेत्रको मुख्य गहना फेवातालमा वर्षेनी वर्षायाममा यसैगरि ढुंगामुढा र माटो मिसिन्छ । ताल सिरानको कास्कीकोट, भदौरेतामागी र ढिकुरपोखरीमा आएको भीषण पहिरो सिधै तालमा मिसिने गरेको छ । सिरान क्षेत्रबाट ढुंगामाटो मिसिँदा ताल संकटमा पर्दै गएकोमा सर्वत्र चिन्ता छ । तालको यस्तै अवस्था रहिरहे पोखराको पर्यटन क्षेत्रमा ठुलो धक्का पु¥याउने यहाँका पर्यटन व्यवसायीको चिन्ता छ । वर्षेनी मिसिने ढुंगामाटोले तालको आयु घटाउँदै लगेको उनीहरुको भनाइ छ ।

Facebook Comments