इँटाभट्टाको मारमा स्कुल र बस्ती


इटहरी– १६ वर्षअघि शैलेन्द्रकुमार चौधरी र शिवनारायण चौधरीले आफ्नो गाउँ एकम्बा गाविस–२, उभदीमा निजी विद्यालय खोले। त्यहाँ दक्षिणकाली इँटा उद्योग भर्खरै बन्द भएको थियो।

बाल आदर्श प्राविमा विद्यार्थीको चहलपहल राम्रै थियो, पठनपाठन स्तरीय थियो।

विद्यालय खुलेको ३ वर्ष नबित्दै त्यहीँ स्थापना भयो— हिमालय इँटा उद्योग। कक्षाकोठामै इँटाभट्टाको धूवाँको मुस्लो छिर्न थालेपछि विद्यार्थीलाई निकै सकस भयो।

इँटाभट्टा बन्द गर्न विद्यालय सञ्चालक शिवनारायणले अनेक यत्न गरे। गाउँलेलाई वायु प्रदूषणको असरबारे सचेत गराए। गाउँले इँट्टाभट्टा बन्द गराउने अभियानमा जुटे। तत्कालीन वडाध्यक्ष टीकाराम चौधरीको प्रभावका कारण इँटाभट्टा बन्द हुन सकेन।

विद्यालय अहिले मावि बनिसकेको छ। इँटाभट्टा सञ्चालन भएको १३ वर्ष भयो। ‘विद्यालय नजिकै सधैं धूवाँ फाल्ने, प्रदूषण गर्ने र स्वास्थ्यमा असर गर्ने उद्योग सञ्चालन नगर्न अनुरोध गर्दा गाउँले मान्न तयार भए। तर, जनप्रतिनिधिले टेरेनन्,’ विद्यालयको आँगनतर्फ उडिरहेको धूवाँको मुस्लो हेर्दै शिवनारायणले भने, ‘हामी प्रदूषणको मारमा छौं, शक्तिसम्पन्नको मिलेमतोसामु केही गर्न सकिएको छैन।’

अहिले यो भेगमा इँटाभट्टाको संख्या बढिरहेको छ। हिमालय इँटा उद्योग छेवैमा अर्को भट्टा पनि थपिएको छ— आनन्द इँटा। शिवनारायणले यसपटक पनि विरोध गरे। तर, इटहरी नगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरी इँटाभट्टाकै पक्षमा उभिए।

‘मैले विरोध गर्न थालेपछि वडाध्यक्ष फाइल बोकेर स्थानीयलाई घरघरमा हस्ताक्षर गराउँदै हिँड्न थाल्नुभयो,’ शिवनारायण भन्छन्, ‘वडाध्यक्षज्यू स्वयम् माटो बेच्नुहुन्छ, टिपर व्यवसायी हुुनुहुन्छ। उहाँले आफ्नो व्यवसाय मात्रै हेर्नुभयो।’

विद्यालयमा अहिले ४ सय विद्यार्थी अध्ययनरत छन्। २० जना शिक्षक–कर्मचारी छन्। विद्यालय आसपास सुकाएको सेतो लुगामा धूवाँको धब्बा टाँसिन्छ। ‘अरू बेला ठीकै हुन्छ तर जब उत्तरतर्फ हावा चल्छ र हावा मडारिन्छ, विद्यालयमा बसिसक्नु हुँदैन,’ शिवनारायण भन्छन्, ‘कुनैकुनै बेला केमिकलको गन्ध पनि आउँछ।’

इँटा उद्योगनजिकै लिटिल केयर विद्यालय छ। इटहरी–१६ मा रहेको एसओएस बालग्रामसामुन्ने लामो समयसम्म इँटा उद्योग सञ्चालनमा थियो। बालग्रामका प्रिन्सिपल शान्तिराम तिम्सिनाका अनुसार बालग्रामसँगै जोडिएर २०६३ सालदेखि जयश्री इँटा उद्योग सञ्चालनमा आएको थियो। बालग्रामले भट्टाले निम्त्याएको प्रदूषणबारे चर्को आवाज उठाएपछि भदौमा बन्द भयो।

हिमालय र जयश्री मात्रै होइन– पवित्र, जयश्रीहरि, जयबाबा, पूजा, आनन्द इँटा उद्योग विद्यालय क्षेत्र आसपासमै छन्। कतिपय इँटाभट्टा इटहरी नगरका मानव बस्तीबीचमै छन्।

सुक्न थाल्यो पानीको सतह
उद्योग आसपासका क्षेत्रमा खानेपानीका कल सुक्न थालेको स्थानीयले बताए। बन्द भएको जयश्री इँटा उद्योगसामुन्ने बस्ने कला काफ्लेले कलबाट पानी आउनै छाडेको जानकारी दिइन्। ‘हाम्रो मात्रै हैन, छरछिमेक सबैको कल, इनार सुकेको छ,’ उनले भनिन्।

इटहरी–१६, हर्दिया टोलकै मुक्ति भण्डारीको केही महिनायता ‘अटोमेटिक ट्युबवेल’ सुकेको छ। ‘डेढ सय फिट गहिराइबाट आएको पानी सुकेपछि अब के उपायले पानी पिउने भन्नेमा सोचमग्न छौं,’ उनले भने, ‘यो सिंगो बस्तीकै समस्या हो।’

लबिपुर र एकम्बा नहर आसपासका इँटा उद्योगले गर्दा खेतीपाती गर्नेले सिँचाइका लागि पानी पाउन छाडेका छन्।

इँटा पोल्ने मेसिन चौबिसै घण्टाजसो उच्च तापमानमा रहने भएकाले जमिनको आद्रता (चिस्यान) सुकेको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, कृषि इन्जिनियरिङ विभागका उपप्राध्यापक सागर काफ्ले बताउँछन्। इँटा उद्योगमा कोइला पोल्दा ११ सय डिग्रिसम्मको तापक्रम चाहिन्छ।

खेतीकिसानी गर्दै आएका लबिपुरवासी श्याम घिमिरे पनि यतिबेला निराश छन्। ‘खेतीछेवैमा भट्टा भएकाले पानीको स्रोत सुक्दै गयो, जमिन चिसिनै सकेन। अनि पशुपालनतिर म लागेको छु,’ बस्तुभाउ लिएर चरनमा निस्केका घिमिरेले भने। माटोको उर्वराशक्ति सकिएर अन्नबाली कम उब्जन थालेपछि घिमिरे गाई फार्मको सम्पूर्ण मलमूत्र माटोमा सिञ्चित गरिरहेका छन्।

इटहरी–१५ पोखरी क्षेत्रमा बस्ने अश्री चौधरीले पनि इँटाभट्टा खुल्न थालेपछि उब्जनी निकै घटेको सुनाइन्। ‘पहिले १० कठ्ठा जमिनमै ४० मनसम्म धान फल्थ्यो,’ चौधरीले भनिन्, ‘अहिले त आधा पनि धान फलेन।’

मजरा टोलका अनिलकुमार चौधरीको परिवार केही वर्ष अघिसम्म कृषि पेसामै थियो। उनी अहिले निजी विद्यालयमा सवारीचालकको काम गर्छन्। चौधरी भन्छन्, ‘म चार–पाँच वर्षको होइन्जेल मेरा बुबाआमा र आफन्त प्रायः खेतीपातीमै तल्लीन हुन्थे, अन्न उब्जाएर बजारमा बेच्न पनि पुग्थ्यो। धेरैजसोले जग्गा इँटाभट्टालाई बेचे। खेतीपातीमै अडेकाको जमिन पनि आसपासका भट्टाका कारण सुक्खाग्रस्त बन्दै गयो।’

इँटा उद्योग रहँदा पनि समस्या अथवा उठेरै गए पनि समस्या। ‘इँटाभट्टा बसुन्जेल वरपरको जमिनको चिस्यान सोस्छ, उठेर जाँदा माटोको उर्वराशक्ति सोसिसकेको हुन्छ,’ शिवालय टोलका घिमिरे भन्छन्, ‘यसो जोतखन गरी हेरेमा कुनै सुक्खाग्रस्त क्षेत्रमा माटो कोट्याएजस्तै हुन्छ, जति सिँचाइ गरे पनि सुक्खै रहन्छ।’

एकम्बा, पकली र खनार क्षेत्रका भट्टाले कति कृषक विस्थापित भइसके भन्ने यकिन तथ्यांक छैन। तर, स्थानीयका अनुसार हरेक वर्ष दर्जन हाराहारीमा कृषक पलायन भइरहेका छन्। ‘धेरैजसो इँटा उद्योग धान–गहुँ उत्पादन हुने उर्वर क्षेत्रमै बनाइएको छ,’ बाल आदर्श स्कुलका प्रिन्सिपल चौधरी भन्छन्, ‘बिनायोजना खोलिएका इँटा उद्योगका कारण यो क्षेत्रमा कृषिकर्म विस्थापितझैं भएको छ। खेतीपाती हुनेहरू पनि उत्पादन हुन नसकेपछि बजारबाट किनेरै अन्न खाइरहेका छन्।’

नियम कार्यान्वयनमा ‘अलमल
६ वर्षअघिको एक अध्ययनअनुसार नेपालमा ७ सय २८ वटा इँटा उद्योग छन्। सार्क इनर्जी सेन्टर, इस्लामाबादका लागि शोधकर्ता उषा मास्के मानन्धर र सानुबाबु डंगोलले गरेको एक अध्ययन (सन् २०१३, फेब्रुअरी)मा यो तथ्यांक आएको थियो। अहिले इँटा उद्योगको संख्या १ हजार पुगेको अनुमान छ।

कोसी अञ्चल इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र शाहका अनुसार सुनसरी, मोरङ, धनकुटा र तेह्रथुममा ३३ कम्पनीका ४३ इँटाका चिम्नीले रातदिन धूवाँको मुस्लो फालिरहेका छन्। सुनसरीमा मात्रै ३६ उद्योग छन्।

मानव बस्ती आसपासमा इँटा उद्योग हुँदा श्वासप्रश्वाससहितका स्वास्थ्य समस्या आउने डा. सुजन गौतम बताउँछन्। उनका अनुसार इँटाभट्टाबाट निस्कने विषाक्त धूवाँ, धूलो र ग्यास (केमिकल) स्वास्थ्यका निम्ति घातक हुन्छ। भट्टाबाट कार्बन मोनोअक्साइड, सर्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडलगायतका हानिकारक केमिकलयुक्त ग्यास निस्कन्छ। यसले वायुमण्डलको ओजन तहलाई कमजोर बनाउँछ।

आसपासको मानव बस्ती एवं वातावरणीय तहमा समेत प्रत्यक्ष असर गर्ने इँटा उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र सञ्चालनमा कडाइका साथ नियमन गर्नुपर्ने स्थानीय प्रशासनले अहिलेसम्म ‘सामान्य सरोकार’ समेत राखेको देखिन्न।

वातावरण संरक्षण नियमावली, २०५४ (२०५६ संशोधनसहित) को अनुसूची ७ मा पर्ने ५५ किसिमका उद्योगको प्रदूषण नियन्त्रण तथा रोकथाम कार्यसम्पादन गर्न प्रशासकीय (नियमित गर्ने) ऐन, २०७५ को दफा (४) ले दिएको अधिकार प्रयोग गरी बनाइएको नियमावलीमा नियम, लक्ष्य, उद्देश्य त प्रशस्तै देखिन्छ।

उपमहानगरपालिका क्षेत्राधिकारभित्रको स्थानमा वातावरणीय ह्रासका कारण मानव, वन्यजन्तु, बोटबिरुवा र भौतिक वस्तुहरूमा पर्ने प्रतिकूल प्रभाव ‘यथासम्भव न्यूनीकरण गर्न सफा र स्वस्थ वातावरणको प्रवद्र्धन गर्ने’ नियमावलीको नियम ३ को उपनियममै व्यवस्था छ। तर, यो कागजी नियमावलीबाहेक व्यवहारमा कहीँकतै नियम पालना वा नियमन हुन नसकेको स्थानीय वातावरणकर्मी सन्दीप पौडेल बताउँछन्।

‘बस्ती र विद्यालय सँगसँगै उद्योग खोल्नु वा उद्योगसँगै बस्ती बसाउन घरको नक्सा पास गर्नुमा स्थानीय सरकारको कमजोरी छ,’ उनी भन्छन्।

प्रदूषण नमुनाहरूको विश्लेषण गर्न प्रयोगशाला स्थापना गर्ने स्थानीय सरकारको नियमावलीको नियम ३ को उपनियम ‘ञ’ पनि कार्यान्वयनमा आउन सकेको छैन। सरकारी तवरबाट कुनै इँटा उद्योगको प्रदूषण मापनसमेत गरिएको छैन। २०७० फागुन २८ मा भने काठमाडौं, बत्तीसपुतलीमा रहेको राष्ट्रिय गुणस्तर प्रमाणित सोयल टेस्ट प्राइभेट लिमिटेड इन्भायरमेन्टल एसेसमेन्ट एन्ड मेटेरियल टेस्टिङ डिभिजनले एउटा इँटा उद्योगको प्रदूषण मापन गरेको थियो।

यसअनुसार नेचुरल ड्राउट चिम्नीमा हुनुपर्ने सरकारको मापदण्डविपरीत ‘एसपीएम लिमिट’ ७ सय वर्गमिटर रहेको थियो। सरकारी मापदण्डअनुसार नेचुरल ड्राउट चिम्नीमा हुनुपर्ने एसपीएम ५ सय वर्गमिटर मात्रै हो।

इटहरी उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीले भने, ‘स्थानीय सरकारले नयाँ संरचना र पद्धतिमा चल्ने अभ्यास गरिरहेका कारण हुनुपर्ने जति काम भइरहेको छैन।’

उनले प्रदूषणको अवस्था हेरेर अस्थायी तथा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रदान गर्ने नियम बनाएको जानकारी दिए।

नेपालमा इँटा उद्योगमा बफर–जोन राख्नेदेखि अन्य व्यक्तिगत सुरक्षाका कामहरूमा भने त्यति ध्यान पुर्याउन नसकिएको चौधरी स्विकार्छन्। ‘एउटा भट्टाले ११ सय डिग्रीसम्मको ताप उत्पन्न गर्छ। यो तापले आसपासको माटोदेखि पानीको स्रोत (वाटर–होल्डिङ) सबै सुकाउँछ,’ चौधरी भन्छन्, ‘त्यसको रोकथामका लागि १० देखि १२ फिटसम्मको नाली बनाएर पानी राख्न सकिन्छ। तर, यो अभ्यास नेपालमा सुरु भएको छैन।’

इँटा उद्योगले दैनिक निकाल्ने प्रदूषण र त्यसको असर मानव बस्तीमा सोझै वा प्रत्यक्ष नपार्न कम्तीमा यस्ता उद्योग र मानव बस्तीबीच २ किलोमिटरको अन्तर हुनुपर्ने चौधरीको भनाइ छ।
साभार:नेपाल समय

Facebook Comments