बुधबार थप ३२ जना संक्रमित, ८ जना घर फर्किए

काठमाडौ, जेठ ७ (हाकाहाकी)– कोरोना संक्रमणका बिरामीहरु थपिने क्रम जारी छ । बुधबार दिनभरमा ३२ जनामा संक्रमण देखिएको छ । बुधबार ८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझसम्म ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आठ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार दिउँसो बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लामा नयाँ २५ जना संक्रमित फेला परेका हुन । मन्त्रालयद्धारा बुधबार साँझ जारी विज्ञप्ति अनुसार ७ जना थप संक्रमित पुष्टि भएको हो ।

थपिएका संक्रमित तीनदेखि ४८ वर्षका जसमा १८ पुरुष र सात महिला रहेका प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो । यीमध्ये तीन बालिका छन् ।

नयाँ संक्रमितमा बाँकेका ६ जना छन् । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै, कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ संक्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।

यसैगरी महाराजगञ्ज गाउँपालिकाका ३, ४ र ६ वर्षीया बालिकामासमेत संक्रमण देखिएको छ । त्यही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र१२, २०, २४ र ३४ वर्षका पुरुष छन् ।

धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उहाँले बताउनुभयो । यसैगरी साँझ पुष्टि भएकामा ५ जना झपामा, धरान र धनकुटामा १÷१ जना छन् । नयाँ थपिएकासँगै कुल संक्रमित ४३४ जना पुगेका छन् ।

अहिलेसम्म संक्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ । साँझ पुष्टि भएका बिरामीहरुमा महिला पुरुष छुट्टाइएको छैन ।

यसैगरी बुधबार कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किसकोको मन्त्रालयले जनाएको छ । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको भने अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पिसिआर परीक्षण शूल्क तोकिएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौ, जेठ ७ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ ।

मन्त्रालयका अनुसार आइसिएस कोर्डिनेटर डा. गुणराज लोहनीले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने निर्णय गरिएको भएता पनि शुल्क भने नतोकिएको जानकारी दिनुभयो ।

उहाँले अहिले परीक्षणको दायरालाई व्यापक बनाउने कार्य मात्र गरिएको र शुल्क कति लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको बताउनुभएको छ ।

हिजो मन्त्रालयले स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो ।
डा. लोहानीले सार्वजनिक अस्पतालमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको अनुरोधमा नै मन्त्रालयले सःशुल्क परीक्षणको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
त्यहाँबाट भएका परीक्षणको गोपनीयता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्दछ ।

Facebook Comments